त्रिभुवनको दिल्ली यात्रा र फिर्ती: बिएल शर्माको अनुभव

B L Sharmaनेपालमा त्यतिबेला मिठाई व्यवसाय थिएन । भारतको राजस्थानबाट आएर मेरा बाजेले नेपालमा हलुवाई भित्र्याएका हुन् । बाजेका पालादेखि नै हामीले श्री ३ सरकार र श्री ५ सरकारलाई हलुवाई गर्दै आएका हौँ । राजा, श्री ३ महाराज र त्यसबेला देखिका सबै प्रधानमन्त्रीलाई हलुवा ख्वाउने र उनीहरूको बिहे व्रतबन्धको भोज मैले नै उतार्दै आएको छु ।

जुद्धशमशेर, पद्यशमशेर, मोहन शमशेर, त्रिभुवन, महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रका छोराछोरीका बिहे भोज हामीले नै उतारेको हो । राजा र राणा दुवैको हलुवाई मैले नै गरेकाले सात सालमा राजा त्रिभुवन भारतमा शरण लिन गएको घटनालाई मैले नजिकबाट नियाल्न पाएको छु । कतिपय घटनामा त म आफैं संलग्न भएको छु ।

त्यसबेला श्री ३ सरकारको दरबार सिंहदरबार छिर्न पित्तलको पास दिइन्थ्यो । त्यस्तै नारायणहिटी दरबारमा श्री ५ सरकार बस्थे र उनीहरूको दरबारमा छिर्न तामाको पास दिइन्थ्यो । छातीमा पित्तल र तामाको पास झुन्ड्याएर ३ सरकार र ५ सरकारका दरबारमा ओहोर गर्न मलाई छुट थियो । राजा त्रिभुवन राणाहरूको जहानियाँ हैकमवाट राजनीतिलाई मुक्त गर्न चाहन्थे ।

यसैका लागि कांग्रेसले आन्दोलन आह्वान गरेको थियो । दरबार भित्र कैदीसरह राणाको निगरानीमा रहेका राजालाई भेट्न जानेहरूले चिठ्ठी लिएर जाने छुट पनि पाउँदैनथे । राजामाथि यस्तो निगरानी थियो कि बाहिरवाट पहरा दिइरहेका सिपाहीले राजासँग भेट्न जानेहरूका साथमा कुनै कागज छैन भनेपछि मात्रै उनीहरूलाई नारायणहिटी छिर्न दिइन्थ्यो ।

राजालाई राणाहरूको पञ्जावाट मुक्त गर्ने सल्लाह भारतीय दूतसँग भइरहेको थियो । तर, भारतीय दूतको चिठ्ठी र अरु सूचना आदानप्रदान गर्ने माध्यम केही थिएन । त्यस्तो अप्ठेरो बेलामा मैले दरबारमा मिठाई लैजाने बहानामा चिठी ओहोर/दोहोर गराएँ । बेलाबेला महाराज त्रिभुवनबाट मिठाईको अर्डर आउँथ्यो ।

मिठाई पनि यति धेरै लैजाने कि मिठाई राखेको किस्तीको खातका बीचमा चिठी राखेर मैले हुलाकीको काम गर्नुपर्ने हुन्थ्यो । भारतबाट पण्डित नेहरूले त्रिभुवन सरकारलाई पठाएको चिठी दूतावासबाट भारतीय राजदूत चण्डेश्वरप्रसादले मलाई दिन्थे । बर्फीको किस्तीका बीचमा चिठी राखेर महाराजकहाँ लिएर जान्थेँ ।

गेटमा खर्चन्डा हुन्थे । उनीहरू भन्थे ‘के ल्याएको ?’

म भन्थेँ, ‘मिठाई हो ।’

अनि उनीहरू भन्थे, ‘कति धेरै ल्याएको त कसले खान्छ यत्रो ? ल ल लैजाउ ।’ सामान्य चेकजाँच गरेपछि मलाई भित्र जान दिन्थ्यो । मैले चिठी लिएर गएको शंका कसैलाई हुँदैनथ्यो ।

