‘आत्महत्या गर्न चाहन्थेँ’: हङकङ पुस्तक विक्रेता

गत वर्ष हराएका हङकङका पुस्तक विक्रेताले चीनमा थुनामा रहँदा आफुले धेरैपल्ट आत्महत्या गर्न चाहेको बताएका छन्।६१ वर्षीय लाम विङ की एउटा प्रसिद्ध किताब पसलका व्यवस्थापक थिए जसले चिनिया नेताका आलोचना गरेका पुस्तकहरु पनि विक्रिमा राखेको थियो।

लाम पाँच पुस्तक विक्रेतामध्ये एक हुन् जसलाई महिनौं चीनमा थुनामा राखिएको थियो। र कैयौंपटक उनीहरु अन्तर्राष्ट्रिय मुख्य समाचार बन्दै आएका थिए। चीनको सम्भान्त कानुन कार्यान्वयन समुहले आफुलाई नियन्त्रणमा लिएको उनको विश्वास छ, जसले पुस्तक लेखक र विक्रेताहरुलाई निशाना बनाएको बीबीसीले जनाएको छ।

ति मध्ये एक गी मीनहाई अझ पनि थुनामा छन्। मंगलबार मुक्त गरिएका लाम कजवे बे बुकस्टोरका मालिक थिए जसलाई सन २००४ मा गी मीनहाईले किनेका थिए। गत अक्टोबारमा गिरफ्तार भएका लामले भने- उनलाई चीनमा पुस्तक पठाएर चिनिया सरकार अपदस्थ गर्न खोजेको आरोप लगाइएको थियो। “उनीहरुले अबैधानिक पुस्तक विक्रि गर्दा के दण्ड हुन्छ कहिल्यै बताएनन्। उनीहरुले कुनै कानुनी परामर्शबिना जेल हालेको पनि हुनसक्छ। म पाँच वर्षका लागि या दश वर्षका लागि जेल परेको हुन सक्छ भन्ने सोच्थेँ। तर मलाइ केही थाहा थिएन।”

उनले गत ज्यानवरी र फेब्रुअरी महिनामा आत्महत्या गर्न चाहेको बताए। उनले भने- “मैले झुण्डिएर मर्न सकिन्छ भनेर माथि हेरेँ। मलाई पेटी दिइएन। तर मसँग सुरुवालहरु थिए जसलाई बटारेर डोरी बनाउन सक्थेँ। अरु कतै झुण्डिन सकिन्छ कि भनेर सोचेँ तर त्यसो गर्ने ठाउँ नै थिएन।” उनलाई भौतिक कारवाही नगरिएको तर महिनौं एक्लै थुनामा राखिएको, प्रश्नहरु सोधिएको र मानसिक यातना दिइएको उनले बताए।

उनलाई चिनिया शहर शेनजेन भ्रमणमा जाँदा गिरफ्तार गरिएको थियो। उनले भने उनको आँखामा पट्टी बाँधेर पूर्वी शहर नीङबो लगियो जहाँ उनलाई मार्च महिनासम्म राखियो। मार्चमा उनका तीन सहकर्मीलाई रिहा गरियो र उनीहरु हङकङ फर्के।

त्यसपछि उनलाई ग्वाङडोङ प्रान्तमा सारियो जहाँ उनलाई केहि स्वतन्त्रता दिइएको थियो। उनलाई चीनमा पुस्तक मगाउनेहरुको नामहरु भएको हार्ड डिस्क फेला पार्ने शर्त राखेर मंगलबार मुक्त गरिएको थियो।

उनले ति तथ्यांक उनीहरुलाई नदिने बताए । आफुलाई चीनमा के गरियो भन्नेबारे खुला रुपमा भन्दा कुनै पश्चाताप नभएको उनले बताए।

केहीले चिनिया राष्ट्रपति सी जिनपीङको निजि मामिलाबारे छापिएको पुस्तकका कारण उक्त गिरफ्तारीहरु भएको विश्वास गर्छन्। लाम त्यसबारे निश्चित छैनन्। तर उनी भन्छन् उनी एउटा अनौपचारिक कानुन कार्यान्वयन गर्ने विभिन्न एजेन्सी सम्मिलित समुहको नियन्त्रणमा थिए जुन बेइजिङका बरिष्ठ नेताहरुले मात्र सञ्चालन गर्न सक्छन्।