सरकारको नाममा कारण देखाउ आदेश जारी

नेपाल–भारत सीमास्थित भन्सार नाका बिना अवरोध सञ्चालनको मागसहित दायर रिट निवेदनमा सर्वाेच्च अदालतले supreme-court-nepalसरकारको नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

प्रधानन्यायाधीश कल्याण श्रेष्ठको एकल इजलासले शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र वाणिज्य तथा आपूर्ति मन्त्रालय समेतको नाममा यस्तो कारण देखाउ आदेश जारी गरेको हो । इजलासले अन्तरिम आदेश जारी गर्ने विषयमा भने दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

रिट निवेदकले माग गरेबमोजिम अन्तरिम आदेश जारी गर्ने नगर्ने विषयमा छलफलका लागि निवेदक र विपक्षी बनाइएका नेपाल सरकारका सम्बन्धित निकायलाई बोलाउने आदेश भएको सर्वाेच्चका सहप्रवक्ता तथा उप–रजिष्ट्रार विश्वराज पौडेलले बताउनुभयो ।

त्यस विषयमा कारण देखाउ आदेश जारी भएकोसमेत उहाँले बताउनुभयो ।

भन्सार नाका अवरुद्ध हुँदा स्थानीय जनजीवन कष्टकर बनेकाले बिना अवरोध सञ्चालन गरी वस्तु तथा सामान आवतजावत गर्नु गराउन र त्यसको प्रबन्ध मिलाउन सरकारको नाममा आदेशको मागसहित उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष अधिवक्ता ज्योति बानियाँ र संवैधानिक कानुन व्यवसायी मञ्चका अध्यक्ष अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले असोज २१ गते संयुक्त रिट निवेदन दायर गर्नुभएको थियो ।