Jan 012016
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

बेल्जियमलाई कर्मथलो बनाएर शृजनामा तल्लीन मुक्तककार सौरभ कारञ्जितको प्रथम सँग्रह “छरिएका सौरभ” गत २०१५ अगस्तमा प्रकाशित मुक्तक सँग्रह हो । नेपाल मुक्तक प्रतिष्ठानले प्रकाशित गरेर बेल्जियममा सोही अगस्तमा सम्पन्न प्रथम यूरोपस्तरीय साहित्य सम्मेलनमा सरुभक्त, प्रा. डा. खगेन्द्र प्रसाद लुइटेल, श्रीओम रोदन, जीवा लामिछाने, कृष्ण बजगाई, रमेश अधिकारी लगायत करीव दर्जन साहित्यकारहरूबाट १६ तारिखमा सँयुक्त रुपमा लोकार्पित सँग्रह ७४ पृष्ठमा विभक्त छ । १८१ अर्थपरक रसयुक्त मुक्तकहरूमा स्रष्टाले नैतिक जीवनका आदर्शोन्मुख यथार्थ स्वरहरू अभिव्यक्त गरेका छन यी शीर्षकहरूमा झुण्ड्याएर — जन्मदाता पृ १३—१६, प्रेम विछोड पृ १७—३८, देश(राजनीतिक सँकट) पृ ३९—४८, प्रवासतिर पृ ४९—५०, जीवन जगतका भोगाई पृ ५१—७४ ।

नेपाली काव्यिक यात्राको वर्तमान चरणमा मुक्तक विधा लोकप्रिय बन्दै गएको छ । विविध शीर्षकको ह्याङ्गरमा झुण्डयाउदै स्रष्टाले मुक्तकका विषयबस्तुका आवाजलाई क्रमबद्ध रुपमा नत्थी गरेर विषयगत रसपानलाई अरु सहज तुल्याइदिएका छन् । मुक्तक आफैमा ओजपूर्ण गठनका शव्दावली हुन । अँझ साक्षिप्ततामा विस्तृता बोक्ने यसको मौलिक सामर्थ्यले यसको ख्याति उकालो लागेकोमा दुईमत छैन ।

उल्लेखित सामर्थ्ययुक्त र मीठासपूर्ण सँरचनाले परिपूर्ण छ “छरिएका सौरभ” । मुक्तकका सामान्य अभिव्यक्तिभन्दा एक तह गहिराई छिचोलेर आत्मपरक शैलीमा भावनाको उदघोषण गर्नु मुक्तककारको मुलभूत प्रवृत्ति हो । सँग्रहमा जीवन जगतका मानवीय आचरण र जैविक परिकल्पनाका भावुक स्फुरणहरूलाई शव्द मात्रै दिएका छैनन् भौतिक विविधतालाई पनि शाव्दिक प्रक्षेपण गरेका छन् । त्यसैले कृतिभित्र प्रवेश गरेपछि ४ हरफहरूभित्रका डुबानमा पर्छन पाठकहरू ।

प्रियजनहरूसँगको छुटेको समयको सामीप्यता अनुभूत गराउन आत्मीय भावावेग उराल्दै जन्मदाताको स्मरण गर्छन उनी —

“कोही अनि केही पनि हुन्न धरतीमा आमा समानsaurabha
आमाको सामु केही हुदै हैन मन्दिर र भगवान
ईश्वर सबै ठाउँमा पुग्न नसकेरै आमा बनाए
आमा नै त हुन यस धरतीमा ईश्वरको पहिचान ।” पृ १ ।

प्रातःस्मरणीयहरूसँग यहाँभन्दा आदर सायद नहुन पनि सक्छ । पूर्वीय दार्शनिक आदर्शवादी चरित्रबाट कृतिको उठान भएको छ । कोरा भावुकतामा नरोकिई समयका यथार्थवादी अभिव्यक्तिसँगै जैविक चक्रको स्वर्णवयका शृङ्गारिक आदर्श र रतिरागात्मक यौवनाहरूलाई सँकलन गर्दै समर्पित हुन्छन् —

“जलेको यो मुटुको ताप दिन्न तिमीलाई म
पुण्य नै दिन्छु अँझै पाप दिन्न तिमीलाई म
तिरस्कृत भएर जिउँदो लाशसरी भएपनि
बर्वाद बनाए’नि श्राप दिन्न तिमीलाई म ।” पृ १९ ।

