आइएमई मलेसिया विश्वकै तेश्रो ठूलो रेमिट्यान्स कम्पनी रियासँग मर्ज

आइएमई मलेसिया र विश्वको तेस्रो ठूलो रेमिट्यान्स सेवा प्रदायक कम्पनी रिया मनी ट्रान्सफर मर्ज भएको छ । रिया मनीIMElogo ट्रान्सफर अमेरिकी स्टक एक्सचेञ्ज नस्डाकमा सूचिकृत कम्पनी युरोनेटको सहायक कम्पनी हो । आइएमई मलेसियाका प्रबन्ध निर्देशक हेमराज ढकालले मर्जको पुष्टी गरे । ‘हो, अब रिया र मलेसियाको आइएमईले एकीकृत भएर कारोवार गर्छन्’  उनले  भने। मर्ज गर्दा युरोनेटले आइएमईलाई केही नगद र बाँकी युरोनेटको सेयर दिएको छ।’नस्डाक सूचिकृत कम्पनीमा सेयर लगानी हुनु हाम्रा लागि राम्रो हो’ ढकालले भने।

नस्डाकमा सूचीकृत युरोनेटको बजार पुँजीकरण तीन खर्ब २० अर्ब रुपैयाँ छ। नस्डाकमा यो कम्पनीको सेयर प्रतिकित्ता ६० डलरभन्दा बढीमा कारोवार भैरहेको छ। दुई कम्पनीको एकतापछि आइएमई मलेसिया युरोनेटको सहायक कम्पनी आइएमई (एम) एसडिएन बिएचडीकै रुपमा सञ्चालन हुनेछ । ‘रियामा मलेसियाको आइएमई मात्रै मर्ज भएको हो, आइएमई नेपालको संरचनामा भने कुनै परिवर्तन आएको छैन’ प्रबन्ध निर्देशक ढकालले भने। आइएमईको मर्जसँगै रियालाई रेमिट्यान्स सेवाका लागि महत्वपूर्ण मानिएका  एशिया र मध्यपूर्वी मुलुकमा सहज पहुँच हुनेछ।

त्यसैगरी विश्वको तेस्रो ठूलो रेमिट्यान्स कम्पनी रियासँगको साझेदारीपछि आइएमईको पनि पहुँच विश्वव्यापी हुने, सेवामा विस्तार हुने र नयाँ प्रविधिबाट रेमिट्यान्स भुक्तानी सेवालाई थप विश्वासिलो हुने आइएमईको विश्वास छ। रियाका कारण आइएमईको रेमिट्यान्स भुक्तानी गर्ने क्षमतामा अझ बढी वृद्धि हुने र दुई कम्पनीको एकीकृत कारोवारले बजार विस्तारमा सहयोग पुग्ने आइएमई मलेसियाको भनाइ छ।

रियाको युरोप र अमेरिकी मुलुकमा राम्रो र ठूलो सञ्जाल छ,  ती क्षेत्रमा रहने नेपालीले रियाको सञ्जाललाई प्रयोग गरेर अझ सहज ढंगबाट नेपालमा रेमिट्यान्स पठाउन सक्ने पनि प्रवन्ध निर्देशक ढकालले बताए। रेमिट्यान्स भुक्तानी सेवामा रिया तिव्र सेवा, सुरक्षित भुक्तानी, कम खर्चिलो र विश्वासिलो नाम हो। ‘हाम्रा ग्राहक रियाको दुई लाख ४६ हजार स्थानमा भएको वृहत सञ्जालबाट लाभान्वित हुनेछन्’, आइएमई मलेसियाका प्रवन्ध निर्देशक ढकालले भने ‘युरोनेटको बलियो वित्तीय अवस्था र संयुक्त टिमले रेमिट्यान्स क्षेत्रमा आइएमईको वृद्धिलाई मद्दत गर्नेछ।’

