आइफेल टावर अमेरिकी झण्डाको रङ्गले रङ्ग्याइने

अमेरिकाको ओल्र्याण्डोमा भएको हत्याकाण्डको विरोध तथा अमेरिकी नागरिकप्रति ऐक्यवद्धता जनाउन सोमबार राति Eiffel_Towerफ्रान्सको राजधानी पेरिसमा रहेको आइफेल टाउरमा अमेरिकी झण्डाको रङ्गमा रङ्ग्याइने भएको छ ।

सोमबार साँझ अमेरिकाको झण्डाको रङ्ग रातो, सेतो र नीले रङ्गले आइफेल टाउरलाई उज्यालो पारिने भएको पेरिसबाट प्राप्त समाचारमा जनाइएको छ ।

पेरिस नगरले सोमबार सो कार्यक्रम राखेको विज्ञप्तिमार्फत जानकारी दिएको समाचारमा जनाइएको छ ।
त्यसैगरी पेरिस नगरको हलमा पनि फ्रान्सेली झण्डा र त्यसको साथमा समलिङ्गी समुदायहरुको रेन्बो झण्डा फहराइने भएको बताइएको छ ।

पेरिस नगरका नगरप्रमुख आन्नी हिदाल्गोले भने  ‘अमेरिकामा भएको सो नरसंहारपछि अमेरिकी नागरिकहरुप्रति ऐक्यबद्धता जनाउनुको साथै उनीहरुप्रति सान्त्वना प्रदान गर्न यो कार्यक्रम राखिएको हो ।’

संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यको ओल्र्याण्डो सहरमा अवस्थित रात्रि क्लबमा गोली चलाएर एक व्यक्तिले कम्तीमा पनि ५० जनाको हत्या गरेको थियो ।

आइतबारको सो घटनाको विश्वव्यापी रुपमा निन्दा भएको छ । साथै विश्वका नागरिकले अमेरिकीलाई समवेदना पनि पठाएका छन् ।

सो रात्रि क्लबमा एक जना सशस्त्र बन्दुकधारीले आइतबार गोली चलाउदा कम्तीमा पनि ५० जनाको मृत्यु भएको थियो । अरु दर्जनौँ घाइते भएका छन् । घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । रासस÷एएफपी