एन.आर.एन. स्विस सम्मेलनमा चुनावी सरगर्मी

nrn
युरोपेली गैरआवासीय नेपालीहरू स्विसमा जम्मा भएका छन् । जुन २२ र २३ मा स्विजरल्याण्डमा एनआरएन सँघको युरोप सम्मेलन हुँदैछ । सम्मेलनमा गैरआवासीय नेपालीहरूबीच छलफल हुनुका अतिरिक्त नेपालमा कार्यक्रम चलाइरहेका स्विस सँस्थाहरू र शुभेच्छुकहरूको समेत सहभागिता र अन्तरकृया हुनेछ । जुन अन्य सम्मेलनहरूमा विरलै हुन्थ्यो ।
स्विजरल्यान्डको ज्यूरिचमा हुने गैरआवासीय नेपाली संघ (एनआरएन) को ‘छैटौँ युरोपियन मिटिङ् तथा युरोपियन महिला कन्फरेन्स’ ले सबैको ध्यान खिँचेको छ; खासगरी चुनावी सरगर्मीले । गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएन, आइसीसी) को आगामी अक्टोबर १९ र २० मा काठमाडौंमा हुने छैठौं विश्व सम्मेलनले नयाँ केन्द्रीय नेतृत्वको चयन गर्ने भएकोले एनआरएन नेतृत्वको अकांक्षीहरूको ‘लबि र पक्षपोषण’ हेर्नलायक बन्दैछ, ज्यूरिचमा ।

अध्यक्ष पदका लागि अहिलेसम्म अस्ट्रेलियामा धनाढ्यमा कहलिएका शेष घले, बेलायतमा बसोवास गर्ने वर्तमान उपाध्यक्ष हितमान गुरुङ, दक्षिण कोरियाका महासचिव तेन्जी शेर्पा र जर्मनी निवासी सँस्थापक रामप्रताप थापाको उमेदवारी चर्चामा आइसकेको छ । यी सबैले ज्यूरिचमा होटल रिजर्भ गरिसकेका छन् ।

एनआरएन, आइसीसीको आगामी अक्टोबर १९ र २० मा हुने छैटौं विश्व सम्मेलनमा नयाँ नेतृत्वका लागि प्रवासका चर्चित अनुहारहरूको वजन लेखाजोखा शुरू भैसकेको छ । पछिल्लो दशकमा एनआरएन सँघले देशभित्र र बाहिर तरङ्ग ल्याएको छ र यसलाई धेरैले आशाको नजरले हेरेका छन् । तर ‘जहाँ गए पनि नेपालीको बानी नजाने’ भन्ने कहावत चरितार्थ गर्दै पछिल्ला वर्षहरूमा एनआरएनमा चर्को राजनीतिक र जातीय मिसावट र चलखेल बढेको छ ।
एनआरएनका राष्ट्रिय कमिटीहरू ६५ देशमा सँगठित छन् । बिडम्बना, जहाँ जहाँ नेपालीहरूको घनत्व छ त्यहाँ राजनीतिक लुछाचुँडी बढ्दो छ । यसले गर्दा डायस्पोराको आवाज बुलन्द गर्नेभन्दा राजनीतिक पकड गर्ने स्वार्थले गाँजेको छ । फलस्वरूप एनआरएन आन्दोलनको सुन्दर पहिरनमा कुरूप दागहरू देखिएका छन् । एनआरएन अभियानको प्रभावकारिता खुकुलो बन्न लागेको छ ।
प्रवासका सबै नेपालीहरूको प्रतिनिधि सँस्थाका रूपमा हेरिने एनआरएन एक हदसम्म सफल छ तर चुस्त बन्न सकेको छैन । जुन तालमा बजाए पनि हुने डम्फू बनेको छ । जसले गर्दा क्रमिक रूपमा यो सँस्था विराट तर अस्पष्ट बन्दै गएको छ । सँस्थालाई विशिष्ट र सुव्यक्त गर्न कुशल नेतृत्वको निरन्तरता समयको माग बनेको छ ।
नेतृत्वको सवाल कति महत्वपूर्ण छ भन्ने कुरा उपेन्द्र महतोबाट देवमान हिराचनमा अध्यक्षता सर्दा एनआरएनको साखमा देखिएको भिन्नताले प्रष्ट पारिसकेको छ ।
गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको आगामी अक्टोबरमा हुने छैटौं विश्व सम्मेलनमा अध्यक्ष पदका लागि अस्ट्रेलिया निवासी शेष घलेले उम्मेद्वारी दिने चर्चाले एनआरएन निर्वाचन ‘हेभिवेट’हरूको चाखको विषय बनेको छर्लङ्ग भएको छ । अस्ट्रेलियाका दुई सय जना धनाढ्यहरूको सूचिमा विगत केही वर्षहरूदेखि सूचिकृत घले एनआरएन अभियानमा चिनिएको व्यक्तित्व नभए पनि प्रवासी नेपालीहरूबीच चर्चित अनुहार भने हो ।
घलेले एनआरएन युरोपको जुन २२ र २३ मा स्विजरल्याण्डको ज्युरिचमा हुने बैठकमा औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्ने बताइएको छ । एक थरि एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो र वर्तमान अध्यक्ष जीवा लामिछानेको ‘लेगेसी’ थाम्न घले उपयुक्त पात्र भएको ठान्दछन् । अर्काथरि भने एनआरएनएमा एक कार्यकाल समेत काम नगरेका घलेलाई नेतृत्व दिँदा संगठनमा लामो समयसम्म काम गरेका माथि अन्याय र एनआरएन व्यापारीको संगठन मात्र हो भन्ने आरोपलाई थप बल मिल्ने सोच्दछन् ।

