हिन्दु राष्ट्रको माग गर्दै बानेश्वरमा प्रदर्शन

हिन्दु राष्ट्र घोषणाको माग गर्दै लामो समयदेखी नै आन्दोलन तथा प्रदर्शनहरू भइरहेका छन् । विभिन्न संघ-संस्था लगायत कमल थापा नेतृत्वको राप्रपा नेपाल, कांग्रेस नेता खुमबहादुर खड्का लगायतका समूहले देशमा हिन्दु राज्यको स्थापना हुनुपर्ने माग गर्दै आएका छन् ।

तीनै संघ-संस्था मध्ये संयुक्त खश क्षत्री नेपाल र क्षत्री समाज नेपालले संयुक्त रूपमा हिन्दु राज्यको माग गर्दै आज नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन् । माइतीघर मण्डलाबाट सुरू भएको प्रदर्शन संविधानसभा नजिक नयाँ बानेश्वर पुगेर टुङ्गिएको थियो ।

प्रदर्शनपछि बोल्दै कांग्रेस नेता खुमबहादुर खड्काले हिन्दु राष्ट्रको माग गर्दै नेताहरूलाई दवाव दिन प्रदर्शन गरिएको बताए । उनले हिन्दु राष्ट्रको आफ्नो माग पुरा नभए देशभर आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् ।

प्रदर्शनका क्रममा प्रदर्शनकारीहरुले हिन्दु धर्म झल्काउने केही ब्यानर र तरबार तथा ढालका प्रतिक समेत प्रदर्शन गरेका थिए ।