अमेरिकी अन्तरिक्ष केन्द्रमा नेपाली युवा

Magical_trainनेपालका युवा वैज्ञानिक रिजन कार्कीले विश्वका प्रख्यात वैज्ञानिकहरु जमघट हुने अमेरिकी अन्तरिक्ष केन्द्र (नासा) मा प्रस्तुति दिएर ठूलो संभावनाको ढोका खोलेका छन् ।
कार्कीले विना बिजुली र विना इन्धन पहाडमा रेल कुदाउन सकिने आफ्नो विचार अमेरिकामा आयोजित एक ऊर्जा सम्मेलनमा विश्वका विशिष्ट वैज्ञानिक एवम् प्राध्यापकहरुसामु प्रस्तुत गरेर ‘स्टुडेन्ट एचिभमेन्ट एवार्ड’ हात पार्न सफल भएका थिए।
बीस वर्षको युवावस्थामै विज्ञान र प्रविधिका क्षेत्रमा विशेष चाखका साथ क्रियाशील रही आफ्नो प्रतिभालाई विश्वमञ्चमा प्रस्तुत गर्न सफल युवा अन्वेषक रिजनले हालै  रु.२५ हजार १०१ राशीको समी युवा प्रोत्साहन पुरस्कार–२०६९ पनि प्राप्त गरेका छन्।
रिजनले सन् २००९ मा अमेरिकी अन्तरिक्ष केन्द्र (नासा)बाट १६ वर्षको उमेरमा विद्यार्थी प्रतिभा अन्तर्राष्ट्रिय स्टुडेन्ट अचिभमेन्ट एवार्ड जितेका थिए। उनले नासामा गएर गुरुत्वाकर्षणसम्बन्धी नियमका बारेमा कार्यपत्र प्रस्तुत गरी सम्मेलनमा सहभागी वैज्ञानिकहरुलाई चकित पारेका थिए।
सानोमा छ कक्षामा अध्ययन गर्दा डाक्टर र इन्जिनियर बन्ने सपना सजाएका उनलाई विज्ञानमा न्युटनको सिद्धान्तले आकर्षित बनाएपछि उनी अहिले चर्चित युवा वैज्ञानिक तथा अनुसन्धानकर्ता बन्न सफल भएका छन्।
‘बाउन्सिङ कार’, ‘आरकिज सिम्पल मेसिन’ (कार्कीको नामाकरणबाट बनाइएको मेसिन जसले ठूलो वजनदार चिजलाई धकेल्न मद्दत गर्छ र इनर्जीलाई स्टोर गर्छ) जस्ता अनुसन्धान र अन्वेषणमा संलग्न उनले पानी, माटो, चट्टानजस्ता पदार्थलाई इन्धनका रुपमा प्रयोग गर्नसकिने तर्क राख्दै आएका छन्।
आफ्नै वरिपरिका वस्तुलाई वैज्ञानिक प्रयोगको माध्यमबाट अमेरिका पुगेर स्टुडेन्ट एचिभमेन्ट एवार्ड हात पार्न सफल कार्कीले काठमाडौँको बुढानिलकण्ठ स्कुलबाट विद्यालय तह र बानेश्वरको नोबेल एकेडेमीबाट दश जोड दुई तह उत्तीर्ण गरेका थिए।
कार्की हाल अन्तर्राष्ट्रिय एक नेपाली संस्था र अमेरिकाको वेल्स् माउन्टेण्ड फण्डको सहयोगबाट काठमाडौँ विश्वविद्यालयमा अध्ययनरत छन्। फण्डले चार वर्षका लागि वार्षिक एक हजार २०० अमेरिकी डलर उपलव्ध गराएको छ। भविष्यमा भौतिकशास्त्रमा अनुसन्धान गर्ने सोच राखेका कार्की सो विश्वविद्यालयमा एप्लाइड फिजिक्समा बिएससी पहिलो वर्षमा अध्ययनरत छन्।
विज्ञानमा न्युटनको गतिसम्बन्धी तीन वटा नियम पढेपछि आफू अध्ययनप्रति लगनशील बन्दै गएको बताउने कार्कीले हालसम्म (हिलट्रेन) पहाडी रेल बनाएर सफलतापूर्वक परीक्षण गरिसकेका छन्। उनले पछिल्लो समय गत १० महिनादेखि बाउन्सिक कार (उफ्रेर हिँड्ने कार) को डिजाइनबारे अध्ययन गरिरहेका छन्। राष्ट्रिय स्तरका थुप्रै सम्मान हात पारिसकेका कार्कीको भविष्यमा नेपालमै बसेर केही गरौँ भन्ने सोच रहेको छ।
हुनतः वैज्ञानिक सफलताका लागि विकसित मुलुक नै धाउनुपर्ने नेपाली सोच पछिल्लो समयमा आएर फेसनकै रुपमा अघि बढिरहेको पाइन्छ। प्रतिभावान व्यक्तिले आफ्नो सीप र क्षमतालाई उपलब्ध स्रोत र साधनलाई पछ्याउँदै सही ढङ्गले प्रयोग गर्नसके आफ्नै देशमा पनि केही गर्न सकिँदोरहेछ भन्ने दरिलो उदाहरण बनेका छन्–रिजनजस्ता युवा वैज्ञानिक।
― सिवी अधिकारी