ओली र नेपाल समूहको प्यानलमा को-को ?

आज शुरू एमालेको नवौं महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै आगामी २५ गते सकिने छ । महाधिवेशनमा देशभरवाट २ हजार ३ सय २५ प्रतिनिधि सहभागी हुने एमालेले जनाएको छ ।
महाधिवेशनमा बरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओली समूह प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धामा देखिएका छन् ।
uml-Oli Nepal Pyanel
ओलीको प्यानल-
अध्यक्षका प्रत्यासी एमाले संसदीय दलका नेता केपी शर्मा ओली समूहको प्यानलको अन्तिम घोषणा भैसकेको छ।

पाँच उपाध्यक्ष, एक महासचिव, दुई सह-सचिव र पाँच सचिवको अन्तिम घोषणा गरेको हो। आजबाट सुरु हुने महाधिवेशनमा ओली समूहले उपाध्यक्षको उम्मेवारमा वामदेव गौतम, विद्या भण्डारी, प्रदिप नेपाल, मुकुन्द न्यौपाने र केशव बडाललाई अघि सारेको छ।
यस्तै महासचिवमा ईश्वर पोखरेलको नाम छानेको छ।

यस्तै विष्णु पौडेल र शंकर पोखरेललाई उपमहासचिव बनाउने भएको छ।
प्रदिप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ धर्मनाथप्रसाद साह, रघुविर महासेठ र भानुभक्त ढकाललाई सचिवको उम्मेद्वार उठाएको छ।
नेपाल प्यानल-
नेपाल समूहबाट सबै युवा नेतृत्व रहेकाले पदाधिकारीमा जिम्मेवारी मिलाउन केही सजिलो देखिए पनि सचिवका आकांक्षि बढी देखिएका छन् । आइतवार अबेरसम्म प्रत्येक जिल्लाका कम्तिमा दुईजना प्रमुख नेताहरूसँग छलफल गरेका नेपालले टिम कस्तो बनाउने भन्ने बारेमा सुझाव लिएका थिए ।
आफु निकट नेताहरूसँगको छुट्टा–छुट्टै छलफलपछि नेता नेपालको टिमको उपाध्यक्षमा युवाराज ज्ञवाली, भिम रावल, अष्टलक्ष्मी शाक्यको नाम लगभग पक्का भएको बताइएको छ । दुईजना बाँकी उपाध्यक्षमा लालबाबु पण्डित, राजेन्द्र पाण्डे, रघुजी पन्त, बेदुराम भुषाल मध्यबाट हुने चर्चा छ । पंडितलाई अन्य नेताहरूले भन्दा बिशेष रुपमा नेपालले नै राख्न चाहेका छन् ।
महासचिवमा सुरेन्द्र पाण्डेको पक्का जस्तै भएको छ भने उपमहासचिवमा घनश्याम भुषालको पक्का छ । अर्को उपमहासचिवमा भने हाललाई कसैको नाम चर्चामा आएको छैन । उपाध्यक्ष र उपमहासचिवमा धेरैको चाहना छैन । त्यो भन्दा बढि चाहना सचिवमा छ । एक नेताले भने, ‘उपाध्यक्ष र उपमहासचिवमा प्रस्तावित सबै सचिवको लागि तयार बनेका छन् ।’ यसो हुँदा सचिवमा पशुपति चौलागाई, योगेश भट्टराई, गोकर्ण बिष्ट, पशुराम मेघी गुरुङ, भिम आचार्य, प्रकाश ज्वाला मध्यबाट बन्ने छन् ।
अध्यक्ष झलनाथ खनालले समर्थन गरेमा उनी पक्षिय नेताहरू अचार्य, गोकर्ण बिष्ट, प्रकाश ज्वालालाई उचित जिम्मेवारी दिन नेपाल बाध्य हुनुपर्ने छ । तर तीन जना मध्य एक जनालाई मात्रै सचिव दिन सकिने भनाई नेपाल पक्षीयको छ । नेपालले ओली पक्षीय नेता कृष्णगोपाल श्रेष्ठलाई आफूतर्फ ल्याएर सचिव बनाउने योजना बनाएका छन् । यद्यपि श्रेष्ठ पछिल्लो समयमा नेपाल पक्षीय भएको बताइए पनि यस बारेमा उनले मुख खोलेका छै्रनन् ।