कर्मचारीको मिलेमतोमा बन्छ नक्कली भिसा पेपर

वैदेशिक रोजगार विभागका कर्मचारीकै मिलेमतोमा नक्कली भिसा पेपर बनाई महिला कामदारलाई रोजगारीका लागि खाडी मुलुक पठाउने गरेको तथ्य खुलेको छ। युनाइटेड अरब इमिरेट्स (यूएई) स्थित नेपाली दूतावासले प्रमाणसहित कारबाहीका लागि पत्राचार गरेपछि सो तथ्य बाहिर आएको समाचार राजधानी दैनिकमा प्रकाशित भएको छ।

दूतावासले केही म्यानपावर कम्पनीसहित वैदेशिक रोजगार विभागको कर्मचारीको मिलेमतोमा राजस्व छली गर्न नक्कली भिसा पेपर बनाएर श्रमस्वीकृति दिने गरेको पाइएको जनाई सरकारलाई पत्राचार गरेको थियो । तर, सो पत्र नै गायब भएको छ । नेपाली दूतावासले नक्कली भिसा पेपर बनाएर गैरकानुनी रूपमा घरेलु महिला कामदार पठाउने कार्यमा संलग्न म्यानपावर कम्पनीको नामसहित कारबाहीका लागि पठाएको पत्र वैदेशिक रोजगार विभाग र परराष्ट्र मन्त्रालयबाट गायब भएको स्रोतले बतायो ।

घरेलु कामदारका रूपमा खाडी मुलुक आएका महिलाहरूको भिसा हाउसमेडको भए पनि नक्कली भिसा पेपर बनाई अन्यमै श्रमस्वीकृति दिने गरेको र कर्मचारीको मिलेमतोमा करोडौंको राजस्व छली गरेको प्रमाणसहित यूएईस्थित नेपाली दूतावासले परराष्ट्र र श्रम मन्त्रालयमा पत्राचार गरेको थियो । तर, लामो समय बितिसक्दा पनि कुनै कारबाही नगरी फाइल नै गायब बनाइएको स्रोतले बतायो । घरेलु कामदारका रूपमा खाडी मुलुक पठाउने म्यानपावर कम्पनी वा एजेन्टको सम्पर्कमा आएका सम्बन्धित मुलुकका नागरिकले दूतावासमा १ लाख १० हजार रुपैयाँ भन्दा धेरै धरौटी राख्नुपर्ने प्रावधान छ । तर, नेपालका म्यानपावर कम्पनी र तिनका एजेन्टले वैदेशिक रोजगार विभागकै कर्मचारीको मिलेमतोमा घरेलु कामदारको भिसा हँुदाहुँदै क्लिनर र अन्यमा श्रमस्वीकृति दिने गरेको पाइएको हो । घरेलु कामदारको भिसाबाट श्रमस्वीकृति लिनु पर्दा राजस्वसमेत धेरै भुक्तान गर्नुपर्छ ।

यूएईमा घरेलु कामदारका रूपमा ल्याइएका महिलामध्ये ९५ प्रतिशतको श्रमस्वीकृति नक्कली भएको दूतावासले जनाएको छ । यूएईस्थित नेपाली राजदूत धनञ्जय झाका अनुसार घरधनी वा मालिकवाट पीडित भई दूतावासमा शरण लिन आउनेमध्ये हालसम्ममा चारजनाको मात्र श्रमस्वीकृति हाउसमेडको पाइएको छ । अन्य सबै अर्थात् २०६६ कात्तिकदेखि हालसम्म दूतावासको शरणमा आएका १ सय ६६ मध्ये कसैको पनि हाउसमेडको श्रमस्वीकृति र भिसा छैन । क्लिनरलगायत अन्य भिसामा हाउसमेडका रूपमा महिला कामदार पठाउने गरेको पाइएको दूतावासको पत्रमा उल्लेख छ । व्यक्ति स्पोन्सर हुनु भनेकै हाउसमेडमा लगिएको हो भन्ने प्रमाणित हुन्छ, कम्पनीमा काम गर्न जाँदा कम्पनी स्पोन्सर हुन्छ । तर, व्यक्ति स्पोन्सर भएको महिलाको सक्कली भिसा हुदाँहुँदै कम्पनीको श्रमस्वीकृति कर्मचारीको मिलेमतोबाट हुने दूतावासको भनाइ छ ।

गत एक वर्षमा मात्र १५ जना महिलाको हाउसमेडको भिसामा कम्पनीको कामदारको श्रमस्वीकृति दिएको प्रमाणसहित आवश्यक कारबाहीका लागि परराष्ट्र मन्त्रालय र वैदेशिक रोजगार विभागमा पत्राचार गरेको श्रम सहचारी हीरादेवी पोखरेलले राजधानीलाई बताइन् । पोखरेलका अनुुुसार गत असोजदेखि चैत मसान्तसम्ममा १ हजार २ सय ४८ जना महिला कामदार वैदेशिक रोजगार विभागको स्वीकृति लिई यूएईमा घरेलु कामदारका रूपमा आएका छन् । तर, तीमध्ये एकदमै कमले मात्र घरेलु कामदारको रूपमा विभागबाट स्वीकृति लिएका छन् ।

