एमालेको नयाँ रूप प्रवासी नेपाली मञ्च

CPN UMLनेकपा (एमाले)ले आफूसम्बद्ध विदेशमा रहेका प्रवासीहरूको संगठन नेपाली लोकतान्त्रिक मञ्चको नाम परिवर्तन गरेर प्रवासी नेपाली मञ्च (ओएनएफ) बनाएको छ। स्थायी कमिटीको निर्णयको आधारमा गत माघ २३ गतेदेखि लागू हुनेगरी सर्कुलर जारी गर्दै एमालेले उक्त निर्णय गरेको हो।
निर्णयसँगै भारत प्रवासबाहेक संसारभरि फैलिएको संगठनको एउटै नाम हुने भएको छ। यससँगै एमालेले विधि नै नपुर्यारई गठन गरिएको र केही नेताहरूको घुमफिर गर्न जाने माध्यम बनेको पुरानो कमिटीलाई बिदा गरेर विधानसम्मत नयाँ संरचना निर्माण गरेको छ। अब युरोप समन्वय कमिटीमा प्रत्येक देशबाट अध्यक्षहरू पदेन सदस्य
रहनेछन् भने कमिटीले पठाएका एक–अर्का सदस्य पनि रहनेछन्। सँगै युरोपभरि सांगठनिक गतिविधि तीव्र बन्नुका साथै कार्यकर्ताहरू उत्साहित भएका छन्। युरोपका ११ वटा देशहरू– पोर्चुगल, स्पेन फ्रान्स, जर्मनी, इटाली, बेलायत, बेल्जियम, नेदरल्यान्ड, रसिया, नर्वे र ग्रिसमा अधिवेशन गठन तथा पुनःगठनको क्रम सुरु भएको छ। स्पेन र पोर्चुगलमा गत जुलाईमै अधिवेशन सम्पन्न भइसकेका छन् भने फ्रान्समा भक्त वाग्लेको अध्यक्षतामा हालै नौ सदस्यीय तदर्थ समिति गठन गरिएको छ। फेबु्रअरी १० मा आयोजित भव्य समारोहबीच एमाले वरिष्ठ नेता माधवकुमार नेपालको प्रमुख आतिथ्यता तथा युरोप कमिटीका सदस्य पुष्प तिमिल्सिनाको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो।
पार्टीका लागि सहयोग जुटाउने, कामका सिलसिलामा विदेश पुगेका सदस्यहरूलाई पार्टीको सम्पर्कमा राखिरहने र प्रवासी नेपालीहरूका समस्या समाधानमा केन्द्रित रहने उद्देश्यले बनाइएको संगठनलाई गुटबन्दी र आफू अनुकूलका नेताहरूको विदेश घुमफिरको अखडा बनाइएपछि एमालेले केही समयअघि अरुण नेपाललाई इन्चार्जबाट हटाएर पूर्वमन्त्री तथा केन्द्रीय सदस्य भीम रावललाई जिम्मेवारी दिएको थियो। यस संगठनको प्रारम्भदेखि नै योजना बनाउनमा सक्रिय रावलले जिम्मा पाएपछि संगठनले नयाँ जीवन पाएको कार्यकर्ताहरू बताउँछन्।
संगठन विस्तारकै क्रममा फेब्रुअरी १५ मा इटालीमा सम्पन्न पहिलो अधिवेशनले ज्ञान लामिछाने अध्यक्ष र युवराज अधिकारी महासचिव रहेको २१ सदस्यीय कमिटी गठन गरेको छ। त्यसैगरी, प्रवासी नेपाली मञ्च जर्मनीको तेस्रो अधिवेशन पनि ९ मार्चमा सम्पन्न भएको छ। सो अधिवेशनले नवराज रोस्यारालाई अध्यक्षमा निर्वाचित गरेको छ। अधिवेशनको केन्द्रीय सदस्य एवं केन्द्रीय कार्यालयका सचिव पर्शुमेघी गुरुङको प्रमुख आतिथ्यता र युरोप मञ्चका सदस्य पुष्पराज तिमिल्सिनाको विशेष आतिथ्यमा सम्पन्न भएको थियो। सो अधिवेशनले युरोप प्रतिनिधिमा भोजराज त्रिपाठीलाई चयन गरेको छ। मे २६ मा बेल्जियमको अधिवेशनको मिति तय भएको छ भने सोही महिना नेदरल्यान्ड र बेलायतको अधिवेशन सम्पन्न हुने युरोप सदस्य तिमिल्सिनाले बुधबारलाई बताउनुभयो। ‘युरोपभरि धेरै उत्साह आएको छ कार्यकर्तामा सल्बलाहट छाएको छ,’ तिमिल्सिनाले बताउनुभयो।
यही संगठनको कामका सिलसिलामा एमाले सचिव युवराज ज्ञवाली र प्रवास इन्चार्ज रावल अहिले जापानमा हुनुहुन्छ।