अर्जुनरसिंह केसी देउवा समूहबाट महामन्त्री

 महामन्त्रीको उम्मेदवार बन्नेबारे  पटक–पटक भएको छलफलपछि  टुंगो लागेको बताउदै युवा नेता रामहरी खतिवडाले केहिदिन भित्र घोषणा हुने बताए । संस्थापन पक्षका नेताहरु तान्ने प्रयत्नमा लागेका देउवाले केही समयदेखि केसीसँग छलफल अघि बढाएका थिए ।

कोइराला परिवारबाटै महामन्त्री बनाउने प्रयत्न गरेका देउवाले त्यसका लागि शशांक कोइराला उपयुक्त पात्र भएको देखेका थिए । तर, शंशाक पार्टी सभापति सुशील कोइरालाको निधनपछि संस्थापनपक्षलाई मिलाउनतिरै व्यस्त रहँदा देउवा केसीतिर अघि बढेका हुन् ।यसअघि देउवाले रामशरण महतलाई आफ्नो पक्षमा तान्ने प्रयत्न गरेका थिए ।

महतभन्दा केसी बलियो रहेको देउवा पक्षको मूल्याङ्कनपछि केसीलाई उम्मेदवार बनाउने निष्कर्षमा पुगेको देउवा निकट  नेता बताउँछन् । दुई पटक सभापति पदमा पराजित भइसकेका देउवाले आफूलाई समर्थन जनाउने नेताहरु विमलेन्द्र निधि, पूर्णबहादुर खड्कालगायतलाई मनाएरै केसीलाई निर्वाचित महामन्त्री बनाउने प्रयत्न गरेका हुन् ।

संस्थापन पक्षबाट पदाधिकारीमा धेरैले आकांक्षा देखाइरहेका बेला देउवा अझै केही नेतालाई आफूतिर तान्ने रणनीतिमा छन् भने संस्थापन पक्ष पनि विधान संशोधन गरेर भएपनि आकांक्षीहरुलाई समेट्ने प्रयत्नमा छ ।