आङसाङ सुकीसहित काठमाडौँमा ‘प्रजातान्त्रिक समाजवादको भविष्य’ बारे विमर्श

विपी चिन्तन प्रतिष्ठानको आयोजनामा प्रजातान्त्रिक समाजवादको भविष्य विषयक अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि यहाँ सुरु भएको छ। नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवम् प्रजातान्त्रिक आन्दोलनका योद्धा जननायक विपी कोइरालाको जन्म शताब्दिका अवसरमा आयोजित सो अन्तर्राष्ट्रिय समाजवादी सम्मेलनको प्रधानमन्त्री सुशील कोइरालाले एक समारोहका बीच उद्घाटन गर्नुभयो ।

Democratic socilism conferenceसो कार्यक्रममा म्यान्माकी प्रजातन्त्रवादी नेत्री तथा नोवेल शान्ति पुरस्कार विजेता आङसाङ सुकीले ‘प्रजातान्त्रिक समाजवादको भविष्य’ विषयमा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्नुभएको थियो ।

प्रधानमन्त्री कोइरालासहित सोसलिस्ट इन्टरनेसनलका महासचिव लुइस आयला, नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनाल र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले स्वतन्त्रता, प्रजातन्त्र र प्रजातान्त्रिक समाजवादको भविष्यका विविध पक्षका बारेमा आ–आफनो धारणा राख्नुभएको थियो ।

सो सम्मेलनमा बेल्जियम, जर्मन, चिली तथा सार्कसहित २५ देशका प्रजातान्त्रिक समाजवादका अगुवा एवम् चिन्तक गरी १५० जनाको सहभागिता रहेको छ ।

प्रजातान्त्रिक समाजवादको भविष्यका विषयमा छलफल हुने सो सम्मेलन दुई दिनसम्म चल्ने आयोजक विपी चिन्तन प्रतिष्ठानका अध्यक्ष हरिबोल भट्टराईले बताउनुभयो ।

कार्यक्रममा जवाहरलाल नेहरू विश्वविद्यालयका प्राध्यापक आनन्दकुमार, जर्मन प्राध्यापक थोमस मायर, बेल्जियमका प्राध्यापक डा जुलियन भोल, भारतीय नेताहरू डिपी त्रिपाठी, सुरेन्द्र भदौरियासहित नेपालका पनि समाजवादी चिन्तकहरूको सहभागिता रहेको छ ।

सम्मेलनमा सहभागी विभिन्न देशका प्रजातान्त्रिक समाजवादका अगुवा एवम् चिन्तकहरूले कार्यपत्र प्रस्तुत गर्नु हुनेछ । नेपालका तर्फबाट प्रा डा जयराज आचार्यले ‘प्रजातान्त्रिक समाजवादको भविष्य’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुहुने छ ।

विपी सच्चा प्रजातन्त्रवादी र दुरदर्शी नेताः राष्ट्रपति
राष्ट्रपति डा रामवरण यादवले विपी कोइराला एउटा सच्चा प्रजातन्त्रवादी र दूरदर्शी नेता भएको बताउनुभएको छ ।

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवम् जननायक विपी कोइरालाको जन्म शताब्दिका अवसरमा आजदेखि राजधानीमा आयोजित प्रजातान्त्रिक समाजवादको भविष्य विषयक दुईदिने अन्तर्राष्ट्रिय सम्मेलनलाई दिनुभएको शुभकामना सन्देशमा राष्ट्रपति डा यादवले सो धारणा व्यक्त गर्नुभएको हो ।

“विपीले आफ्नो राजनीतिक जीवनकालभरि नै राष्ट्र, राष्ट्रियता र समाजवादलाई मार्गनिर्देशक सिद्धान्तका रूपमा अवलम्बन गर्नुभएको थियो, विपी बाँचुन्जेल नेपालको राजनीति उहाँकै वरिपरि घुमेको यथार्थसँग हामी परिचित नै छौँ” राष्ट्रपति डा यादवले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।

राष्ट्रपति डा यादवले विपीले राजनीतिका अतिरिक्त नेपाली समाज र साहित्यको विकास एवम् विस्तारमा पनि उत्तिकै योगदान पुर्याउनुभएकामा जोड दिँदै उहाँ नेपालको एक युगपुरुष नै हुनुभएको चर्चा गर्नुभएको छ ।

राष्ट्रपति डा यादवले बदलिँदो विश्व परिवेशमा समाजवादको औचित्य र सान्दर्भिकता तथा यसले सामना गर्नुपरेका चुनौती सम्बन्धमा सम्मेलनमा गम्भीर छलफल हुने र समाजवादका मूल्य मान्यताको समयसापेक्ष विश्लेषण हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले सो सम्मेलनको पूर्ण सफलताको कामना गर्नुभएको छ ।