भिसा पनि हाउसमेडको छैन । ‘हामी सबै कानुनी प्रक्रिया पूरा गरेर आउनोस् भनेर पठाउँछौं, तर उनीहरू नेपालबाटै मिलेमतोमा सबै नक्कली कागजात बनाएर आउँछन्,’ सहचारी पोखरेलले राजधानीसँग भनिन्, ‘हामी उनीहरूका अगाडि शिर झुकाएर काम गर्न बाध्य छौं ।’ हाउसमेडको स्वीकृति नहुँदा विदेशमा काम गर्ने सिलसिलामा महिलालाई अप्ठ्यारो परे कानुनी रूपमा अधिकारको लडाइँ लड्न अप्ठ्यारो हुने पोखरेलको भनाइ छ । स्रोतका अनुसार विभागबाट नक्कली कागजातको आधारमा हाउसमेडको सट्टा अन्य भिसाको स्वीकृति दिने र विमानस्थलमा समेत मिलेमतो गरी यूएई ल्याउने गरेको तथ्यसमेत दूतावासले पत्रमा दिएको छ ।

दूतावासको शरणमा आएका महिलाको बयान र उनीहरूसँग भएको कागजपत्रले अनियमितता भएको प्रस्ट देखिएपछि कारबाहीका लागि पत्राचार गरिएको स्रोतले बतायो । भर्खरै मात्र युरोक्रस इन्टरनेसनल र केएनसी इन्टरनेसनल म्यानपावर कम्पनीले सिन्धुपाल्चोककी पुनम लामा र नुवाकोटकी विष्णुमाया तामाङलाई हाउसमेडको भिसामा बीबीएस क्लिनिङ र सइद अएकरी टेक्निकलमा फिमेल क्लिनरको स्वीकृति दिएर पठाइएको पाइएको छ । सर्भेन्ट भिसा र क्लिनरको श्रमसहित दूतावासको शरणमा पुगेपछि राजस्व छली गर्ने कार्य गरेको देखिएको र आवश्यक कारबाहीका लागि लेखेर पठाएको दूतावासको भनाइ छ ।

visa‘श्रम नक्कली गर्ने र गर्न उकास्ने तथा मिलेमतोमा गर्ने सबै मानव तस्कर हुन्, खोजी–खोजी कारबाही हुन आवश्यक छ, हामीले समेत कारबाही होस् भनेरै प्रमाणसहित पठाएका छौं, तर कारबाहीको कुनै जानकारी आएको छैन,’ उपनियोग प्रमुख दीपक अधिकारीले भने । नेपालका धेरै म्यानपावर र श्रम विभाग तथा त्यहाँका कर्मचारीहरूको मिलेमतोमा नक्कली कागजात तयार गरिन्छ भन्ने दूतावाससँग प्रमाण भए पनि सञ्चारमाध्यममा दिन इन्कार गरिएको छ । ‘हामीले कारबाहीका लागि पठाएका छौं, सञ्चारमाध्यममा दिन मिल्दैन, यति बुझ्नोस्, श्रमस्वीकृति लिने क्रममा ठूलो रकमको अवैध रूपमा चलखेल छ,’ अधिकारीले भने । वैदेशिक राजेगार विभागले भने यूएईस्थित दूतावासबाट कुनै उजुरी नभएको बताएको छ । विभागका महानिर्देशक विनोद केसीले यूएईस्थित दूतावासबाट कुनै पत्र नआएको र आए कारबाही हुने बताए ।

‘दुई महिलाले दिएको उजुरीमाथि छानबिन र कारबाही भइरहेको छ, दूतावासबाट त्यस्तो कुनै पत्र प्राप्त भएको छैन,’ महानिर्देशक केसीले भने, ‘दूतावासको पत्र आएमा कारबाही हुन्छ ।’ दूतावासले भने पटक–पटक नक्कली भिसा पेपर बनाएर पठाउने गरेको विषयमा पत्र पठाएको र आवश्यक परे सबै सार्वजनिक गर्ने बताएको छ । ‘आवश्यक परे हामी सबै पत्र सार्वजनिक गर्न सक्छौं,’ दूतावासका उपनियोग प्रमुख अधिकारीले भने । यसैबीच, नक्कली श्रमस्वीकृति दिएर दूबई पठाइएका कारण दूतावासमा शरण लिन आएका ११ जना महिलाको उद्धार र व्यवस्थापनमा कठिनाइ भएको दूतावासले जनाएको छ । दूबईलगायत यहाँका सातओटा राज्यमा कुनै कम्पनीको भिसा भएकालाई हाउसमेड काममा लगाइएको भेटिए यहाँको सरकारले ५० हजार दिराम जरिवाना गर्ने प्रावधान छ ।