एनआरएन जिन्दाबाद

(लघुकथा )yamu

यामु निरौला,  दोश्रो संबिधानसभाको निर्वाचन भएको पनि ठ्याकै एक वर्ष बितिसकेको थियो | निर्धारित समयमा संबिधान जारी हुने कुनै छाँट थिएन, राजनेताहरु आ-आफ्ना अडानबाट एक बित्ता पनि टसका मस भएका थिएनन | देश र जनताको भन्दा पनि व्यक्तिगत तथा दलगत स्वार्थको उनीहरुको आँखामा बाँधिएको कालो पट्टि खुस्कने चाला थिएन | पार्टीका ठुला भनिएका नेताहरु नै अरुलाई दोष थुपारेर लाजै पचाएर समयसिमा भित्र संबिधान बन्ने अवस्था क्षीण हुदै गैरहेको संचार माध्यमहरुलाई ओकल्न थालिसकेका थिए| कोही बंकरको घुर्की देखाउदै थिए,त कोहि बहुमतको, कोहि सर्बसम्मतिको त कोहि प्रक्रियाको | धमिलो पानीमा माछा मार्न चाहनेहरु आकाशमा मडारिएको कालो बादललाई भेलको शुभ संकेतको रुपमा हेर्न थालिसकेका थिए,धर्म र जातीको नाममा समाजमा विभाजनको बिष मिसाउन खोज्ने गोमन सर्पहरु फँडा उठाउन थालिसकेका थिए| राजनैतिक आवरण भित्रका धूर्त ब्वाँसाहरु संबिधानसभाको गर्ब भित्र रहेका ‘शान्ती’ र ‘संवृद्धि’  नामका भ्रुणहरुलाई लिङ्ग परिवर्तन गरेर ‘शक्ति’ र ‘अस्तित्व’ का नाममा तुहाउन चाहन्थे | दक्षिणबाट कोसेली आएको अचम्मको पोको पनि क्रमस: मायाजालको रुपमा गाँठो पर्दै थियो | जनमानसमा रहेको कौतुहलता क्रमस: सन्त्रास र भयमा रुपान्तरण हुदै थियो कि माघ ८ पछि के होला भनेर ?  समग्रमा नेपालमा अत्यन्त अन्योलको अवस्था विद्यमान थियो | त्यतिकैमा फेसबुकमा एउटा सन्देस देखा पर्यो जसमा लेखिएको थियो …….

करिब ९००० नेपाली बसोवास गर्ने बेल्जियमका राजनैतिक, जातिय, क्षेत्रीय लगायत अस्तित्वमा रहेका ६० भन्दा बढी संघ संस्थाको संयुक्त भेलाले सर्वसम्मतिबाट नेपालका सबै पार्टीका राष्ट्रिय स्तरका नेताहरुसंग संबिधान नबने सम्म तस्विर नखिचाउने, खिचेका पुराना तस्बिरहरु फेसबुक लगायत सामाजिक संजालमा नराख्ने, सामाजिक संजालमा नेता हरुसंग खिचेर पोस्ट गरिएका सबै तस्विरहरु तुरुन्त हटाएर सांकेतिक दबाब शुरु गर्ने र कुनै पनि नेतालाई विदेश भ्रमणको निम्तो नदिने निर्णय गरियो , र यो महान कार्यलाई समर्थन गर्न संसारभर छरिएर बस्नु भएका सबै गैर-आवासीय नेपाली लगायत सबैमा हार्दिक अपिल गर्दछौं  

एकै छिनमा नै उक्त सन्देस संसारभर फैलियो  सामाजिक संजालबाट | एउटै देशका यति धेरै संस्था त्यसमा पनि युरोपको राजधानी बेल्जियमबाट आएको यस अभियानलाई समर्थन नहुने कुरै भएन| संसार भर फैलिएर बसेका गैर-आवासीय नेपालीहरुले एकै स्वरमा समर्थन गरे एक्यबद्धता जनाए| नेपाली संचार माध्यमहरुलाई यो स्वादिस्ट मसला बन्यो, ठुला मिडियाहरुले एनआरएनको महाअभियान भनेर गज्जव संग प्रचार गरे र सबै नेपाली सु-सुचित भए | देश बिकासको लागि आशा र भरोसाको रुपमा हेरिएको एनआरएनहरुको यस अभियानलाई क्रमस सबै इमान्दार नेपालीहरुले भिन्न भिन्न ढंगले समर्थन गरे अन्तत दबाबमूलक अभियानले यस्तो मूर्त रुप लियो कि सबै इमान्दार कर्मचारी पत्रकार हरुले कलम बन्द गरे, यातायात कलकारखाना शैक्षिक संघ संस्थाहरु बन्द भए |

