अवैधानिक विदेशीमाथि कोरियामा धरपकड

दक्षिण कोरियामा अवैधानिक रुपमा बस्दै आएका विदेशीमाथि व्यापक धरपकड शुरु भएको छ । दक्षिण कोरियामा नेपालीहरूको मुख्य बसोबास रहेको क्षेत्र दोङ्देमुनमा अबैधानिक रुपमा बस्दै आएका एक नेपाली पक्राउ परेको बताईएको छ । उनलाई कोरियन अध्यागमनका कर्मचारीहरूले पक्राउ गरेका हुन् ।
राजधानी सोलभन्दा टाढा रहेको थेगु क्षेत्रबाट एक सय १३ जना अबैधानिक बिदेशी नागरिक पक्राउ परेको बताईएको छ । पक्राउ पर्नेमा ६ जना नेपाली सहित भियतनाम, मंगोलिया र थाईल्याण्डका नागरिक रहेको स्रोतले दावी गरेको छ ।
सोलस्थित नेपाली दूतावासले दोङ्देमुनमा पक्राउ नेपालीबारे पुष्टी गरे पनि थेगुमा पक्राउ परेका भनिएका नेपालीबारे थाहा हुन नसकेको बताएको छ। प्रायः ७ औं, ८ औं र ९ औं महिनामा कोरियन अध्यागमनले अबैधानिक बिदेशी नागरिक माथि कडाई गर्ने गरेको भए पनि यस पटक निकट भबिष्यमा ईन्छनमा आयोजना हुने एसियन ओलम्पिकलाई मध्यनजर गरी कडाई गरेको अनुमान गरिएको छ ।
यसअघि कोरियन अध्यागमनले अबैधानिक बिदेशी माथि कडाई गरिने संकेत गरेको थियो। मानवाधिकारवादीहरूले यस प्रकारको धरपकडको बिरोध गर्ने गरेका छन् । उनीहरूले अबैधानिक बिदेशी नागरिक माथि मानवीय व्यवहार गर्न कोरियाली सरकार समक्ष अपिल गरेका छन् ।