Jun 112013
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

Cover_Pathik_Pravasanयो कहालीलाग्दो अँध्यारो रात थियो । चिसो थियो । त्यसैले आँगनमा दाउरा बालेर आगो ताप्दै गरेका थियौँ । मीठो गफ पनि चलिरहेको थियो । मेरा कुरा सुन्ने चासो, चाख हुन्छ आमामा । मेरा साना–साना कुरामा पनि विशेष चाख राख्नुहुन्छ । रसिला प्रश्न पनि तेस्र्याउनुहुन्छ । आज पनि मोहीले भरिएको गिलास मेरा हातमा राखिदिँदै सहरको जीवनबारे निधिखुदी गर्न थाल्नुभयो । आज भने मैले अरुवेलाभन्दा थप दुई श्रोता पाएको छु, मेरा कुरा चाखपूर्वक सुन्ने । पल्लो गाउँबाट फूपू दिदीका दुई छोरा आएका रहेछन् । म घर फर्कंदैछु भन्ने खबर सुनेर । अरब जाने रहर पालेका फूपू दिदीका छोराहरू सहरमा गएर कसरी सही दलाल समात्ने ? भन्ने कुराको भेउ पाउन आएका रहेछन् । चाँजोपाँजोमा काठमान्डु बस्नको लागि सबैभन्दा नजिकको नाता र सहयोगी मै हुँ । मेरो दाजुको अरबको खबर सुन्न र बुझ्न पनि ती हतारिएका थिए । अलिकति पैसा मेरा बुबाले थपिदिए, मसँगै काठमान्डु जाउँला जस्तो मनसुबा देखिन्थ्यो । त्यसैले होला मैले बोलेका हरेक शब्दको अर्थ केलाएर उनीहरू औधि रुचिले सुनिरहेका थिए ।
त्यसैबखत, आगोको झिल्को मेरो कानैनेरबाट हुर्इंकियो र दुई हात टाढा गएर खस्यो । म तर्सेँ । क्षेप्यास्त्र जस्तो आएको त्यो उज्यालो चिर्पटो सानो रातो अँगार बनेर टिलपिल टिलपिल गर्यो र सेतो खरानीको आवरणमा लुक्यो । म तर्सेको देखेर सबै खितखित हाँसे ।
धेरै अगाडिको एउटा घटना सम्झेँ । शिवरात्रीको दिन थियो । जलिराखेको शिवको धुनीमा ठूला भान्जादाइले पोलेर खान आलु राखेका रहेछन् । एक्कासी पड्क्यो र बमका छिर्का झैं सर्वत्र छरियो । म तर्सिएँ । मेरो चाला देखेर भान्जादाइ बेतोडले हाँसेका थिए ।
कुरा के थियो भने बिस्कुट मागेर मैले भान्जादाइलाई र्याखर्याख्ती पारेको थिएँ । म भाइ भएकाले पाहुर माग्ने मेरो हक सम्झेको थिएँ मैले तर आमाले भन्नुभएको थियो– “भान्जाभान्जी मामाघर आउँदा कोसेली बोक्दैनन् ।”
त्यतिखेर म सानो बच्चा थिएँ दुनियाँको ज्ञान सीमित भएको । “म भाइ हो, मेरो हक छ”, भन्ने सोचमा मैले पाहुरको लत्तो छोडेको थिइन । त्यसैले, सट्टामा आलु पोल्न हालेका थिए उनले । पोलिंदै गरेको आलुलाई लोभी बालकले रसभरी–लालमोहन हेरे झैं घिच्रो तन्काएर हेरिरहेको थिएँ मैले ।
त्यही आलुले मेरो सातो लियो ।
म उनीसँग नाखुश भएँ ।
“बिस्कुट त दाजुले मलाइ पो दिनु भो । आऊ, म तिम्लाई दिउँला,” भनेर दिदीले मलाई चुड्कीमै फकाइन् । म फकिएँ । अनि दिदीले मलाई ‘एक कुट’, ‘दुई कुट’, ‘तीन कुट’ भनेर समाती समाती ढाडमा बिस पटक पुर्याएकी थिइन् – बिस्–कुट भन्दै । त्यसपछि सबै हाँसे, म जिल्ल परेँ । त्यो पुरानो घटनाको स्मरण गरियो सबैले । यसपटक म पनि हाँसे । गफैगफमा रातीको एघार बज्यो । अनि सबै सुत्यौं ।
रातीको सवा एक भएको थियो । पाहुना दाइहरू सुतेको कोठीको ढोकामा कसैले लात्तीले हानेको सुनियो । त्यसपछि मूल ढोकामा पनि हान्न थाले । आमाले ढोका खोल्नुभयो । उनीहरूले नामै किटेर बुबालाई खोजे । बुबा ढोकामा हाजिर हुनुभयो । म पनि बुबाको पछिपछि पुगें । ढोकामा पुग्दा त पाहुना दाइहरूलाई उनीहरूले पाता फर्काएर बाँधिसकेका थिए ।
मैले आँगन वरिपरिदेखि बारीसम्म एक दर्जन भन्दा बढी मान्छेहरूलाई सैनिक पोशाकमा देखें । सबैले बन्दुक भिरेका थिए । ३–४ जनाले घर खानतलासी गरे ।
आमाले आफ्ना भान्जाहरूको नाता र थर ठेगाना विस्तार लगाउँदै भन्नुभयो– “उहाँहरू पाहुना हो ।”
त्यो सुनेर एउटा अग्लो चाहिँले भन्यो– “हामी यस्तै पाहुना खोज्न आ’को ।”
उसको अनुहारको बान्की जब्बर रिसाहा देखिन्थ्यो । त्यसको अनुहार त केवल उसकी आमालाई मात्र मन पर्दो हो ।
उसले मतिर झम्ट्यो र भन्यो– “यो पनि पाहुना हो ?”
