Nov 232017
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

– पंचम अधिकारी

मुलुकमा चुनावको हावा लागेको छ र मेरो भाइ भने ‘राइट टु रिजेक्ट’ मागिरहेको छ । ऊ भन्छ- ‘नत्र भोट हाल्न बुथमा पनि जान्न ।’

‘चुनावमा भोट नहालेर के गर्छस् त ?’ मैले सोधेँ ।

‘केही गतिलो काम’, उसले भन्यो । ‘जस्तो कि, घरमा बसेर गीत सुने भो वा हजुरआमाको कपाल रंगाइदिए भो । केही उपती त हुन्छ । भोट हालेर के हुन्छ !’

उसको तर्क आफ्नो ठाउँमा नराम्रो होइन । तर, आवधिक निर्वाचन भनेको लोकतन्त्रको इन्जिन हो । उसो त निर्वाचनको महत्त्व बारेमा एक ठेली किताब नै लेख्न सकिन्छ । तर, यहाँ उसलाई दुई मिनेटमा कुरा बुझाउनुपर्ने थियो । मैले केही भन्न खोजेँ तर शब्दहरू भित्रभित्रै गाँठो परेजस्तो भयो ।

मान्छेहरू भन्छन् पैसाले खुसी किन्न सक्तैन । तर, नेपालमा पैसाले भोट चाहीँ किन्न सक्छ । माओवादी नेता गोपाल किरातीले भने- ‘मैले दुइटा किड्नी बेचे पनि एक करोड आउँदैन । त्यति नभए चुनाव जितिँदैन । त्यसैले मैले लड्न चाहिन ।’

उनले मसला थपेर भनेका हुनन् त ? सायद नहोला । नेविसंघका संस्थापक अध्यक्ष विपिन कोइरालाले भने- ‘मैले मागेको भए टिकट त पाउँथे, तर चुनाव जित्ने पैसा मसँग छैन ।’

पीडादायी कुरा, हैन त ?

हो । हाय नियति !

तर, जे भए पनि चुनाव हाम्रै अगाडि छ र कुरा गरौं – हुनेवाला चुनावकै ।

अब, भोटकै पनि आफ्नै मर्म छ । ठमेलमा जति आतंक मच्चाए पनि मनाङमा दीपक मनाङेले धेरै मान्छे आफ्ना बनाएका छन् रे ! एक ठाउँमा लुटेर अर्को ठाउँमा त्यही लुटको एक अंशले ‘समाज सेवा’ गरेर चुनाव जित्न खोज्ने नौटंकी नर्तक धेरै छन् यसपटक । तर, अहिले यहाँ चर्चा गर्न खोजेको उमेदवारको होइन, भोटरको हो ।

भोटर पनि आफ्नै प्रकार छन् । नाकको प्रकार हेरेर भोट हाल्ने छन् यहाँ । त्यो लठ्ठक र तपाईं खग्गु बुद्धिजीवीको भोट गणना हुने त बराबरै हो । लोकतन्त्रको जति बखान गरे पनि असलियत त्यही हो ।

तर, तर्क चाहिँ के पनि गर्न सकिन्छ भने समाज वा देशमा विविधतामा एकता हुन्छ । त्यसैले समाजका विविध अंगहरू, जस्तै – समाजसेवी, कर्मचारी, प्रहरी, गुन्डा, डाक्टर, ठेकेदारको प्रतिनिधित्व हुने गरी संसद्को संरचना बन्नु समावेशी राजनीतिको झलक हो । जाबो चटनी त तरह तरहका हुन्छन् – टमाटरको चटनी, पुदिनाको चटनी, निबुआको चटनी, अमलाको चटनी, धनियाको चटनी, अरू तपाईं नै थप्नुस् । भनेपछि, थरीथरी स्वादका (वा पेसाका भनौ) राजनीतिककर्मी हुनु जायजमात्र होइन आवश्यक पनि हो । अनि थरीथरी रंगका राजनीतिक पार्टी बन्नु पनि उत्तिकै स्वाभाविक हो । बरू, यो कम्युनिस्ट गठबन्धन र लोकतान्त्रिक गठबन्धन भनेर दुईटा कित्तामा सीमित गर्नु चाहिँ लोकतन्त्र कमजोर बनाउने काम हो भन्न सकिन्छ । त्यसरी एमाले र माओवादीलाई एउटै नाम ‘वाम’ दिने हो भने नेताको नाम पनि एकैथरी हुनुपर्र्थ्यो। वामप्रसाद ओली, वामकमल दाहाल ‘वामचण्ड’, वामकुमार नेपाल, वामबहादुर थापा होस् भन्ने आवाज उठ्न सक्छ । त्यस्तै अर्को कित्ताका नेता लोकबहादुर देउवा, लोकचन्द्र पौडेल, लोकशमशेर राणा, डा. लोकराम भट्टराई भनिनेछन् । कति निरस !

