ट्याटू चाहने छोरीहरूलाई ओबामाको घुर्की

ओबामाका छोरीहरू शरीरमा ट्याटु खोपाउने इच्छा व्यक्त गरिरहेछन् । त्यसैले, अप्ठ्यारोमा परेका छन्, अमेरिकी राष्ट्रपति बाराक ओबामा । छोरीहरूको यो इच्छा राष्ट्रपति–दम्पतीका लागि टाउको दुःखाइ बनिरहेको छ । यद्यपि ओबामाले एउटा चाल भने चालिसकेका छन्, जसले छोरीहरूको मन बदल्न रामवाणको काम गर्ने विश्वास उनले लिएका छन् । उनले छोरीहरूसँग घुर्की लगाएका छन्– ‘तिमीहरूले शरीरमा ट्याटु खोपायौ भने हामी (बुबाआमा) पनि आफ्नो शरीरको त्यही स्थानमा ट्याटु खोपाएर युट्युबभरि भिडियो हालिदिन्छौँ !’

Obama-Familyएनबीएससँगको अन्तर्वार्तामा ओबामाले भने– ‘सायद पूरै परिवारले ट्याटु खोपाउने यो धम्कीले परिवारमा भाँडभैलो मच्चाउन उद्यत मेरा छोरीहरूको मन बदलिदिनेछ ।’ उनी आफ्ना छोरीहरू क्रमश: १४ र ११ वर्षीया मालिया र सासालाई ट्याटु खोपाउन नदिन मनाइरहेका छन् ।
बिल क्लिन्टनकी छोरी चेल्सी क्लिन्टनपछि ह्वाइटहाउस प्रवेश गर्ने अर्का किशोरी हुन् मालिया र सासा । पिता बिल क्लिन्टन अमेरिकी राष्ट्रपतिका रूपमा सन् १९९३ मा ह्वाइटहाउस प्रवेश गर्दा चेल्सी १२ वर्षकी थिइन् । राष्ट्रपतिका छोरी के गर्छन भनने कुराले जनताको ध्यान त खिँच्ने नै भयो ।
आफ्नी पत्नी मिचेलले हालै ‘आफू व्यस्त एकल आमा’ रहेको भनी गरेको टिप्पणीको बचाउ पनि ओबामाले एनबीएससँगको अन्तर्वार्तामा गरे । एक स्थानीय टिभीसँगको अन्तर्वार्ताका क्रममा त्यस्तो प्रतिक्रिया दिएलगत्तै आफ्नो मुखबाट गलत वाक्य निस्किएकोमा प्रथम महिला मिचेल चुकचुकाएकी थिइन् ।
पश्चिमा समाजमा एकल आमा अर्थात् ‘सिंगल मदर’ भन्नाले तिनलाई बुझिन्छ, जसले पतिबिना नै सन्तान लालनपालनको बोझ उठाउँछन् । ‘खासमा उनको आशय गलत होइन, जिब्रो चिप्लिएको मात्र हो’, ओबामाले पत्नीको बचाउ गरे, ‘जब म राष्ट्रपति पदको उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएको थिएँ, त्यतिबेला उनले एक्लै सबै काम गर्नुपर्‍यो, छोरीहरूको देखभालको जिम्मेवारी पनि उनी एक्लैको थाप्लोमा थियो । खासमा उनले यही कुरा बताउन खोजेकी हुन् ।’