अमेरिकी चुनावका ५ विचारणीय कुरा

अमेरिकामा मंगलबार राष्ट्रपतीय चुनावमा कुन कुन राज्य महत्वपूर्ण हुनेछन्, अहिलेसम्म त्यो धेरै हदसम्म थाहा भइसकेको छ। पछिल्ला केही चुनावमा झैं यसवर्षमा फ्लोरिडा, ओहायो र पेन्सिलभेनियामा केन्द्रित हुनेछन् किनकि भावी राष्ट्रपतिको अनुमान गर्नमा यी राज्यको भूमिका प्रमुख हुनेछ। तर ती तीन राज्यले मात्रै पुरै कथा भने भन्न सक्दैनन्। चुनावको नतिजा आउनुअघि यी पाँच कुराहरु विचारणीय छन्।
१. भर्जिनिया
हिलरी क्लिन्टन विजयी हुने अपेक्षा गरिएका केही राज्यमध्ये भर्जिनिया महत्वपूर्ण राज्य हो। क्लिन्टनलाई त्यहाँ कठिनाई भए चुनाव अनपेक्षित रुपमा अघि बढिरहेको थाहा पाउन सकिन्छ र ट्रम्पले अन्यत्र पनि अनपेक्षित जीत हासिल गर्ने अपेक्षा गर्न सकिन्छ। भर्जिनियामा प्रतिस्पर्धा झन् कडा बन्दै गएको मत सर्वेक्षणहरुले देखाएका छन् र दुवै पक्षले त्यो कुरा बुझेका छन्। ट्रम्प आइतबार राति र क्लिन्टनका सहउम्मेदवार टिम केन सोमबार भर्जिनिया पुगेका थिए।
२. न्यू ह्याम्पशर
न्यू ह्याम्पशरका मतदाता शिक्षित छन् र अमेरिकाका सबैभ्दा धनीमध्ये पर्दछन्। त्यहाँको आर्थिक अवस्था पनि राम्रो छ र बेरोजगारी ३ प्रतिशतभन्दा कम छ। अर्थतन्त्र खराब छ भन्ने ट्रम्पको सन्देश त्यहाँका मतदातलाई त्यति रुचिकर छैन। तर त्यहाँका मतदाता स्वतन्त्र पनि छन् र गत फ्रेब्रुअरीमा आदर्शवादी युवा मतदाताहरुले भर्मोण्टका बर्नी स्याण्डर्सलाई डेमोक्रेटिक पार्टीको निर्वाचनमा जिताएका थिए। त्यस्ता मतदाता घरै बसे भने वा ग्रीन पार्टीकी जिल स्टिनजस्ता अन्य उम्मेदवारलाई मत दिए भने त्यहाँ रिपब्लिकनहरुका लागि बाटो खुल्न सक्छ। फ्लोरिडा र पेन्सिलभेनियाको मत गणना हुँदै गर्दा सानो राज्य न्यू ह्याम्पहरको नतीजा चाँडै सार्वजनिक हुनेछ।
३. मतदाता उपस्थिति
पूर्वी तटमा मतदान सकिते समयसम्म सन् २०१६ का मतदाता कस्ता छन् भन्ने कुरा राम्रोसँग थाहा पाउने सकिनेछ। कतिपय राज्यहरुको नतिजा घोषणा हुनुपूर्व नै कुन पक्ष भारी हुनेछ त्यो अनुमान लगाउन सकिनेछ। मत खसालेर निस्किने मतदाताहरुको सर्वेक्षण त्यसबेलासम्म उपलब्ध हुनेछ। सन् २००८ र २०१२ मा श्वेत नागरिकले भन्दा ठूलो प्रतिशतमा अश्वेत नागरिकले मतदान गरेका थिए र अब डेमोक्रेटिक उम्मेदवार ओबामा नहुँदा उनीहरुले त्यसो गर्छन् कि गर्दैनन् त्यो थाहा हुनेछ। रिब्लिकन उम्मेदवार ट्रम्पका महिला विरोधी टिप्पणीपछि प्रायःजसो रिपब्लिकन पार्टीलाई समर्थन गर्ने विवाहित श्वेत महिलाले उनलाई समर्थन गर्छन् कि गर्दैनन् त्यो रुचिपूर्वक हेरिनेछ। त्यसमाथि क्लिन्टन प्रथम महिला उम्मेदवार भएको हुँदा पुरुष र महिलाका मतमा निकै फरक देखिने अनुमान गरिएको छ।
४. पश्चिममा विजय कसरी?
ट्रम्पले न्यू ह्याम्पशर र अन्य पूर्वी राज्य जितेमा वा मध्यका राज्यहरुमा उल्लेखनीय विजय हासिल गरेमा ध्यान पश्चिममा केन्द्रित हुनेछ। त्यतिबेला देशको भविष्य नेभाडा र एरिजोनाको हातमा हुनेछ। मत सर्वेक्षणहरुमा एरिजोनामा क्लिन्टन थोरै अगाडि देखिएकी छन्। दुवै राज्यमा दक्षिण अमेरिकी मूलका मतदाता मत दिन जाने क्रम बढ्दो रहेको बताइएको छ। ट्रम्पले आफ्नो चुनावी अभियानको पहिलो चरणमा मेक्सिको र मेक्सिकोका दसौं लाख गैरकानुनी आप्रवासीको आलोचना गरेका थिए। त्यो तीखो आलोचनाले उनलाई यहाँसम्म ल्याइपुर्यायो तर चुनावमा भने त्यसले उनलाई डुबाउन सक्छ।
५. चुनावी चटक
मंगलबार राति चुनावको नतीजा आउन थाल्दा अमेरिकी संसद्को माथिल्लो सदन ‘सिनेट’ को भाग्य पनि निर्णित हुनेछ र त्यो सदनको नतीजा ह्वाईट हाउसको चुनावी नतीजा जत्तिकै महत्वपूर्ण छ। एक सय सदस्यीय सो सदनमा अहिले डेमोक्रेटहरुको भन्दा रिपब्लिकनहरुको ३ वटा स्थान बढी छ। सिनेटका सबै स्थानको चुनाव हुनेछ। क्लिन्टन निर्वाचित भएमा सर्वोच्च अदालत लगायतका कार्यकारी र न्यायिक निकायमा अधिकारीहरु नियुक्त गर्नका लागि उनलाई डेमोक्रेटिक सिनेटको साथ चाहिनेछ। दुवै सदनमाथि नियन्त्रण भए ८ वर्षदेखिको डेमोक्रेटिक नियन्त्रणका कारण रोकिएका रिपब्लिकन मुद्दाहरु अघि बढाउन ट्रम्पलाई सजिलो हुनेछ। राष्ट्रपतीय चुनाव जित्ने पार्टीका उम्मेदवारलाई त्यस्तो विजयले फाईदा पुर्याउने प्रवृत्ति विगतमा देखिएको तर यस वर्षको चुनाव असामान्य भएको हुनाले त्यस्तो प्रवृत्ति नदोहोरिन सक्छ। ट्रम्पले चुनाव हारे पनि सिनेटको चुनावमा मत सर्वेक्षणमा देशभरी अगाडि देखिएका रिपब्लिकन उम्मेदवारहरुले जित्न सक्छन्। बीबीसी