जर्मनीमा आप्रवासीहरुकालागि नयां कानुन

जर्मनीकी चान्सलर एंगेला मर्केलले उनको देशमा बसोबास गर्न चाहने आप्रवासीहरुले त्यहांको रहनसहनमा आफूलाई ढालेर समाजमा ऐक्यबद्ध हुन जरुरी रहेको बताएकी छिन्।

उनको गठबन्धन सरकारले नयां आप्रवासीहरुले जर्मन भाषा कक्षा लिनु आवश्यक पर्ने कानुनहरु लागु गर्न सहमति जनाएपछि उनले त्यस्तो बताएकी हुन्।

नयां सहमति अन्तर्गत जर्मनीमा शरण खोज्नेहरुकालागि एकलाख रोजगारी सिर्जना गर्न सकिनेछ।

सात घण्टा लगाएर रातभर चलेको वार्तापछि जर्मनीको गठबन्धन सरकारका नेताहरुले शरणार्थीहरुलाई जर्मन समाजमा एकीकरण गर्ने सम्बन्धी नयां कानुन तयार पार्ने आधारहरुमा सहमति गरेका थिए।

ती सहमतिहरुमा नयां आप्रवासीहरुले जर्मन भाषा सिक्नु पर्नेछ, त्यसका लागि भाषा कक्षामा सहभागी हुनु पर्नेछ र तिनीहरुलाई देशको कुन क्षेत्रमा बसोबास गर्ने समेत बताइन सक्नेछ।।

महिनौंको गहिरो विभाजनपछि उनको गठबन्धन सरकारले त्यस्तो नयां कानुन बनाउने सहमति गरेको हो, जुन जर्मनीको ‌इतिहासमा नै पहिलो घटना हो।

श्रम बजारमा विद्यमान अवरोधहरु हटाएर शरणार्थीहरुकालागि एकलाख नयां रोजगारी श्रृजना गर्ने योजनाहरु पनि छन्।

बीबीसीकी बर्लीन सम्बाददाता जेनी हिल भन्छिन्, गत बर्ष दशलाखभन्दा बढी मानिसहरुले जर्मनीमा शरण खोजेपछि जर्मन जनता बढ्दो रुपमा चिन्तित छन्।

यस्तो अवस्थामा तिनीहरुलाई आश्वस्त तुल्याउन गठबन्धन सरकारले चालेको कदम पर्याप्त छ त भन्ने प्रश्न उत्पन्न भएको छ।बीबीसी