५२ वर्षपछि सहिद घोषणा

गणतन्त्रका लागि २०१८ माघ ९ गते जनकपुरमा जानकी माताको दर्शन गर्न पुगेका तत्कालीन राजा महेन्द्रमाथि बम प्रहार गरेकामाफाँसीको सजाय दिई मृत्युदण्ड दिएका दुर्गानन्द झालाई ५२ वर्षपछि फागुन १९ गते सहिद घोषणा गरिएको छ ।

पहिलो जननिर्वाचित सरकारलाई अपदस्थ गरेर राजा महेन्द्रले पञ्चायत लादेको आक्रोशमा बम प्रहारको अपराधमा फाँसीको सजाय पाएका झालाई सरकारले आधिकारिक रुपमा सहिद घोषणा गरेको छ । झाका परिवारसहित सरोकारवालाले समेत झालाई सहिद घोषणा गर्नुपर्ने माग गर्दै आएका थिए । झाको योगदानको संस्मरणमा जनकपुर हरेक वर्ष माघ १५ गते बलिदानी दिवस मनाइन्छ ।

२० वर्षीय झाले निरङ्कुशताको अन्त्यका लागि पछि आफूलाई समर्पित गरेका थिए । बम प्रहार गरेर फरार भएका झालाई भागेकामा छटपटी र पश्चाताप भएको थियो । क्रान्ति गर्ने तर भागी भागी लुक्ने भन्दै उनले तीन महिनापछि गिरफ्तारी दिए ।दक्षिण धनुषाको जटही गाउँमा १९९९ वैशाख १४ गते जन्मेका दुर्गानन्द आफ्ना बाजे पण्डित भोलानाथका तीन छोरामध्ये जेठा देवनारायण झा र सुकुमारीदेवी झाको एकमात्र सुपुत्र थिए ।

नेपालकै इतिहासको प्रथम बमकाण्डको अनुसन्धान गर्न त्यतिखेर ५९ जनालाई समातेर यातना दिइएको थियो । सोही दिन जनकपुर विमानस्थलमा अरविन्दकुमार ठाकुर बमका साथ पक्राउ परिसकेका थिए । बमकाण्डमा निर्दोष मानिसलाई कुटपिट गरी यातना दिएको खबरले दुर्गानन्द तीन महिनापछि जयनगरबाट रेल समातेर गिरफ्तारी दिन जनकपुर फर्कंदा उनलाई परवाह रेल्वे स्टेसनमा प्रहरीले पक्राउ गरेर जलेश्वर कारागार पु¥याएको थियो ।

अर्को दिन परकौली सैनिक छावनीमा ल्याएर हेलिकप्टरबाट काठमाडौँ पु¥याई विशेष अदालतद्वारा २०१९ भदौ १९ गते कुनै सुनुवाइ नै नगरी मृत्युदण्ड दिने फैसला सुनाइएको थियो । पञ्चायतकालीन प्रधानन्यायाधीश भगवतीप्रसाद सिंहको इजलासबाट उक्त फैसला भएको थियो ।
विसं २०१९ फागुन २० मा सर्वोच्च अदालतका न्यायाधीशद्वय दुर्गादत्त उपाध्याय र भैरवप्रसाद उपाध्यायले फैसलालाई सदर ग¥यो र २०२० माघ १५ गते राति सुन्धारास्थित केन्द्रीय कारागारमा गोली हानी उनको हत्या गरियो ।

ब्राह्मणलाई मृत्युदण्ड नदिइने व्यवस्था मुलुकी ऐनमा थियो । ब्राह्मणलाई मृत्युदण्ड नदिइने गरिएकाले नै १९९७ सालमा टङ्कप्रसाद आचार्य र रामहरि शर्मालाई मृत्युदण्ड नदिएर आजीवन कारावास दिइएको थियो । उनीहरु २००७ सालमा मुक्त भए तर २०२० साल भदौ १ मा मुलुकी ऐनमा संशोधन गरी दुर्गानन्दलाई मृत्युदण्ड दिने काम भयो ।

वरिष्ठ पत्रकार राजेश्वर नेपालीका अनुसार २०२० माघ १५ गते मृत्युदण्ड दिनुअघि दुर्गानन्दकी आमा सुकुमारी देवी र अर्धाङ्गिनी काशीदेवीलाई जनकपुरबाटै लिएर गई कारागारको ढोकामा दुर्गानन्दसँग भेट गराइएका थियो । मृत्युदण्डका लागि अबेर राति दुर्गानन्दलाई जेलबाट निकाल्न कसाई पुग्दा उनी ढोकामै थिए । झाले त्यतिबेला आफ्ना साथी ठाकुर तथा दलसिंह थापालाई ‘म लामो यात्रामा गएपनि लोकतन्त्र अवश्य फर्कनेछ’ भनेका थिए जुन अहिले सत्य साबित भएको छ । अमर सहिद दुर्गानन्द समेतका हजारौँ वीर सहिदका बलिदानले देशमा गणतन्त्र संस्थागत भएको छ ।

भारतीय स्वतन्त्रता सङ्ग्रामका वीर भगतसिंह र चन्द्रशेखर आजादको जीवनीबाट प्रभावित भएर उनले लोकतन्त्र हरण गर्ने शासकविरुद्ध १९ वर्ष नपुग्दै जनकपुर बमकाण्ड गराएका थिए । पिताका तीन दाजुभाइका एक मात्र उत्तराधिकारी तथा २०१७ सालको विवाह पञ्चमीको दिन काशीदेवीसँग विवाहबन्धनमा बाँधिएका दुर्गानन्दले माफी नमागेर २१ वर्ष ९ महिनाकै उमेरमा लोकतन्त्रका लागि बलिदान दिए ।
माविमा पढ्दै गर्दा २०१५ सालको प्रथम आमनिर्वाचनमा प्रजातन्त्रको पक्षमा उनी होमिएका थिए । राजा महेन्द्रले २०१७ पुस १ मा संसद् विघटन गरी नेतालाई कारागार हालेको खबर सुन्नासाथ उनी मर्माहत भए । भारतमा अध्ययनरत रहँदा उनको सम्पर्क नेपाली काँग्रेसका नेतासँग भएको थियो । सुरुमा निर्वासित काँग्रेस महोत्तरीका जिल्ला सचिव ज्ञानीशङ्कर गिरीको सम्पर्कमा पुगेका उनको त्यसपछि जयनगरमा निर्वासित क्रान्तिकारी युवानेता तथा विघटित संसद् सदस्य सरोज कोइरालासँग भेट भयो । यसबाट उनको जीवनमा नयाँ मोड आयो । काँग्रेस नेताको योजनाअनुसार २०१८ माघ ८ गते बम लिई रातारात जनकपुर पुगे । भोलिपल्ट माघ ९ गते जानकी चोकमा बम लिएर बसेका दुर्गानन्दले साँझ ५ बजेतिर राजा महेन्द्रको गाडी रोकिनासाथ बम प्रहार गरे । राजा चढेको ल्यान्डरोभर गाडीमाथि फ्याँकिएको बम गाडी प्वाल पार्दै जानकी मन्दिरको पूर्वीद्वारको दक्षिणपट्टिको पर्खालमा फुटेको थियो ।

सहिद घोषणा गर्ने सरकारको निर्णयले धनुषावासी खुसी छन् । यसले झाको सम्मान भए पनि उनका नाममा राज्यले धेरै रचनात्मक काम गर्नुपर्ने नेपाल प्रेस युनियन धनुषाका अध्यक्ष शैलेन्द्र झाको भनाइ छ ।