राजनैतिक नेताहरुलाई जनताहरुले बहिस्कार गरिदिए, हुँदा हुँदा यतिसम्म भयो कि बालुवाटारका भान्छेले चुलो बन्द गरे भने सिंह्दरवारका पहरेले घडी | देश ठप्प भयो नेताहरु निरीह बने, आखिर निस्वार्थ जनदबाबले निहित राजनैतिक स्वार्थीहरुको तेजोबध गरेरै छोड्यो | अन्तत सर्बसम्मतीबाट समयमै जारी भयो  ‘गणतान्त्रिक नेपालको लोकतान्त्रिक संबिधान’, आहा कस्तो रमाइलो सबै जातजाती वर्ग समुदायहरुले आ-आफ्नो पहिचान झल्कने भेषभुषा लगाएर बिजय जुलुश मनाउदै थिए , कसैको अनुहार मलिन थिएन , सबैको अनुहारमा बिजय भाव सहितको उत्साह र उमङ्ग थियो | बिजय उत्सबमा लाखौं सरिक थिए  बाजागाजाको साथमा | नेपथ्यमा मंगल धुन बजिरहेको थियो ,गाउँ बस्तीमा स्वागत गीत | ठुला ठुला स्वागत द्वार र भुँइमा ऒछ्याइएका बडेमानका राता कार्पेटहरुमा लेखिएको थियो ‘शान्ती र संवृद्धि सुस्वागतम !

उत्तर तिरबाट सगरमाथा संहेली सहित मुसुक्क मुस्काइरहेकी थिइ भने दक्षिण तिरबाट बुद्व आफ्ना भिक्षु शिस्यहरुलाई ‘अहिंसा नै धर्म हो’ भन्ने शिक्षा दिदै थिए I मैना र कोइली गीत गाउदै थिए सुरिलो भाकामा भने डाँफे, मुनाल र मयुरहरु नाच्नमा मस्त | आकासबाट ब्रम्हाजी देवगण सहित धर्तीमा बिजय जुलुस तिर हेर्दै आहा यति सानो फुलवारीमा कति धेरै फूल फुलेर सौन्दर्य छरेका भन्दै हर्षले गद् गद् भएर फूल वर्षाईरहेका थिए |

बिबसताले परदेशिएका नेपाल आमाका सन्तानहरु बिदेसमा दुखजिलो गरेर कमाएको गोजिभरी धन र मनभरी मातृभूमिको माँया मनमा लिएर समृद्व नेपालको परिकल्पना गर्दै काठमाडौँ विमानस्थल फर्किनेको ताँती थियो | त्यहि ताँती भित्रको एउटा पात्र म पनि | सोच्दै थिए मनमा, ओहो ! कति भाग्यमानी म आखिर यसपाली संबिधान बन्ने सेतु  हामी भयौ हामी बेल्जियम बासी नेपाली, गैर-आवासिय नेपाली मात्र | बिदेश मै बस्ने भए पनि ९००० नेपालीले निस्वार्थ भावले सुरु गरेको अभियानले संबिधान बन्न सक्दो रहेछ भने ४ करोड नेपाली एकजुट हुने हो भने संबृद्व नेपाल हुन कति नै समय लाग्ला र ? यस्तै यस्तै सोच्दै विमानस्थलबाट बाहिरिए | बाहिर ठुलो भिड गैर-आवासिय नेपालीहरुलाई स्वागत गर्न विभिन्न नारा सहित उत्साहित देखिन्थे | त्यस्तैमा अलि ठुलो एउटा नारा जोड्ले कानमा आएर ठोक्कियो, ‘एन आर एन जिन्दावाद’ !

उक्त आवाजले झल्यास्स ब्युझिएँ | यसो आँखा खोलेको उज्यालो झ्यालको पर्दालाई छेडेर कोठामा आइपुगेको थियो | आहा ! कति मिठो सपना, मनै फुरंग भयो | झट्ट मेरी स्वर्गबासी हजुरआमाले बिहानको सपना साक्षात् हुन्छ् भनेको सम्झे |मनमनै कामना गरेँ भगवान यस्तै भै जावोस | राति अबेरसम्म मनमा यस्तै अनेक तर्कना आएकोले निन्द्रा नलागेर सिरानी पूर्वतिर फर्काएर सुतेकाले यस्तो सपना देखेको निष्कर्ष निकालेँ र आइन्दा देखि सधै सिरानी पूर्वतिर लगाएर सुत्ने संकल्प गरेँ | तर सम्झिएँ आज शुक्रवार यस्तो मिठो सपना कस्तो दिनमा देखेंछु | आङ नै  सिरिङ्ग भयो | यस्तै तम्तमाइलो मन पार्दै नित्यस्नान सकेर हतार हतार दैनिक जिविकाको यान्त्रिक रथ हाँक्न निस्किएँ |