भित्र गएर म महाराजलाई मिठाई दिन्थेँ । त्रिभुवन सरकार चिठी लिनुहुन्थ्यो । त्यही मिठाईको बीचमा नेहरूलाई जवाफ लेखिएको अर्का पत्र राखिदिएर उहाँ भन्नुहुन्थ्यो ‘यो मिठाई ठीक छैन, फिर्ता लैजाउ । पेस्ताको अर्का मिठाई लेउ ।’ बर्फीसँगै राजाको चिठी ल्याएपछि म भारतीय राजदूत चण्डेश्वरप्रसादलाई पुर्‍याइदिन्थेँ । दूतावासमार्फत नेहरूसँग लामो पत्राचार चलेपछि राजालाई इन्डिया पठाउने कुरा तय भयो ।

मोटरबाटोबाट लैजान राणाहरूले दिँदैनथे । त्यतिबेला नेपालमा जहाज चलेको थिएन । राजालाई कसरी भारत पठाउने भन्ने विषयमा छलफल गर्न एकदिन राजदूत चण्डेश्वरप्रसादले मलाई बोलाए । राजालाई जसरी पनि इन्डिया भगाउनुपर्छ, मोटर बाटोबाट संभव छैन, राणाहरूले यो कुरा थाहा पाए भने योजना पूरा हुँदैन भन्ने निष्कर्षपछि हवाइजहाजमै इन्डिया भगाउने निर्णय भयो । तर, हवाइजहाजका लागि एयरपोर्ट थिएन ।

श्री ३ मोहन शमशेरका छोरा विजयसँग मेरो राम्रो दोस्ती थियो । उनलाई प्रभावमा पारेर पहिले एयरपोर्ट बनाउने सल्लाह भयो र त्यो काम गर्ने जिम्मा राजदूत चण्डेश्वरप्रसादले मलाई नै दिए । त्यतिबेला मिठाई बनाउने धेरै सामग्री भारतबाट ल्याउनुपथ्र्यो । त्यसैले ‘एयरपोर्ट बनाउनुपर्‍यो’ भन्न मलाई सजिलो हुनेभयो । मैले विजय शमशेरसँग बिन्ती बिसाएँ, ‘सरकार, मलाई सामान ल्याउन गाह्रो भयो । एयरपोर्ट बनाइदिनुपर्‍यो ।’

००७ साल असारको महिना थियो, त्यो बेला । मेरो अनुरोधलाई विजय समशेरले सजिलै स्वीकारे । मैले चिनेको ज्यानबहादुर प्रधान इन्जिनियर थिए । उनको सहयोग लिएँ । गौचरनलाई एयरपोर्ट बनाउन स्वीकृति पाएको २२ दिनमा मैले काम सकेँ । एयरपोर्ट बनाउने सम्पूर्ण खर्च मैले नै बेहोरेँ । पाँच सय गज लम्बाइ र अढाइ सय गज चौडाइको एयरपोर्ट तयार भयो । रामदल गणबाट पनि सुरक्षाको लागि खटाइदिए ।

एयरपोर्ट बनाउन सुरु गरेको २३औँ दिनमा दिल्लीबाट जहाज आयो । १५/१६ जना मानिस जहाजमा आएका थिए । ती मान्छेलाई चण्डेश्वरले सरासर शीतलनिवास लगे । भारतीय राजदूतावास लैनचौर भए पनि त्यहाँ बस्ने ठाउँ नपाएर राजदूत चण्डेश्वर त्यतिबेला अहिले राष्ट्रपति भवन रहेको शीतलनिवासमा बस्थे । दिल्लीबाट भर्खरै जहाजमा आएका उनीहरू ‘पञ्जावी आद्मी’ को रूपमा आएका थिए । खास परिचय खुलेको थिएन । राजदूतको सुसारे भनेर चिनाइएको थियो ।

एयरपोर्ट बनाउनुको मुख्य उद्देश्य राजालाई इन्डिया भगाउनु नै थियो । जहाजबाट राजालाई भगाउनका लागि विश्वास भएको मान्छे एयरपोर्टमा हुन जरुरी थियो । मलाई जहाजको ‘टेक्निकल’ कुरा थाहा थिएन । तर, जसरी पनि एयरपोर्टमा बस्नै पर्ने भएपछि मलाई एजेन्ट बन्न सुझाव दिए, चण्डेश्वरप्रसादले ।

तर, एजेन्ट बन्न पनि राणाहरूकै स्वीकृति चाहिने थियो । अब मैले राणाहरूसँग एजेन्टको नोकरी माग्न जानुपर्ने भयो । त्यतिबेला दाम राखेर श्री ३ वा उनको प्रतिनिधिलाई बिन्ती गरेपछि दाम राणाहरूले राखेमा नोकरी नियुक्ती पाएको अर्थ लाग्थ्यो । मैले पनि नोकरीको लागि विजय शमशेरलाई एक रुपियाँ दाम राखेँ । उनले ‘किन राख्यौ दाम’ भनेर सोधे । ‘सरकार जहाज नेपाल आयो, अब एजेन्ट भएर काम गर्न पाउँ’ भनेर विन्ती बिसाएँ ।