सन् २००२ देखि मलेसियामा रेमिट्यान्स सेवा प्रदान गर्दै आएको आइएमई मलेसियाले  विश्वका २५ देशमा रेमिट्यान्स भुक्तानी सेवा दिंदै आएको छ। कम्पनीले मलेसियाबाट नेपाल लगायत इन्डोनेशिया, फिलिपिन्स, बंगलादेश, श्रीलंका, चीन, अष्ट्रेलिया लगायतका  देशमा ७५ हजार भुक्तानी केन्द्रबाट रेमिट्यान्स सेवा दिन्छ। कम्पनीमा पाँच सयभन्दा बढी कर्मचारी कार्यरत छन् । ‘रियासँग मर्ज भए पनि कम्पनीको नाम, सेवा र कर्मचारीमा अहिले कुनै परिवर्तन हुँदैन्, सबै व्यवस्थापन र सञ्चालन हामीले नै गर्ने हो’, प्रवन्ध निर्देशक ढकालले भने ।

युरोनेटको विद्युतीय बैकिंङ प्रणालीमा ठूलो लगानी छ। उनीहरुबाट नयाँ प्रविधि सिकेर रेमिट्यान्स भुक्तानी सेवा अझ भरपर्दो र विश्वसनीय बनाउने आइएमई मलेसियाको योजना छ। युरोप र अमेरिकामा रेमिट्यान्स सेवाको तिव्र विस्तार गरिरहेको रियाका लागि आइएमईसँगको मर्जले एशिया तथा खाडी मुलुकमा नयाँ ढोका खोलेको छ। युरोनेटका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत माइकल जे ब्राउनले तिव्र रेमिट्यान्स भुक्तानी सेवा विस्तार भैरहेको एशियामा आइएमई प्रसिद्ध र विश्वासिलो नाम भएको बताए।

रियालाई रेमिट्यान्सको नयाँ बजारमा प्रवेश गर्न आइएमइले सञ्जाल, व्यापार र व्यवस्थापन दिने उनले जानकारी दिए। ‘आइएमई र रियाको एकताले म निक्कै तरंगित छु’, उनले  भने ।  मलेसियाको केएल प्लाजामा प्रधान कार्यालय रहेको आइएमई मलेसियाका ७० वटा शाखा सञ्जाल छ।

युरोनेट फब्र्सको लगातार दुई वर्षदेखि तिव्र विस्तार भैरहेका विश्वका ५० प्रविधि कम्पनी भित्र परेको छ। कम्पनीले वित्तीय सेवा अन्तर्गतका तीन क्षेत्र विद्युतीय वित्तीय कारोबार (इलेक्ट्रोनिकल फाइनान्सियल ट्रान्जेक्सन) इएफटी, प्रिपेड इपे र मनी ट्रान्सफर हुन्।इएफटी अन्तर्गत कम्पनीले विश्वभर २० हजार ८६३ वटा एटिएम सञ्जाल बनाएको छ। त्यसैगरी ७६ हजार इएफटि पिओएस टर्मिनल छन्। युरोनेटले विश्वका ४७ देशमा डेबिट तथा क्रेडिट कार्ड सेवा प्रदान गर्दै आएको छ। त्यसैगरी कार्ड सफ्टवेयर, प्रिपेड प्रोसेसिङ अन्र्तगत छ लाख ७२ हजार पिओएस टर्मिनल र तीन लाख आठ हजार रिटेलरबाट सेवा प्रदान गर्दै आएको छ ।

युरोनेटमा बैंक अफ अमेरिका, बार्कलेज बैंक लगायतको लगानी पनि छ। उपभोक्तादेखि उपभोक्तासम्म रेमिट्यान्स सेवा पुर्‍याउन सन् १९८७ मा स्थापित रिया मनी ट्रान्सफर कम्पनी वेस्टर्न युनियन र मनिग्रामपछि विश्वको तेस्रो ठूलो रेमिट्यान्स कम्पनी हो। रियाका अमेरिका, बेलायत र न्युनिल्याण्डमा ट्रान्जेक्सन प्रोसेसिङ सेन्टर छन्। कम्पनीले उत्तर अमेरिका, ल्याटिन अमेरिका, युरोप तथा अष्ट्रेलियामा आफ्नै स्टोर तथा अमेरिकामा अनलाइनबाट रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ। कम्पनीले विश्वका १३८ देशमा दुई लाख ४६ हजार स्थानमा एजेन्सी र एजेन्ट मार्फत सेवा दिइरहेको छ ।