सँगै उव्देलित भएर आउँछन आन्तरिक वेदनाहरूमा र शव्दहरू बगाउँछन आँशुमा —

“बाध्यता हो किरहर तिम्रो आफनो मन सारी गयौ
अलपत्र मलाई वारि छाडी आफू भने पारी गयौ
मेरो यो जिन्दगीको मायाले गर्दा नै होला सायद
सास अनि आशका साथ मलाई ज्युँदै मारी गयौ ।” पृ २४ ।

मुक्तकका रसिकताका यिनी असली अनुयायी लाग्छन त्यसैले त किशोरवयका रुमानी याद र कल्पनाका उडानहरूलाई सार्थक तुल्याउन कुशलतापूर्वक शृङ्गारिक प्रस्तावनाको आविष्कार गरेर यत्रतत्र सुस्त सपनाहरूको पुनरुत्थान गरेका छन पृष्ठ २५, ३२हरूमा ।

मुक्त लयमा स्वच्छन्द उडान, शिल्पगत गेयत्मकता, आम नेपाली जनजीवनका साँस्कृतिक परिधान, रीतिथितिलाई पनि छोपेर कताकता लोकलयमा दौडदै बेथिति माथि चावुक प्रहार, उन्नत प्राकृत चेतसँगै समृद्ध समाज निर्माणका आकाँक्षामात्रै झल्किदैनन् वर्गीय चेतका अभिष्टी पनि सावित गरेका छन् आफूलाई । आधुनिक मुक्तकका शास्वत सिद्धान्तहरूलाई समातेर दार्शनिक सचेतक भएका छन् । रोमाण्टिक प्रस्तावनाहरूमा अँझ बढी सफल शिल्पी साध्य गर्दै —

“चाहे होस शहरमा या होस कहीँ कतै गाउँमा
चाहे होस नजिकै या कहीँ टाढा कुनै ठाउँमा
स्मृतिमै रहन्छन सधैं मायाका तस्विरहरू
खिचिन्छन जुन मायालुसँग मायाकै नाउँमा ।” पृ ३२ ।

उपरोक्त हरफहरू निर्माण गर्छन । सँगसँगै प्रेयसीसँगका गुनासा, हात गाँसेर विचरण गर्ने रहर र रँगीन जीवनका प्रवक्ताका रुपमा उभ्याएका छन् ।

कर्मथलो प्रवास भएपनि राष्ट्रिय सम्वृद्धिको इच्छा, राष्ट्रियताप्रतिको चिन्ता यत्रतत्र भेटन सकिन्छ जहाँ राष्ट्रिय उन्नतिको पावन अभिलाषा निहित छ —

“नजीकबाट अँगालेरै हिमाल हेर्न पाइयोस्
मनोरम नदी तलाउ र ताल हेर्न पाइयोस
एक दशकपछि आयौं आफनै मातृभूमि पुग्दा
सुन्दर शान्त र समृद्ध नेपाल हेर्न पाइयोस ।” पृ ३९ ।

सँगसँगै वर्तमानको भद्रगोल र अन्योलपूर्ण राजनैतिक र शासकीय शैलीप्रति तीव्र कटाक्ष भेटिन्छ पृष्ठ ३९ मै । आम नेपाली झै स्रष्टाले पनि सँविधानको बिलम्वताप्रति चिन्ताक्रोस व्यक्त गरेका छन पृ. ४०मा । भलै अहिले सँविधान जारी भएको किन नहोस । राजनीति पीडित नेपाली जनको दुःखपीडाले नछुने त सवालै भएन यो सवालमा उनको गभ्मीर आत्मापीडा झल्किएको छ पृ ४१मा । यहाँ नेपालीजनको आँखा उघार्ने अभीष्ट भेटिन्छ उनको ।
विनाशकारी वैशाखे भूकम्पको क्षति र पीडाप्रति कारुणिक लयमा वेदना रोएका छन र प्रवासी पीडालाई कल्पना र यथार्थवीचको तादम्यहीनतालाई यसरी —

“आफन्तहरू सोच्दाहुन नोटका बिट्टाहरू छाप्दैछु म
दौतरी साथीहरूभन्दा हुन सुखको घाम ताप्दैछु म
आफनो देश छोडेपछि बल्ल जीवन बुझदैछु अहिले
किन आएँ परदेश भनी आफैलाई सराप्दैछु म ।” पृ ४९ ।