अरू जेजे भए पनि भोट हाल्नु चाहीँ लोकतन्त्रको अपरिहार्य तत्त्व हो र मैले मेरो भाइलाई यसबारे कन्भिन्स गर्नु छ । हेर भाइ ! राजनीतिकर्मीहरूलाई तिम्रो भोटको आवश्यकता छ । तिम्रो भोटबिना उनीहरूले माखो मार्न पाउँदैनन् । तिमीले भोट दिएर जिताएपछि मात्र राजदूत, जीएम, प्रहरी प्रमुख, जासुस प्रमुख, भन्सार प्रमुखको नियुक्ति र सरुवाबढुवाको ठेक्कापट्टा हात लाग्छ । त्यो वैधता दिन पनि तिमीले भोट हाल्नुपर्छ ।

भाइको तर्क छ- ‘मैले भोट नहाले पनि अरू त छन् । म चाहिँ आत्मसम्मानका निम्ति भोट हाल्दिन । हाल्नै परे ‘भोट टु रिजेक्ट’ छान्न पाउनु पर्छ ।’

अब यो अरूलाई रिजेक्ट गर्ने भनेको अरू सबै बेठीक, मै ठीक भनेको न हो । अथवा भनौ, आफैँलाई भोट हालेजस्तै हो । हुन त हो, आफैँलाई भोट हाल्दा कम्तीमा पछुतो मान्नुपर्दैन, खेर गयो भनेर निराश भइँदैन । चित्त नबुझे आफैसँग गनगन गर्न पाइयो ।

तर भाइ, अहिले तिमीलाई आफैसँग गनगन गर्ने अधिकार पनि छैन । विनाअधिकारको अधिकार भनेकै मतदानको अधिकार हो । अठार वर्ष पुगेर तिमीले यो नैसर्गिक अधिकार पाएका हौ । (मतलब छैन- बुद्धिमानी होऊ की मूर्ख !) तिमीले नाटक भन वा नौटङ्की, एकथोक गर्नै पर्छ । तिमीले गधा छान वा डङ्की, एउटा छान्नै पर्छ । रूख छान, सूर्य छान वा हँसियाहथौडा छाप- एउटा त छान्नै पर्छ ।

यो छान्ने कुराको प्रसंग आउँदा मलाई बहिनीको याद आउँछ । बाउआमाले एकदिन बहिनीसँग भनेका थिए- ‘तँलाई मन लागेको केटा छान् ।’

मेरी बहिनी साह्रै खुसी थिई त्यो दिन । उसले शब्दमा केही भन्नै परेन, उसको अनुहारको चमकले त्यो बताइरहेको थियो । परम्परागत परिवारमा हुर्केकी मेरी बहिनीलाई बाउआमाले दिएको त्यो स्वतन्त्रता उसका निम्ति क्रान्तिकारी छलाङ थियो ।

त्यही मेसोमा बाउआमाले बिहेबारे पालैपालो केही सुझावहरू पस्के, बहिनीसँग :

बिहे आफ्नै जातकोसँग गर् ।

आफ्नो समुदायभन्दा टाढा नजा ।

आफ्नोभन्दा कमजोर आर्थिक हैसियत नहोस् ।

आफूभन्दा कम पढेको नहोस् ।

उसको परिवारिक इज्जत हाम्रोभन्दा कम नहोस् ।

बाबुआमाका केही सर्त थिए तर आफ्नो भविष्य आफै छान्न पाएँ भनेर फुरफुर थिई बहिनी ।

तर, बैशाख बित्यो र बित्यो मंसिर पनि । अर्को बैशाख आयो । मेरी बहिनीले बिहेयोग्य केटो देखाउन सकिन । ‘आफैँ छान्छेस की हामीले हेर्नुपर्छ ?’ एकदिन आमाले भन्नुभयो ।

त्यसपछि मेरी बहिनी आत्तिन थाली । उसलाई मनपर्ने केटाहरू नभएका होइनन्, थिए । तर, बाबुआमाले दिएको क्याटगोरीभित्र पर्ने कोही थिएन । अनि बल्ल उसले पत्तो पाई उसको छनोटको सीमितता पहिल्यै निर्धारित थियो । अझ खासमा भन्दा कस्तो खाले केटासँग बिहे गर्नुपर्छ भनेर बाउआमाले छानिसकेका थिए । बहिनीलाई सिर्फ मन खेलाउने ठाउँ दिएका थिए । जति मन खेलाएर मच्चिए पनि ऊ थच्चिने ठाउँ त्यही थियो ।

मेरो भाइ भने बहिनीजस्तो सोझो छैन, त्यति सजिलै फकिइहाल्ने । अर्काको चालमा फँस्छु कि भनेर उसले भोट हाल्दिन भनेको छ र हाल्नै परे ‘भोट टु रिजेक्ट’ मागेको छ । उसलाई राम्ररी थाहा छ यो देशमा भोट हाल्नेले होइन गन्नेले जित्छ । तर, कुरो कसले जित्छ भन्ने पनि होइन, लोकतन्त्रको लोकलाज बचाउने हो । यो लोकतन्त्र बचाउन भोट हाल्नैपर्छ र म गम्दैछु, यो ठिटोलाई भोट हाल्न कसरी फकाउने !

 Leave a Reply

(required)

(required)


*