घैंटेलाई शहिद घोषणा गर : कांग्रेस सभासद्

नेपाली कांग्रेसका केही सभासद्हरूले कुमार घैटे मारिएकोमा दु:ख व्यक्त गर्दै उनलाई शहिद घोषणा गर्नुपर्ने माग गरेका छन् । शुक्रबार संसद बैठकमा बोल्दै कांग्रेसकी सभासद् कौशर शाहले घैटेलाई शहिद घोषणा गर्नुपर्ने माग गर्दै प्रहरीले योजनाबद्ध तरिकाले हत्या गरेको आरोप लगाए‍की छिन् ।

kumar-ghaite-donउनले संसदमा समय लिएर बोल्दै घैटेलाई सुधार गरे ठूलो मान्छे बन्न सक्ने जिकिर गर्दै भनिन्, ‘प्रहरीले योजना अनुसार नै मार्‍यो । शहिद घोषणा गर्नुपर्छ ।’

कांग्रेसकै अर्का सभासद् भीमसेन दास प्रधानले घैटेलाई प्रहरीले योजनाबद्ध तरिकाले मारेको भन्दै आपत्ति जनाए । उनले मृ्त्युदण्डको व्यवस्था नभएको देशमा दिनदहाडै गोली हानेर मान्छे मार्ने काम भएको बन्दै यसको न्यायीक छानबिन हुनुपर्ने माग गरेका छन् । उनले यसरी दिनदहाडै मानिस मार्न पाइने भएपछि अदालत जेल किन चाहियो भन्ने प्रश्न गरेका थिए । उनले घैटेले सामान्य नागरिक भएर जीवनयापन गरन चाहेको उल्लेख गरेका छन् ।

संसदमा उक्त घटनाबारे जवाफ दिँदै गृहमन्त्री वामदेव गौतमले दोहोरो फायरिङका क्रममा घैटे मारिएको बताएका छन् । मन्त्री गौतमले फरार अभियुक्त खोजीको शिलशिलामा अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीमाथि घैटे समूहले पहिले फायर गरेपछि प्रतिकार गर्दा घैटे घाइते भएको र उपचारका क्रममा मृत्यु भएको बताएका छन् । उनले उक्त घटनामा प्रहरीहरू हेमन्त चन्द र रन्जित तामाङको वीर अस्पतालमा उपचार भइरहेको बताएका छन् ।