एन.आर.एन. सँघ: दिमागवालाहरूको पलायन र खुट्टा बजार्नेहरूको प्रभुत्व

गुट र फुटको नेपाली राष्ट्रिय रोगले अन्तर्राष्ट्रको एन. आर. एन. लाइ पनि सिकिस्त पारेको छ । प्रवासमा बसेका नेपालीहरू पद पाउनको लागि कति मरिहत्ते गर्छन् भन्ने कुरा त समाजसेवा गर्ने नाममा एन. आर. एन. मा चर्किएको लुछाचुँडीले प्रस्टै पारेको छ । नेपालीहरूको बस्ती बाक्लो भएको देशहरूमा एन. आर. एन.को नेतृत्व लिन ठुलै घम्साघम्सी छ । र यही कसरत छ, यही हप्ता हुन गइरहेको आइ. सी. सी. मा पनि ।

nrnयसपालीको एन. आर. एन. राष्ट्रिय कमिटीका निर्वाचनहरूमा काँग्रेस वा एमाओवादिका जिल्ला सम्मेलनमा हुने खालका कृत्य देखिए । गुटबन्दी, लठैत जम्मा गरेर कब्जा गर्ने र ब्रेनभन्दा बलले मिच्ने । फलस्वरूप, एन. आर. एन. सँघ भनेको पहिले सोचिएभन्दा फरक हुलको सँस्था बन्दै गएको छ । हुल-इज्जत यतिसम्म बढ्दै गयो की, त्यसैको कडी बन्यो- एन. आर. एन. फुट्ने हल्ला । एन. आर. एन. फुटाउने हल्ला गर्ने हरूको एउटै स्वार्थ हो- पदको थोत्रो राजनीति ।

खासमा, एन. आर. एन. सँघमा भद्रगोल बढ्दै जानुमा अहिलेको नेतृत्व कै कमजोरी हो । यसको सँगठन निर्माण र विस्तार क्रममा केन्द्रीय नेतृत्वको भूमिका फितलो र अदूरदर्शी रह्यो । गुणात्मकभन्दा सँख्यात्मक विस्तार भयो । अहिलेको हुल्लडबाजी त त्यसैको ‘साइड इफेक्ट’ हो । एन. आर. एन. सँघ दिनानुदिन भिजनले होइन, हुलले चल्ने सँगठन बन्दै गएको छ । ३५-४० लाख प्रवासीको नेतृत्व गर्ने नाममा यसको केन्द्रीय नेतृत्वले चुस्त साँगठनिक प्रावधान र ढाँचा बनाउन नसक्दा एन. आर. एन. भन्ने कुरा सँघको नाममा भीड मात्र बनेको छ । यो भीडको जमातले एन. आर. एन. को पहिचानलाई दिनानुदिन “हाउगुजी” बनाउँदैछ, एन. आर. एन. अभियानलाई फोस्सा बनाउँदैछ ।

अबको नेतृत्वले पनि यो यथार्थलाई बुझ्न सकेन भने २ वर्षपछिको निर्वाचन गैर-आवासिय डनहरूको बीचमा हुनेछ । र त्यसले नेपालको जनमतमा कुनै असर राख्न सक्ने छैन । त्यस्तो अवस्थामा स्वभावतः एन. आर. एन. सँघका एजेण्डाहरूले कसैको ध्यान खिँच्दैन । यो सबै फितलोपनको दोष यथार्थमा नीति-निर्माण तहको एन. आर. एन. नेतृत्व नै हो ।
पछिल्लो समयमा सँचार जगतमा एन. आर. एन. सँघप्रति नकरात्मक विचारहरूले ठाउँ पाउँदो छ । र एन. आर. एन. सँघ आफूमाथि लाग्ने हावादारी आरोपको पर्दाफास गर्न पनि नसक्ने बन्दै गएको छ । यसको प्रमुख कारण सँघमा दिमागवालाहरूको पलायन र खुट्टा बजार्नेहरूको प्रभुत्व हो ।
अध्यक्षमा पाँच प्रत्यासी, बार्गेनिङको तुरूपसहित
गैरआवासीय नेपाली संघको नयाँ नेतृत्वका लागि पाँच जना मैदानमा उत्रिएका छन् । अस्ट्रेलियाका ब्यापारी शेष घले, पूर्व संरक्षक रामप्रताप थापा, उपाध्यक्षहरु हितमान गुरुङ र रामेश्वर साह तथा महासचिव तेन्जी शेर्पाले अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेका छन् ।
nrn confrence 2070
थापा जर्मनीको एक बैंकमा बैँकर छन् । घले अष्ट्रेलियामा बसेर ब्यबसाय गरिरहेका धनाढ्य हुन् भने अर्बको लगानीमा काठमाण्डौंमा पाँच तारे होटल संचालन गर्ने तयारीमा छन् । उपाध्यक्ष साह युएईबाट नेपाल फर्किएर NRNA लगानीको कार्यक्रम हेरीरहेका छन । त्यस्तै, शेर्पा कोरियाबाट नेपाल फर्केर एक कोरियाली कम्पनीमा काम गरिरहेका छन् । गुरुङ सेवा निबृत्त बेलायती सैनिक हुन ।

साह र शेर्पाको बसाइँ नेपालमा भएकोले एन. आर. एन.को नेतृत्व लिन ती कति लायक छन् भन्ने सवाल उठीसकेको छ । बाँकी तिन जनालाइ भने राम्रा उमेदवारका रूपमा हेरिएको छ । त्यसमध्ये, पूर्व संरक्षक थापा अध्यक्षका निम्ति पटक पटक चर्चामा आएर सहमतिका नाममा चिप्लिँदै आएका एन. आर. एन. अभियन्ता हुन् ।

यसबाहेक, उपाध्यक्ष, महासचिव, सचिव तथा क्षेत्रीय संयोजकहरुमा अन्य दर्जनौं गैरआवासीय नेपालीको उम्मेदवारी घोषणा भैसकेको छ ।