अन्तर्राष्ट्रिय समुदायसँग सहयोगका लागि आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले अघोषित नाकाबन्दीले नेपालमा उत्पन्न गरेको समस्या समाधानका लागि अन्तर्राष्ट्रियkp oli समुदायसँग सहयोग र सहकार्यका लागि आग्रह गर्नुभएको छ ।

संयुक्त राष्ट्रसङ्घलगायत विभिन्न सङ्घसंस्थाद्वारा विश्व अन्तर्राष्ट्रिय मूल्याङ्न सप्ताहको अवसरमा संयुक्त रुपमा आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलनलाई बुधवार  सम्बोधन गर्दै प्रधानमन्त्रीले नाकाबन्दीका कारण नेपालले भोग्नुपरेका समस्याबारे सम्मेलनमा जानकारी गराउनु भयो ।

सम्मेलनमा एक सय देशबाट प्रतिनिधिका रुपमा विकास विज्ञ, विभिन्न मुलुकका सांसदहरु र अन्तर्राष्ट्रियदाताको उपस्थिति रहेकामा उहाँले प्रतिनिधिसमक्ष सहयोगका लागि आग्रह गर्नुभएको हो ।

उहाँले भन्नुभयो, “भूपरिवेष्टित राष्ट्रको हैसियतले नेपालले पाउनुपर्ने अन्तर्राष्ट्रिय अधिकार र पारवहन सुविधाबाट नेपाल अहिले वञ्चित हुनुपरेको अवस्था छ, नाकाबन्दीका कारण ग्यास, पेट्रोलियम पदार्थ, औषधि जस्ता अत्यावश्यक वस्तुको आपूर्तिमा व्यवधान उत्पन्न भएको छ ।”

संविधानसभाको ९२ प्रतिशतभन्दा बढी सभासद्को सहभागितामा नेपालको संविधान जारी भएकाबारे कार्यक्रमका सहभागीलाई जानकारी गराउँदै प्रधानमन्त्रीले संविधानले सबै वर्ग, जाति, क्षेत्र, लिङ्गको अधिकार सुनिश्चित गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “महिलाका लागि राज्यका हरेक निकायमा ३३ प्रतिशत आरक्षण गरिएको छ, पिछडिएको जातजातिका लागि ४५ प्रतिशत आरक्षण सुनिश्चित गरिएको छ ।”

संविधान निर्माणपछि देशलाई आर्थिक विकास, कृषिको आधुनिकीकरण, औद्योगिकीरण, पूर्वाधार निर्माण र जलविद्युत् विकासमा लाग्ने तयारीमा रहे पनि अहिलेको नाकाबन्दीले समस्या उत्पन्न गरेको उहाँको भनाइ थियो ।

कार्यक्रमका सहभागीलाई नेपालको संविधानको अङ्ग्रेजी संस्करण पढ्नका लागि आग्रह गर्दै प्रधानमन्त्रीले यो संविधानले लोकतान्त्रिक मूल्य, मान्यता र जनताको अधिकारको सुनिश्चितता गरेको चर्चा गर्नु भयो ।

उहाँले संविधानको गलत व्याख्या गरेर नेपालको दक्षिणी सीमा क्षेत्रमा केही समस्या उत्पन्न गराइएको बताउँदै संविधानमा केही अपुग भए त्यो थप्न आफू तयार रहेको स्पष्ट पार्नुभयो ।

अहिले भोगेको समस्या समाधान गर्न सार्वभौम मुलुकको हैसियतमा नेपालसक्षम हुने विश्वास दिलाउँदै मुलुक छिट्टै सहज अवस्थामा आउने उहाँको भनाइ थियो ।

उहाँले जारी सम्मेलनले निकाल्ने निश्कर्ष नेपालको विकासका लागि लाभदायी हुने विश्वास व्यक्त गर्दै सम्मेलन सफलताको शुभकामना दिनुभयो ।

कार्यक्रममा सूचना तथा सञ्चारप्रविधि मन्त्री शेरधन राई र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दराज पोखरेलले संयुक्त रुपमा ‘इभालुशन इन द एक्स्ट्रीम’ नामक पुस्तकको लोकार्पण गर्नुभएको थियो ।

कार्यक्रमका सभापति रहनुभएकी ‘समुदायको विकास’ दक्षिण एसियाका अध्यक्ष मल्लिका सामारानायकेले स्वास्थ्य, शिक्षा, ऊर्जा, वातावरण, सामाजिक उत्तरदायित्व, सीप विकासमा विभिन्न मुलुकमा भइरहेको विकास र त्यसको मूल्याङ्कन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो । रासस