एनआरएन सँघ अमेरिकाको विवाद समाधानार्थ केन्द्रीय कार्यदल गठन

गैरआवासीय नेपाली  (एनआरएन) संघ अमेरिकाको निर्वाचनमा अध्यक्ष काउम्मेदवार रहेका गौरीराज जोशीको योग्यताबारे निर्णय गर्न संघको अन्तराष्ट्रिय समन्वय परिषदको जर्मनीको फ्र्यांकफर्ट शहरमा सोमबार राती अबेरसम्म भएको बैठकले संघका विधान मस्यौदा समिति कार्यदलका संयोजक हेमराज शर्माको नेतृत्वमा केन्द्रिय संरक्षक दिल गुरुङ र केन्द्रिय सल्लाहकार विश्वआदर्श पण्डित रहेको तीन सदस्यीय कार्यदल गठन गरेको छ ।

कार्यदलको अवधी एक साता तोकिएको छ र कार्यदलको प्रतिवेदनको आधारमा सचिवालयले अमेरिकाको विवादबारे निर्णय गर्नेछ ।

स्मरणिय छ, अमेरिका शाखाको निर्वाचन आयोगले यस अघि अध्यक्ष प्रत्याशी गौरिराज जोशीलाई विधानत एक कार्यकाल काम गरेको खुल्ने प्रमाण प्रस्तुत गर्न भनेपछि संघका केन्द्रिय महासचिव बद्रि केसीले उनको योग्यता खुल्ने प्रमाणित पत्र निर्वाचन आयोगलाई उपलब्ध गराएका थिए तर लगत्तै अध्यक्ष शेष घलेले क्षेत्रीय संयोजक सोनाम लामाको आग्रहमा निर्वाचन आयोगलाई अर्को पत्र लेखी महासचिव केसीको पत्र व्यक्तिगत भनेका थिए । घलेको प्रतिरोधमा के.सी. ले अनुशासन समितिमा उजुरी गरेपछि यो विवाद तातिएको थियो ।

संघको अन्तराष्ट्रिय समन्वय परिषदको यो हस्तक्षेपपछि अमेरिकी विवादले नयाँ मोड लिएको छ ।