सम्बोधन गर्न विर्सेका छैनन् ।

सँग्रह अब मध्यबाट उत्तराद्र्धको उकालो लाग्दा यथार्थ लयहरूमा उर्लिएजस्तो आभास हुन्छ र जहाँ जीवनको रेलले बोकेर हिडेको छ जीवन जीउनका लागि विदेशिनु पर्ने सामाजिक रोग बोकेका डिव्वा र यात्रीहरू पृ ५० । यहाँ उनी सरहदपारे प्रवक्ताजस्तै भेटिन्छन ।

काव्यसौन्दर्यका सन्दर्भमा यो लोक आफैमा सुन्दरताको प्रतिक हो र यही चेतपूर्ण भावना मुक्तकमा उपस्थित भएर उनको आदर्श स्थापित हुन्छ ।

“आ आफनो कर्तव्य सबैले गर्नैपर्छ
स्वजनको लागि अघि सर्नैपर्छ
आज सुदिन भए’नि दम्भ नगरौं
सर्वस्व नाँगिएर एकदिन मर्नैपर्छ ।” पृ ५१ ।

उपदेशको राग भट्टाउदै मानव जीवनका खराव प्रवृत्तिहरूको उठान पृ ५४, आफनै सँस्कार र रीतिथितिका अनुशासित शिष्य झै पूर्वीय वैदिक चिन्तनशिलता पृ ५६, जीवनका सान्दर्भिकता केलाउने कलाकारका पात्रझै पृ ६६ र साह्रै सरल मिजासका लाग्ने स्रष्टा कतै भने कठोर र निर्मम प्रहारमा उत्रिएका पनि भेटिन्छन —

“थुपारेर केवल धन आफूलाई धनवान नठान
तोडेर असहाय मन आफूलाई बलवान नठान
मर्नैपर्छ तिमीले पनि अजम्वरी ठानी नगर दम्भ
बाँचेर मान्छेकै जीवन आफूलाई भगवान नठान ।” पृ ७३ ।

मुक्तकका अन्तिम हरफहरूमा लोकहितको पक्षमा बक्तव्य जारी गर्दै सँग्रहलाई बिश्राम दिन्छन । पृ ७४का अन्तिम हरफहरू ।

समग्रमा जीवन जगतका तमाम अध्यायहरूलाई एकमुष्ठ सँकलन गरेर आदर्शोन्मुख यथार्थ र व्दन्दात्मक यथार्थको नीतिपत्र जारी गरेका छन, मुक्तककारले । कृति आत्मीकरणको अपेक्षा रहने प्रमुख तत्वहरू सरलता, सरसता र सुबोध्यताले कृतिको गरिमा बृद्धि गरेको छ । परिणामतः भावकत्व व्यापार गर्दै साधारीकरण गरेर पाठक मुक्तककारमा गाभिन्छ ।

परिस्कृत अभिव्यक्ति, मौलिक भाषा शैली, बस्तुपरक विषय चयन, बौद्धिकता र तर्कपूर्ण उपस्थापन, नीजी आँकाक्षा, सँरचनागत विविधता, भावुकता, बेजोड काल्पनिकता र सक्रिय गति कृतिका अतिरिक्त बैशिष्टय हुन ।

निष्कर्ष — यथार्थीय धरातलमा जीवन जगत र आत्माका सँवेदन र प्रेमील आवाजहरूलाई शाव्दिक जीवन्तता प्रदान गरिएको सँग्रह हो “छरिएका सौरभ” ।

वर्तमान काव्यिक आन्दोलनमा नारावादी, वर्गवादी, पहिचानवादी, वैचारिकह प्रवक्तावादभन्दा सम्हालिएर मध्यमार्ग हुदै मानवीय स्वरमा खरो उत्रिएका छन् मुक्तककार । युगचेत र वर्तमानको परिवेशलाई चित्रण गर्न सँग्रह सक्षम छ । व्याकरणीय अनुशासन र शुद्धाशुद्धिमा त्रुटीहरू भेटिन्छन । अर्को सँस्करणमा सच्चिएर आउने नै छ । विज्ञहरूबाट समालोचनाका आधारभूत पक्षसँगै चिरफारपछि कृतिले हासिल गर्ने स्थान आफनै प्रकारको रहला । तर आम पाठकको ठम्याईमा कृति पठनीय सँग्रहको रुपमा स्वीकार्य होला भन्नु अतिशयोक्ति नहोला ।

-दीपेन्द्र के.सी.

 Leave a Reply

(required)

(required)


*