त्यो दिनसम्म मेरो नाउँ विश्वम्बरलाल शर्मा थियो । बाजेलाई महाराजजी भन्ने गरिएकाले हामीलाई पनि महाराजजी नै सम्बोधन हुन्थ्यो । मैले एजेन्टको माग गर्दै चढाएको दाम स्वीकार गरिदिएर त्यसै दिन विजय समशेरले ‘ल तिम्रो नोकरी पक्का भयो, आजैबाट तिम्रो नाउँ बिएल शर्मा’ भनिदिए । त्यतिबेला काठमाडौं पटना ५० रुपियाँ जहाज टिकट लाग्थ्यो, पटना हुँदै दिल्ली पुगेको चाँही एक सय २३ रुपियाँ ।

हामीले त्यो बीचमा साउनतिरै राजालाई भारत पठाउन कोशिस गर्‍यौँ । तर, सफल भएनौँ । राणाहरूले राजालाई चारैतिर आर्मीको घेरा लगाएर राखे । जहाज ‘टेकअप’ लिन जाँदा पछाडिबाट महाराजलाई चढाएर दिल्ली पठाउने हाम्रो योजना सफल भएन । एकदिन भारतीय दूतावासबाट मलाई चिठी आयो, ‘बिहान सात बजे दूतावास आउनू ।’ म पुगेको आधाघन्टा भएको थियो । ठीक साढे सात बजे पाँचवटा गाडी हुँइकिएर आए र दूतावासभित्र छिरे । गाडीहरू नारायणहिटी दरबारबाट आएका थिए । बीचको गाडीमा त्रिभुवन सरकार हुनुहुन्थ्यो ।

देशभरी सबै तिहारको रमाइलो मनाइरहेका थिए । राणाहरू जुवा घरमा जुवा खेलिरहेको बेला पारेर महाराज त्रिभुवन भागेर दूतावास आउनुभएको थियो । नगरा बजाएर जुवा नफुकाएसम्म जुवा खेल्न पनि नपाइने र फेरि नगरा बजाएर जुवा बन्द गराएपछि बन्द गर्नुपथ्र्या । त्यसैमा अल्झेका राणाहरूले राजा दूतावास गएको पत्तो पाएनन् । नारायण नरसिंह नाम गरेका एक जनालाई विश्वास गरेर राणाहरूले त्रिभुवनको एडिसी राखेका थिए ।

राजदरबारको बाहिर रामदल गण प्रहरी तैनाथ थियो । त्यसलाई पनि छक्याएर राजा दूतावास गएपछि उनीहरूलाई पछि राणाहरूले नोकरीबाटै निकालेका थिए । राणाहरूको विश्वास पात्र भनिएका त्रिभुवनका एडिसी नारायण नरसिंहसहित १७ जना राजासँगै दिल्ली गएका थिए ।

दरबारबाट भागेर दूतावास आउँदा त्रिभुवन सिकार खेल्ने पोसाकमा हुनुहुन्थ्यो । राजा दूतावास आएपछि चण्डेश्वरप्रसादले भित्रबाट गेट ड्याम्डुम लगाए । म पनि दूतावासको चौरमा थिएँ । यसअघि जहाजमा भारतबाट ‘पञ्जाबी आद्मी’ भनी ल्याइएका मानिसहरू त एकाएक भारतीय मिलिटरी पोसाकमा पो देखा परे ! एकैछिन अघि उनीहरू राजदूतको सुसारे थिए । अब उनीहरू त्रिभुवनलाई पहरा दिन खटिए ।

राजा दूतावासमा शरण लिन आइपुगेको खबरले राणाहरूको ओठतालु सुक्यो । एकैछिनमा बाहिर सैनिकले घेरा हाल्यो । यता, राजदूतले मलाई ‘तिमी इन्द्रचोकमा गएर महाराजधिराज दिल्ली भागे’ भनेर हल्ला पिटाइदेउ’ भनी अह्राए । अनि उनले श्री ३ मोहन शमशेरलाई फोन गरे, ‘आपकी महाराज हमारी शरणमा हैँ ।’ उनले नेहरूलाई पनि टेलिफोन गरे, ‘राजा हमारी शरणमे हँ । हम क्या करेँ ?’ उताबाट नेहरूले ‘नआत्तिनु, भारत ल्याउने बन्दोबस्त गरौँला’ भनेर जवाफ दिए ।

