झूटो बिहे गर्दै, बेलायततिर अल्झिँदै

बेलायतले सन् २००९ मार्चमा भिसा खुकुलो गरेलगत्तै अध्ययनका लागि लन्डन उत्रिए दिवस कार्की (नाम परिवर्तन) । त्यतिबेला एउटा निजी कलेजमा पढ्न भिसा लागेको थियो । केही समयपछि नेपाली उद्यमीको साउथ इस्ट लन्डनस्थित उक्त कलेज बन्द भयो । उनी दुविधामा परे । घर फर्किउँ १० लाख रुपैयाँभन्दा बढी ऋणको बोझ, बसौं त कलेज नै उड्यो ।

३५ लाखसम्म खर्च
weddingदिवसले एउटा जुक्ति निकाले- नक्कली(कागजी) बिहे गर्ने र यतै अल्भिmने । त्यही बेला एक अधबैंसे महिला २५ लाख रुपैयाँमा नक्कली बिहे गर्न राजी भइन् । नजिकैको काउन्सिलमा गएर बिहेको ‘नाटक’ भयो, सुटुक्क । नेपालमा रहेकी उनकी सक्कली श्रीमती र छोरीलाई यसको भेउ दिइएन । होम अफिसको नियमअनुसार दुवैको ठेगाना एउटै हुनुपर्ने भएकाले नवविवाहित जोडी सँगै बसेर आवेदन दिए, ‘डिपेन्डेन्ट भिसा’ आयो । दुई वर्षको प्रतीक्षापछि उच्च शिक्षा लिन बेलायत आएका दिवससँग यहींको आवासीय अधिकार (आईएलआर) छ, काम फुलटाइम । नेपालकी श्रीमती र छोरीको त अब मतलब हुने कुरै भएन, किनकि उनलाई जसरी हुन्छ बेलायत बस्नु थियो, जुन मिलिसक्यो ।

बेलायतको आवासीय अधिकार लिन नेपालीहरू लाखौं खर्च गर्न कति अग्रसर छन् भन्ने एउटा उदाहरण हो यो । यहाँ छिरेपछि जसरी र जति खर्च गरेर भए पनि यतै ‘सेटल’ नभई हुन्न भन्ने मनोरोगले विक्षिप्त हुँदैछन्, नेपाली युवा । विशेषगरी, विद्यार्थी भिसामा आउनेहरू यसप्रति उत्पे्ररित छन् । ‘नेपाल फर्केर के गर्ने ? जागिर छैन, अभावै अभाव छ,’ भर्खरमात्र कागज बनाएका एक नेपालीको तर्क छ, ‘बेलायतको हावापानी, रहनसहनमा दुई चार वर्ष रमाइसकेपछि र्फकने मोह नै हट्यो ।’

अर्को उदाहरणले पनि नेपाली प्रवृत्ति झल्काउँछ । सन् २०१० तिर कन्सल्टेन्सीको सहयोगमा श्रीमान्/श्रीमती बनेर बेलायत छिरे रवीन लुइँटेल र कृपा केसी -नाम परिवर्तन) । श्रीमती विद्यार्थी, श्रीमान् फुलटाइम जागिरे । रहँदाबस्दा यो जोडीले बेलायतमै ‘भविष्य’ खोज्ने निधो गर्‍यो । बेलायतमा ‘सेटल’ हुन बिहे रुट मात्र छिटो र सहज मानिन्थ्यो । तर, यो बाटो अपनाउन उनीहरूको सम्बन्धविच्छेद जरुरी थियो । किनकि भित्र जेजस्तो भए पनि कागज हेर्दा उनीहरू असली दम्पती नै थिए । अन्त्यमा उक्त नक्कली जोडीले योजना मुताबिक सम्बन्ध तोडेर आ-आफ्नो बाटो रोज्ने निधो गर्‍यो । सम्बन्ध त्यागेर स्वतन्त्र भएपछि केटीले हङकङबाट आएका बीएनओ -बि्रटिस नेसनल ओभरसिज) पासपोर्टबाहक एक भलादमीसँग कागजी बिहे गर्ने निर्णय गरिन् । नक्कली बिहे गरेर मोटो रकम असुल्ने धन्दालाई नै पेसा बनाएका ती पुरुषले ३५ लाख रुपैयाँ मागे, दुवैको समझदारीमा काम बन्यो ।