एनआरएनएका संस्थापक तथा संरक्षक रामप्रताप थापा पनि अध्यक्ष पदको दावेदारका रुपमा देखिँदै आएका छन् । थापा आफ्नो लामो अनुभव र योगदानका आधारमा नेतृत्व आफूले पाउनुपर्ने विचार राख्छन् । त्यस्तै अध्यक्ष पदका अर्का दावेदार अवकाशप्राप्त क्याप्टेन, उपाध्यक्ष हितमान गुरुङ पनि हुन् । हालका अध्यक्ष जीवा लामिछाने उपाध्यक्ष हुँदै अध्यक्ष बनेकाले एनआरएनमा नेतृत्वको क्रमिक विकास हुनु पर्ने गुरूङको तर्क छ । त्यसैगरि दक्षिण कोरियाका बासिन्दा र केही वर्षदेखि नेपालमा ब्यापार गरिरहेका तेन्जी शेर्पाले पनि आफ्नो दावी प्रस्तुत गरेका छन् ।

संरक्षक रहेका भिम उदास र अर्का उपाध्यक्ष रामेश्वर साहको नाम अरूले चर्चामा ल्याए पनि स्वयंले उमेदवारी घोषणा गरेका छैनन् । एनआरएनमा नाम चलेका केही व्यक्तीहरू स्थायी रुपमा नेपाल फर्की सकेकाले नैतिक तथा वैधानिक प्रश्न उब्जिएको छ । ‘एक पटकको नेपाली सधैंको नेपाली’ नारा घन्काउने एनआरएन सँघले ‘एक पटकको एनआरएन जीवनभरको एनआरएन’ भन्ने चरितार्थ गर्दैछ । विदेशबाट फर्केकाहरू कति वर्ष नेपालमा बस्दासम्म वा कुन हैसियत हुँदासम्म एनआरएन मानिने हुन् भन्ने प्रष्ट हुनु जरूरी भैसकेको छ ।

यी चर्चामा आएका नामहरूमा सहमति हुन नसके वर्तमान अध्यक्ष जीवा लामिछानेलाई अर्को कार्यकालका लागि वातावरण बन्न पनि सक्छ । यद्यपि, लामिछानेले दोस्रो कार्यकालका लागि इच्छा देखाएका छैनन् ।

जे होस्,  यही जुन २२ र २३ मा स्विजरल्याण्डमा हुने युरोप सम्मेलनमा ठुलै चुनावी कसरत हुने निश्चित छ ।  सम्मेलनको आयोजक स्विस एनआरएनका अध्यक्ष डा. विनय श्रेष्ठले सम्पूर्ण तयारी पुरा भैसकेको बताउँदै ज्यूरिच सम्मेलनले नयाँ तरङ्ग ल्याउने विश्वास व्यक्त गरे । युरोपभरिका एनआरएनहरू र केन्द्रीय नेतृत्व जम्मा हुने यो सम्मेलन उत्तिकै खर्चिलो पनि छ । हरेक वर्ष जमघट हुने र घोषणा पत्र जारी गर्ने प्रचलन छ । तर त्यसले के नतिजा दियो त भन्ने कुरा खोजनीति गर्दा धेरै न्यून देखिने अवस्था छ । जसले गर्दा एनआरएनको साखको निरन्तरतामा अहिले गम्भीर प्रश्न उठेको छ ।