जर्मनी दुई दशकपछि फुटबलको शीर्षमा

यस सिजनको फिफा विश्वकप विजेता बनेपछि बिहीबार प्रकाशित भएको फिफा विश्व वरियतामा जर्मनीले पहिलो स्थान हासिल गरेको छ।
जर्मनीले १ स्थान प्रगति गर्दै पहिलो स्थान हासिल गरेको हो। साथै विश्व विजेताले दुई दशकपछि पहिलोपटक विश्व वरियताको सूचीमा पहिलो स्थान रोज्न पाएको छ। ब्राजिलमा सम्पन्न विश्वकपको समूह चरणबाट बाहिरिएको स्पेन आठौं स्थानमा झरेको छ। यसअघि पहिलो स्थानमा रहेको २०१० विश्वकप विजेता सात खुडकिलो तल झर्न पुग्यो।

यसै गरी हालै विश्वकपमा उपविजेतामा चित्त बुझाएको राष्ट्र अर्जेन्टिनाले तीन स्थान सुधार गर्दै दोस्रो स्थानमा उक्लेको छ। सोही विश्वकपमा तेस्रो स्थानमा रहेको नेदरल्यान्डस्को स्थान तेस्रो नम्बरमै परेको छ। नेदरल्यान्ड्सले १२ खुड्किलो प्रगति गरेको हो। चौथो नम्बरमा उक्लेको कोलम्बियाले ४ स्थान नै सुधार गर्यो भने पाँचौं स्थानमा बेल्जियमले कब्जा जमायो। बेल्जियमले ६ स्थान सुधार गर्यो। कोलम्बिया र बेल्जियम विश्वकपको क्वार्टरफाइनलसम्म पुगेका थिए।
German win final
सोही सूचीअनुसार विश्वकपको प्रिक्वार्टरफाइनलमा बिदा भएको राष्ट्र उरुग्वे १ स्थान प्रगति हुँदै छैटो स्थानमा उक्ल्यो। विश्वकपको सफल आयोजना गरेको राष्ट्र ब्राजिल तेस्रो स्थानबाट सातौं स्थानमा चिप्लिनुपरेको छ। ब्राजिल दाबेदारी हुँदाहुँदै विश्वकपको चौथो स्थानमा रहेको थियो। त्यसपछि नवौं स्थानमा स्विजरल्यान्ड र १०औं स्थानमा फ्रान्स रहेका छन्। विश्वकपमा क्वार्टरफाइनलको यात्रा गरेको फ्रान्सले ७ खुड्किलो उक्लेको छ।

यसपालिको विश्वकपमा निराशाजनक प्रदर्शन गरेको इंग्ल्यान्ड वरियतामा २०औं स्थानमा झरेको छ। विश्वकपको समूह चरणमा एक अंक जोडेको इंग्ल्यान्डले गत महिनाको स्थानभन्दा १० स्थान तल पर्नुपरेको हो। यो इंग्लिस राष्ट्रको मे १९९६ पछि सबैभन्दा खराब स्थान पनि हो। टिम बोस्निया हर्सगोविना, कोस्टारिका र अमेरिकाभन्दा पनि पछि परेको छ।
एसियाबाट जापान पहिलो स्थानमा र दक्षिण कोरिया दोस्रो स्थानमा रहेका छन्।

  • Post category:खेल