६५ वर्षीय भूपू लाहुरेले ३० वषर्ीया भान्जी पर्नेलाई १० लाख रुपैयाँमा यस्तो काम गरिदिएको देखि ५२ वर्षीय महिलाले २८ वर्षको विद्यार्थीलाई आफ्नो स्ट्याटस १५ लाखमा बेचेको घटना यहाँका नेपालीमाझ रोचक बनेका छन् । बेलायत बस्नकै लागि १५ देखि पैंतीस लाख रुपैयाँसम्म तिरेर झूटो विवाह गर्ने नेपाली असंख्य छन् । नेपाली-नेपालीबीच मात्र होइन, पूर्वी युरोपेली नागरिकसँग पैसामा कृत्रिम सम्बन्ध किन्ने प्रचलन अकासिँदो छ । आवासीय अधिकार नपाइन्जेल निर्धारित रकममा थप बार्गेनिङ भइरहन्छ । ‘अहिले झूटो विवाह धेरैका लागि स्वणिर्म अवसर बनेको छ,’ बेलायतका नेपाली सोलिसिटर राजु थापा भन्छन्, ‘पाँच वर्षपछि स्थायी आवासीय अधिकार पाउनले मानिसहरू लाखौं खर्च गर्न पनि राजी भएका पाइएको छ । तर, यो सबै काम गुपचुपमा गरिने भएकाले कसैले आफ्ना कुरा बताउन चाहँदैनन् ।’ झूटो विवाह र वर्क परमिट मिलाइदिएर मोटो रकम लिने नेपालसमेतको गिरोह सक्रिय रहेको उनी बताउँछन् ।

नेपालबाट एक्लै आउने विद्यार्थी त ठिकै छ, भइरहेको श्रीमान्/श्रीमतीको सम्बन्धसमेत बिच्छेद गरेर कागज बनाउनकै लागि दोस्रो झूटो विवाह गर्ने पनि छन् । नक्कली नै भए पनि ‘होम अफिस’ लाई साथै बसेको, हाँसखेल, घुमघाम आदि गरेको प्रमाणित गर्नुपर्छ । ‘देशको राजनीतिक अस्थिरता, बढ्दो बेरोजगारी, अभाव र सामाजिक संरचनाले युवामा स्वदेश फर्किने चाहना घटेको हुन सक्छ,’ समाजसेवी चिकित्सक राघवप्रसाद धिताल -ओबीई) भन्छन्, ‘त्यसविपरीत बेलायतमा चाहिँ भौतिक सुखसुविधा, परिश्रमको कदर र विलासिताले धेरै लोभिन्छन् ।’ उनको बुझाइमा बेलायत बसेर देश बनेन भन्ने, नेतालाई गाली गर्ने तर आफू यतै पलायन हुने वर्ग अत्यधिक छ । ‘गैरकानुनी तबरले यता बस्नुको सट्टा आफूले सिकेको सीप स्वदेश लैजान सके त्यो उत्तम हुने थियो,’ उनी सुझाउँछन्, ‘युवाशक्ति विदेश पलायन भएर नयाँ नेपाल बन्दैन ।’

डेली मेलका अनुसार गतवर्ष बेलायतमा ७ हजार ५ सय विवाह झूटो प्रमाणित भएको थियो । लुकीछिपी हुने धन्दा भएकाले वास्तविकता यसभन्दा धेरै माथि रहेको बताइन्छ । गतवर्ष दर्ता गर्ने अधिकारीले नै बिहे शंकास्पद लागेर दस महिनामा १ हजार ८ सय २४ शंकास्पद भएको जानकारी होम अफिसलाई गराएका थिए । यहाँको सरकार बढ्दो झूटो विवाह -साम म्यारिज) प्रति अनुदार बन्दै गएको छ । यसअघि दुई वर्ष सँगै रहेको प्रमाणित गर्न सके आवासीय अधिकार दिइन्थ्यो तर यसको दुरुपयोग भएपछि २०१२ जुलाईबाट समयावधि पाँच वर्ष पुर्‍याइएको छ । झूटो विवाहलाई फौजदारी अपराधअन्तर्गत लिइन्छ । कानुनविद् थापा झूटो विवाह प्रमाणित भएर एक वर्षभन्दा बढी समय सजाय भोगेमा त्यो व्यक्तिको आवासीय अधिकार खोसिन सक्छ । त्यस्तो व्यक्तिलाई फिर्ता पठाइन पनि सकिने उनको भनाइ छ ।

– नवीन पोखरेल/कान्तिपुर