महाराज दूतावास छिरेपछि राणाहरूले पानी बन्द गरिदिए, खानेकुरा ल्याउन रोके । हामीलाई पहिल्यै त्यस्तो गर्छन् भन्ने थाहा थियो । त्यसैले मैले नै आवश्यक खाद्यान्नको व्यवस्था गरेको थिएँ । खानेकुरा भए पनि त्यति मान्छेलाई सुत्न पुग्ने ठाउँ भने थिएन । त्रिभुवनले ‘शर्माजी ओढ्ने ओच्छ्याउने पुगेन, २०/२० थान ओढ्ने ओच्छ्याउनेको व्यवस्था गर’ भन्नुभयो । मसँग पैसा थिएन । ‘हस्’ भनेर त निस्किएँ, तर कसरी व्यवस्था गर्न सकुँला जस्तो लाग्यो ।

असनचोकमा एकजना चिनेको व्यापारी थिए । उनलाई महाराज दूतावासमा सवारी होइबक्सेको छ, उहाँको लागि ओढ्ने ओच्छ्याउने पुगेन, अहिले पैसा छैन, पछि दिउँला’ भनेर बेलबिस्तार लगाएँ । मेरो कुरा सुनेपछि उनले ‘जति चाहिन्छ, लैजाउ’ भने । ओढ्ने ओच्छ्याउने भए पनि दूतावास पुर्‍याउने साधन भएन । त्यतिबेला नेपालमा चल्ने एउटा मात्रै डाँक गाडी थियो । त्यसैलाई बोलाएर लगेँ ।

ओढ्ने ओच्छ्याउने लिएर दूतावास मात्र पुगेको थिएँ, महाराजले ‘शर्माजी मसँग त स्लिपिङ ड्रेस छैन । के गर्ने ? तिम्रै भए पनि ल्याइदेउ’ भन्नुभयो । मसँग ६ जोर स्लिपिङ ड्रेस थियो । सबै लगिदिएँ । युवराज महेन्द्रको कोट दरबारबाट निस्कने बेलामा च्यातिएको रहेछ । ‘शर्माजी कोट त च्यातियो, के गर्ने’ भन्नुभयो ।

इन्द्रचोकमा गएर नदेखिने गरी रफ गर्न लगाएर ल्याएँ । सबै कुरा व्यवस्था भयो भने पनि एउटा न एउटा कुराको अभाव भइहाल्ने रै’छ । दूतावासको शरणमा आएको भोलिपल्टै महाराजको चुरोट सकिएछ । उहाँले खाने चुरोट जहाँ पायो त्यहीँ पाइँदैनथ्यो । फेरि, ‘शर्माजी चुरोट सकियो’ भन्नुभयो । चुरोट पनि मैले नै ल्याएँ । सबैको लागि खानपानको व्यवस्था मैले नै गर्ने भएर होला, राणाहरूले मलाई कहिल्यै काममा बाधा गरेनन् ।

चार दिनसम्म महाराज दूतावासको शरणमा बस्नुभयो । पाँचौ दिन नेहरूको फोन आयो । भन्नुभयो, ‘भोली महाराजलाई लिन एयरफोर्स आउँदै छ ।’ उता मोहन शमशेरलाई फोन गरेर ‘केही खतरा भए तपाईंहरू जिम्मेवार हुनुहुनेछ’ भन्नुभएछ, नेहरूले । भोलिपल्ट, मेरोसहित ६ वटा गाडी व्यवस्था गरेर महाराजलाई एयरपोर्ट पुर्‍याउन गयौँ । महाराजलाई भारत पठाउने बेला कांग्रेसको पनि समर्थन थियो ।

एयरपोर्टमा २५ हजार जति जनता उपस्थित थिए । मैले हत्तपत्त एउटा झिल्झिले माला गोजीमा हालेको थिएँ । उड्ने बेला महाराजलाई लगाइदिन लाग्दा भन्नुभयो, ‘शर्माजी, यसको महत्त्व फर्किएपछि होला, अहिल्यै लगाउने र ?’ अनि, उहाँले ‘तपाईं पनि आउनु, उतै भारतमै भेटुँला’ भन्नुभयो, मलाई । त्यतिबेला त्यहाँ जम्मा भएका जनता रोएका थिए ।

