एन. आर. एन. बेल्जियमको अध्यक्षमा हरिकुमार थपलिया

nrn election belएन. आर. एन. बेल्जियमको निर्वाचनमा उमेदवारहरूको नामावली प्रकाशन गर्ने कुरामा निर्वाचन समितिले गोलमटोल काम गरेको छ । म्याद सकिए पनि नामावली प्रकाशन गरिएको छैन र राजनीतिक दाउपेचका कारण सबैको नाम खुलस्त नगरिएको बताइएको छ । एक अर्काको रणनीतिलाइ हेरेर नाम सार्वजनिक गर्न यस्तो ढिलाइ भएको बताइन्छ ।
एन. आर. एन. बेल्जियमको निर्वाचनमा अध्यक्ष पदका लागि तोकिएको अवधिभित्र हरिकुमार थपलियाको मात्र उमेदवारी परेको छ । त्यस्तै आइ. सी. सी. प्रतिनिधिका लागि रजनी प्रधानले उमेदवारी दिएकी छन् । २९ जुन साँझ ५ बजे सम्मको म्याद तोकिएकोमा यी व्यक्तिहरूको उमेदवारी परेको हो । त्यसैगरी लुभेनको निर्वाचन केन्द्रमा महासचिवमा माधव सापकोटा, चन्द्र ब्लोन र जीत लामाको नाम परेको छ ।

हरिकुमार थपलियाले उम्मेदवारी दिने अन्तिम मिति २७ गते विहीवार नै दर्ता गराएका थिए । तर एन. आर. एन. का केही टाठाबाठाहरूले शनिवारसम्मलाइ म्याद लम्ब्याएका थिए ।
तोकिएको म्यादसम्ममा थपलियाको मात्र नाम भए पनि भित्रभित्रै राजनीतिक दाउपेचका कारण आज रातीसम्म प्रेम गुरूङ र गंगाधर गौतमको अध्यक्षमा उमेदवारी सार्वजनिक गर्ने संभावना रहेको बताइएको छ । त्यस्तै, आइ. सी. सी. प्रतिनिधिका लागि शिव बरूवालको नाम सार्वजनिक हुनेछ भने पी. जी. शेर्पा र श्रीप्रसाद सापकोटाको नाम पनि थपिन सक्ने बताइएको छ । निर्वाचन समितिले चार ठाउँमा सम्पर्क कार्यालय राखेको भए पनि लुभेनबाहेकका केन्द्रहरूमा काम प्रभावकारी रूपमा हुन सकेन । काँग्रेससमर्थक जनसम्पर्कमा भएको फाटो र त्यसपछि बनेको समिकरण प्रयासका कारण निर्वाचन समिति समेत दलदलमा फँसेको छ ।