अलैंची खेती फेरि फस्टाउँदै

अलैंची विकास केन्द्र पान्दामले यस वर्ष अलैंचीका पाँच लाख ५० हजार बिरुवा बिक्री गर्‍यो। पाँच रुपैयाँका दरले केन्द्रले २७ लाख रुपैयाँ भन्दा बढीका बिरुवा बिक्री गर्‍यो । जिल्ला कृषि विकास कार्यालय र किसानले बेचेको समेत हिसाब गर्दा इलाममा यस वर्ष डेढ करोडको कारोबार भएको छ।

जिल्ला कृषि विकास कार्यालयले तीन लाख बिरुवा वितरण गरेको छ। कार्यालयले किसानलाई अनुदानमा बिरुवा वितरण गरेको प्राविधिक सहायक उद्धव पौडेलले जानकारी दिए । इलामका दर्जनभन्दा बढी गाउँमा स्थापना भएका नर्सरीले पनि लाखौंका बिरुवा बिक्री गरेको पौडेलले बताए।
अलैंचीयसपटक ४० लाख बिरुवा माग भएको अलैंची विकास केन्द्रले जनाएको छ। गत वर्ष ३० लाख बिरुवाको माग आएको थियो। इलामले मागको ७० प्रतिशतमात्र आपूर्ति गरेको केन्द्रका प्रमुख पदम अधिकारीले बताए।
बिरुवाको माग बढेपछि इलामका किसान नर्सरी स्थापनामा लागे पनि देशभरबाट आउने माग पूरा गर्न नसकेको केन्द्रले जनाएको छ।देउमाई नगरपालिका २ पुङफुङका नरेन्द्रप्रसाद सुवेदीले दुईजना साथीसँग मिलेर करिब १५ रोपनी क्षेत्रमा नर्सरी स्थापना गरेका छन्।
उनले तीन वर्षअघि स्थापना गरेको नर्सरीबाट एक लाख २० हजार बिरुवा गत वर्ष नै बिक्री गरे । यस वर्ष पाँच लाख बिरुवा बिक्री गर्ने उनको लक्ष्य छ । इलाममा निजी नर्सरीले प्रतिबिरुवा १८ रुपैयाँसम्ममा बिक्री गरेका छन्।
इलाममा उत्पादित अलैंचीको बिरुवा दैलेख, सल्यान, रुकुम, रोल्पा, बाग्लुङ, गोरखा, कास्की, चितवन, दाङ, अछामसम्म पुग्ने गरेको केन्द्रका प्रमुख अधिकारीले जानकारी दिए। त्यस्तै पाँचथर, ताप्लेजुङ, तेह्रथुम, सोलुखुम्बु, धनकुटा, भोजपुर, खोटाङ, संखुवासभालगायतका जिल्लामा पनि बिरुवा वितरण भएको छ।
इलाममा जिर्मले, रामसाई, गोल्साई, डम्बरसाई जातका बिरुवाको उत्पादन हुन्छ।नेपालमा पूर्वी पहाडबाट सुरु भएको अलैंची खेती ४१ जिल्लामा फैलिएको छ। अलैंची लगाइएको ९७ प्रतिशत क्षेत्र पूर्वाञ्चलका १२ जिल्लामा र बाँकी तीन प्रतिशत अन्य विकास क्षेत्रमा पर्ने सरकारी तथ्यांकमा उल्लेख छ।
खोटाङ, ओखलढुंगा, उदयपुर, लमजुङ, कास्की, सल्यान, दैलेख, सुर्खेत, अछाम, डोटी, बैतडीसमेत ४० जिल्लामा अलैंची बगान विस्तार भएको अलैंची विकास केन्द्रले जनाएको छ।नेपालमा सबैभन्दा बढी अलैंची खेती हुने ताप्लेजुङमा तीन हजार ६ सय ४७ हेक्टरमा यो खेती लगाइएको छ।
यस्तै संखुवासभा तीन हजार दुई सय ५९ हेक्टरमा र पाँचथरमा करिब १८ सय हेक्टरमा अलैंची खेती हुन्छ। मुलुकभर १४ हजार आठ सय ४७ हेक्टरमा अलैंची खेती हुने गरेको छ। राष्ट्रिय मसलाबाली विकास केन्द्रका अनुसार देशभर वार्षिक पाँच हजार दुई सय २५ मेट्रिक टन अलैंची उत्पादन हुन्छ।
नेपालमा पूर्वी पहाडबाट सुरु भएको अलैंची खेती ४१ जिल्लामा फैलिएको छ । अलैंची लगाइएको ९७ प्रतिशत क्षेत्र पूर्वाञ्चलका १२ जिल्लामा र बाँकी तीन प्रतिशत अन्य विकास क्षेत्रमा पर्छ।