महाराज दिल्ली गएपछि एक दिन मोहन शमशेरले रातिको १२ बजे मलाई बोलाए । ‘तिमीले दूतावासमा धेरै काम गरेका छौ । त्यहाँ के–के कुरा भयो मलाई सबै भन’ भने । मैले ‘अंग्रेजी पढेको छैन, एबिसिडी पनि आउँदैन त्यहाँ सबै कुरा अंग्रेजीमा हुन्छ, कसरी त्यहाँको कुरा भनौँ हजुर’ भनेँ । त्यसपछि उनले मलाई फर्काइदिए । भोलिपल्ट मेरो घरमा दरबारबाट चेकिङ आयो । मसँग एउटा जहाजको टाइमटेबुल किताब बाहेक केही थिएन । त्यै लिएर गए ।

महाराज त्रिभुवन दिल्लीमा रहेका बेला म चार/पाँच पटक भेट्न गएँ । एकपटक उहाँसँग पैसा सकियो भन्ने खबर आयो । त्यतिबेला वीरगन्जको बडाहाकिम सोमशमशेरले २५ लाख रुपियाँ मालपोतसहित राजस्व उठाएर राखेका छन् भन्ने थाहा थियो । कांग्रेसले बडाहाकिमको २२ लाख रुपियाँ लुटेर बेखर्ची भएका त्रिभुवनलाई पैसा पठाए । त्रिभुवनलाई पैसा पुर्‍याउन तारिणी कोइरालाको नेतृत्वमा तीन जना गएका थिए । त्रिभुवन पाँच महिनापछि नेपाल फर्किनुभयो ।

त्रिभुवन भारत रहेका बेला, ब्रिटिसले नेपालमा ज्ञानेन्द्रलाई राजा बनाएर राख्न चाहेका थिए । भारतचाहिँ राजा त्रिभुवन नै चाहन्थ्यो । ज्ञानेन्द्र र त्रिभुवन मध्ये जनमत कसको पक्षमा छ भन्ने बुझ्न ब्रिटिसको एउटा टोली नेपाल आएको थियो । टोली आउनुअघि मलाई राजदूतले त्रिभुवनको फोटो भएका पर्चा बनाएर जति सक्दो धेरै छर्नु भनेका थिए । अनि ब्रिटिसका मान्छे आउने बेला एयरपोर्टमा जतिसक्दो धेरै जनता जम्मा पार्नु भनेका थिए । मैले पर्चा बनाउन लगाएँ । कांग्रेसले पनि पर्चा बनाए ।

जनता जम्मा गरेर ती पर्चाहरू ब्रिटिसको गाडी भरी छरिदियौँ । जनताले ‘हाम्रो राजा ले’ भन्दै उनीहरूको गाडीसमेत तोडफोड गरे । अझ त्रिभुवनप्रति सकारात्मक बनुन् भनेर मैले सरसफाइ गर्ने मान्छेलाई भनेर ब्रिटिस एम्बेसीको बाथरुममा समेत त्रिभुवनको पर्चा छोड्न लगाएँ । जनता उर्लिएको देखेर उनले टेलिफोन गरिदिएछन् ‘यहाँका जनता त्रिभुवनको पक्षमा छन् ।’

King Tribhuvanराजा पाँच महिनापछि नेपाल फर्किनुभएको हो । त्यतिबेला मेरो ‘शर्मा एन्ड कम्पनी’ थियो । राजा आउने थाहा भएपछि उहाँलाई ल्याउन दुई लाख २३ हजार रुपियाँ हालेर मैले सिविसी जहाज किनेँ । त्रिभुवन नेपाल आउने बेला एयरपोर्टमा ३५ हजारको हाराहारीमा जनता थिए । मोहन शमशेर पनि एयरपोर्ट पुगेका थिए । भीडभाडमा मोहन शमशेरको चस्मा फुटेको थियो । त्रिभुवन जहाजबाट एकदमै सामान्य रूपमा ओर्लिंदै थिए । रक्सौलका मदन गुप्ता भन्ने पत्रकारले ‘हात उठाइबक्स्योस् महाराज’ भने । त्यही बेला उनले र अरू पत्रकारहरूले पनि तस्बिर खिचे । महाराजको हात उठाएको त्यही फोटो अहिलेसम्म पनि अखबारहरूमा देख्छु ।

साभारः सौर्य दैनिक