आइएसद्वारा पहिलोपटक ‘ड्रोन हमला’

इस्लामिक स्टेट समूहका लडाकुले उत्तरी इराकमा विस्फोटक पदार्थ बोकेको ड्रोन अर्थात चालकरहित विमानको प्रयोग गरेर खतरनाक आक्रमण गरेको प्रकाशमा आएको छ।

आफ्ना दुईजना सैनिक मारिएको र दुईजना फ्रान्सेली सैनिक घाइते भएको कुर्द अधिकारीले पुष्टि गरेका छन्।

उक्त विमान दुर्घटना भएपछि ती सैनिक विमान नजिकै गएका थिए र उनीहरुले छोएपछि विमान विस्फोट भएको थियो।

चालकरहित विमानको आक्रमणले इस्लामिक स्टेटविरुद्ध लडिरहेका दुईजना कुर्द पेशमर्गा लडाकुहरुको ज्यान लिएको छ र दुईजना फ्रान्सेली सैनिकलाई घाइते बनाएको छ।

एकजना कुर्द लडाकुले रोयटर्स समाचार संस्थालाई बताएअनुसार दुर्घटना भएको उक्त विमानलाई ती पेशमर्गा लडाकुले भूँइबाट उठाउन खोज्दा विमान विस्फोट भएको थियो।

उक्त घटना गत अक्टोबर महिनाको २ तारिखमा आइएस नियन्त्रित मोसुल शहरमा भएको थियो।

आइएसका लडाकुले विगतमा कम्तीमा दुईपटक त्यस्तो विमान प्रयोग गरेर आक्रमण गर्ने प्रयास गरेको बताइएको छ।

 REUTERS

आइएसका लडाकुले सूचना संकलनका लागि सानो रिमोट कन्ट्रोलले चल्ने विमानहरुको धेरै प्रयोग गर्ने गर्दछन्।

तर त्यस्तो विमानको प्रयोग गरेर उनीहरुले प्राणघातक आक्रमण गरेको यो पहिलोपटक भएको संवाददाताहरु बताउँछन्।

प्रतिक्रियास्वरुप अमेरिकी नेतृत्वको गठबन्धनका सेना र इराकका सरकारी पक्षका सेनालाई कुनै पनि सानो विमानलाई सम्भावित बमका रुपमा हेर्ने चेतावनी दिईएको न्यूयोर्क टाइम्सले बताएको छ।

तर त्यस्ता विमानलाई निःशस्त्र बनाउने उपकरण भने कमै सैनिकसँग छ।

फ्रान्सेली पत्रिका ले मण्डले १० दिनअघि भएको आक्रमणमा प्रयोग गरिएको उक्त विमानको उडान अवरुद्ध गरिएको र दुर्घटना भएपछि सैनिक नजिकै विमान विस्फोट भएको खबर प्रकाशति गरेको थियो।

बमलाई रिमोट कन्ट्रोल प्रयोग गरेर विस्फोट गरिएको हो वा विस्फोट हुने समय पूर्वनिर्धारित थियो त्यो स्पष्ट भइसकेको छैन।

बुधबार कुर्दिस्तान क्षेत्रका रक्षामन्त्री जब्बार अल-यावरले दुईजनाको मृत्यु भएको पुष्टि गर्दै घाइते भएका फ्रान्सेली सेनाले त्यो समयमा पेशमर्गालाई तालिम दिइरहेको बताए।

ती दुई सैनिकलाई तत्कालै फ्रान्स लगिएको र एकजना जीवनमरणको दोसाँधमा रहेको ले मण्डले बताएको छ।

फ्रान्सेली सरकारले शुरुमा त्यो घटनामाथि टिप्पणी गर्न अस्वीकार गरेको थियो तर एकजना प्रवक्ताले फ्रान्सेली विशेष फौज घाइते भएको बुधबार पुष्टि गरेका छन्।

फ्रान्सले आइएसविरुद्धको गठबन्धन अन्तर्गत करिब ५०० सैनिक इराक पठाएको छ।

मोसुल शहरलाई कब्जा गर्ने तयारी भइरहँदा उनीहरुले मोसुलमा सैनिकहरुलाई सहायता र तालिम दिइरहेका छन्।

सन् २०१४ मा आइएसको नियन्त्रणमा पुगेको मोसुल शहर र त्यो आइएसको पकड रहेको अन्तिम शहरी क्षेत्र हो।बिबिसी