कृत्रिम गर्भाधानप्रति पशुपालकहरू आकर्षित

पशुपालन व्यवसायमा प्रभावकारी देखिएको कृत्रिम गर्भाधानप्रति चितवनका किसानहरु आकर्षित भएका छन् । दूध उत्पादन र नश्ल सुधारमा मुख्य भूमिका खेल्ने कृत्रिम गर्भाधानले यहाँको दूध उत्पादनलाई बढाएको छ ।

commercial-cowजिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख रामकुमार कार्कीका अनुसार २०४० सालबाट शुरु गरिएको यो कार्यक्रम पछिल्लो छ वर्षमा भने निकै प्रभावकारी भएको छ । उनका अनुसार अहिले चितवन देशमै सबैभन्दा बढी कृत्रिम गर्भाधान गराउने जिल्लामा पर्दछ ।  गाई, भैंसी र बाख्रामा कृत्रिम गर्भाधान गराउँदै आएको जिल्ला पशु सेवा कार्यालयले गत आर्थिक वर्ष २०७०/०७१ मा ४१ हजार पाँच सय ३४ पशुमा कृत्रिम गर्भाधान गराएको छ । जसमध्ये तीन हजार आठ सय ७९ भैंसी र ३७ हजार ६ सय ६० गाई रहेका छन् । बाख्रामा भने गत आर्थिक वर्षमा परीक्षणको रुपमा एक सय ५० वटामा मात्र प्रयोग गरिएको छ । यसको नतिजा आएपछि प्रभावकारिता हेरेर बाख्रामा पनि कृत्रिम गर्भाधानलाई अभियानको रुपमा संचालन गरिने कार्यालय प्रमुख कार्कीले बताए ।

यसैगरी चालु आर्थिक वर्षमा ४५ हजार पशुलाई कृतिम गर्भाधान गर्ने लक्ष्य लिएको कार्यालयले चैतसम्म ३३ हजारभन्दा बढी पशुलाई कृत्रिम गर्भाधान गराई सकेको छ । पशु सेवा कार्यालयले १४ वटा सेवा केन्द्र सहित निजी क्षेत्रको सहकार्यमा ३० वटा पशु प्रजनन् केन्द्रबाट कृत्रिम गर्भाधान सेवा सञ्चालन गर्दै आएको छ ।

७७ हजार ४५ भैंसी र ७१ हजार तीन सय ४३ गाई रहेको चितवन जिल्लामा बाख्रा भने दुई लाख ४१ हजार दुई सय २४ रहेका छन् । कार्यालयले जिल्लामा ५३ जना कृतिम गर्भाधानकर्तालाई यो सेवा संचालन गर्ने अनुमति दिएको छ । किसानले पशुलाई सेवा केन्द्र वा कार्यालयमा ल्याएर कृतिम गर्भाधान गराएमा २५ रुपैयाँ मात्रै राजश्व लिने गरेको प्रमुख कार्कीले जानकारी दिए । उनका अनुसार किसानको पशु फर्म मै सेवा दिनु परेमा भने एक सय ५० देखि तीन सय रुपैयाँ सम्म सेवा शुल्क लिने गरिएको छ ।

अहिले चितवन दूध उत्पादनमा पनि देशमै पहिलो रहेको बताइन्छ ।” चितवनमा दैनिक दुई लाख २७ हजार लिटर दूध उत्पादन हुँदै आएको छ ।