एसियाली खेलकुद: समयमै नपुग्दा केही खेलबाट नेपाल बञ्चित

दक्षिण कोरियाको इन्चोनमा जारी १७ औं एसियाली खेलकुदमा खेल्ने केही नेपाली खेलाडीहरु समय मै खेलस्थलमा पुग्न नसक्दा उनीहरु खेल्नबाट बञ्चित भएका छन्। उक्त प्रतियोगितामा शनिबार खेल्नुपर्ने तीन खेलका खेलाडीहरुमा टेबल टेनिस र एथलेटिक्सका केही खेलाडीहरु इन्चोन खेलस्थल पुग्न सकेनन्। विमानस्थलबाट सिधै मैदानमा उत्रिएका खेलाडीहरुले पनि क्रिकेट बाहेक अन्य प्रतिस्पर्धामा राम्रो प्रदर्शन गर्न सकेनन्।

दुई दिन काठमाडौं विमानस्थलमै गरेको प्रतिक्षा र त्यसपछि झन्डै २४ घण्टाको हवाई यात्राबाट दक्षिण कोरिया ओर्लेका खेलाडीहरु धपेडीका कारण थकित देखिएका थिए। हस्याङ फस्याङ गर्दे खेल स्थल पुगेका खेलाडीहरुले राम्रो प्रदर्शन गर्न सकेनन् अनि कतिपय खेलाडीहरु समयमै खेलस्थलमा पुग्न नसक्दा खेल्नबाट बञ्चित भएका छन्। आइतबार दक्षिण कोरिया पुगेका एथलेटिक्स खेलाडी तिलकराम थारु हङकङ विमानस्थलमै अड्किएपछि प्रतिष्पर्धामा सहभागी भएनन्। टेबल टेनिसका आधा खेलाडी कोरियामा र आधा बैंककमा नै रोकिएपछि प्रतिद्वन्दी टोलीलाई सिधै विजेता घोषणा गरिएको थियो। एथलेटिक्सकी कान्छिमाया कोजु खेलस्थलमा पुगेपनि निरन्तर वान्ता गरेपछि खेल्न सकिनन्। दुई दिन अगाडी नै नेपालबाट उड्न लागेका चार खेलका खेलाडीहरु चढ्ने विमानमा खराबी आएपछि उनीहरुको खेल छुटेको थियो।

दक्षिण कोरियाका लागि नेपाली राजदुत कमानसिंह लामा भन्छन्, “खेलाडीहरुले खेल्न नपाउनु एकदमै दुखद कुरा हो, यसमा एकजना व्यक्ती वा संस्थामात्र होइन, समग्र सरकारनै दोषी छ, सरकारले यसको जिम्मा लिनुपर्छ।

Asian Game 2014 S.Koreaअधिकांश राष्ट्रका खेलाडीहरु खेल तालिका भन्दा चाडैं आयोजक स्थलमा आउने गर्दछन् ताकी उनीहरु खेलस्थलसँग परिचित हुन सकुन्। तर नेपाली खेलाडीहरुलाई दक्षिण कोरिया पठाउँदा भएको लापरवाहीको प्रतियोगिता हेर्न कोरिया पुगेका नेपालीहरुले विरोध जनाइरहेका छन्।

प्रहरीको प्रतिनिधित्व गर्दे एसियन गेम्स हेर्न आएका राष्ट्रिय भलिवल टोलीका पुर्व कप्तान भरत शाहले सो घटनालाई समग्र खेलाडीमाथीको धोका भनी बताए। उनले भने, “खेलाडीहरुको लागि त यो धोका नै हो, समग्र राष्ट्रको बेइज्जत भएको छ।”

नेपाली टोलीका सेभ द मिसन छिमी उर्गेन लामाले राष्ट्रिय खेलकुद परिषद र खेल सम्बद्ध संस्थाहरुले समयमा नै खेलाडीहरुलाई पठाउन पर्याप्त ध्यान नदिंदा पछिल्लो समस्या आएको बताए। उनले भने,“काठमाण्डूमा देखिएको समस्याबारे मलाई कुनै जानकारी गराइएन, एउटा विमान बिग्रिएपछि सम्बन्धित निकायहरुले जसरी भएपनि खेलाडीहरुलाई समयमा नै पठाउन पहल गर्नुपर्थ्यो।”

प्रतिकुलताका बाबजुद, २४ घण्टाको विमान यात्राबाट थकित हुंदै शनिबार इन्चोन पुगेको क्रिक्रेट टोलीले भने कुवेतमाथी ९ विकेटको सहज जित हासिल गरेको छ।

– बिबिसी रिपोर्टमा आधारित

  • Post category:खेल