आमाले ‘यो मेरो कान्छो छोरो हो’ भन्नुभयो तर उसले पत्याएन । मलाई समेत घिसार्यो । पाँच मिनेट जति आमाले सुँक्क सुँक्क गर्दै मेरो नाता प्रमाणित गर्नुभयो, ‘यो मेरै कोखबाट जन्मिएको छोरो हो, काठमान्डु पढ्दै गरेको छ’ भनेर ।
उसले अनिच्छापूर्वक पत्याउने प्रयास गर्यो ।
अर्को जुँगेले बुबालाई केरकार गर्यो– “अचेल भात खान कत्तिको आउँछन् ?”
“मेरामा मात्र होइन । गाउँका सबैकहाँ माओवादी पालैपालो आउँछन्, भात पकाउँछन् ।”, बुबाले रमरम डर घोलिएको स्वरमा भन्नुभयो ।
त्यसपछि जुँगेले मतिर बन्दुकको कुन्दा सोझ्यायो– “त्यो को हो ?” उसको स्वर ब्वाँसोको जस्तो छ ।
बुबाले फटाफट भन्नुभयो– “कान्छो छोरो ।”
“ए,. . . पनि कमरेड नै रैछ”, जुँगेले मलाई क्वाप्पै खाउँला झैं गरी हेर्यो ।
त्यस सैनिकको बन्दुक लत्रिएन ।
मेरा अगाडि त्रासको भुमरी घुमिरह्यो ।
उनीहरूले पाहुना दाजुहरूलाई हिँडाए । आमाले मेरा भान्जाहरू भन्दै रुँदै पछ्याउनुभयो । एउटाले आमालाई घरतिर घचेट्दै भन्यो– “ढोका ला’र सुत् बुढिया ।”
त्यसपछि हामीले छिमेकी हेड सर शर्मा काकाकोमा खबर गयौं । हेड सर गाउँ–समाजका अति महत्वपूर्ण मान्छे हुन् । अथवा, हाम्रो गाउँमा यस्तै सोचिन्थ्यो । “तुरुन्तै केही गर्दैनन् होला । भोली बिहान कुरा बुझ्नुपर्छ”, उहाँले लाचारीसँग भन्नुभयो ।
हामी सबै सुत्ने तरखरमा लाग्यौं । रातको साढे तीन भएको थियो । अँधेरी खोलातिरबाट चार गोली पड्केको सुनियो । मलाई लाग्छ, गाउँका हरेक कुकुर भुकेका छन ।
हामी फेरि हेड सरको घरमा गयौं । उहाँले उज्यालो भएपछि जानुपर्छ भन्नुभयो ।
उज्यालो भएपछि सबेरै भान्जा खोज्न अँधेरी खोलातर्फ लाग्यौं । आकाशमा कालो टालोले उदाउँदो सूर्यलाई छेकेको छ । वरिपरि कमलपित्तले ग्रस्त रुखहरू छन् । बीचमा सुकेनास जस्तो खोला छ । बहुलाएको हावा सुईंय्य गर्छ । एउटा लडेको रुखको कापमा जंगली झिंगा भन्किरहेका थिए । अनौठो गन्ध आइरहेको थियो । त्यहीँ दुई जनाको शव लडिरहेको देखियो । शवमा अगाडिबाट हानेको गोलीले छातीमा भ्वाङ पारेर गएको थियो । लपक्क भिजेको जीउ रगत सुकेर कक्रक्क भएको थियो । आमा मलाई बेस्करी अँगालोमा च्यापेर रुन थाल्नुभयो । बुबा लुत्रुक्क परेर मूढामाथि बस्नुभयो शक्तिहीन जस्तो भएर । मेरो मुटुको धडकन बढ्यो । बढी क्रोधले र अलिकति डरले । धन्यवाद भगवान्– हजुरको परम अनुकम्पाले– मेरो बचावट भयो । तिनले मलाई पनि घिसार्न खोजेका थिए ।
(डायस्पोरिक उपन्यास ‘पथिक प्रवासन’ बाट)

{पुस्तक परिचय: पश्चिमा राष्ट्रहरूमा गएर पढ्ने नेपालका औसत सहरिया युवाहरूको रहर हो । तिनको जीवन विदेश भूमीमा पाइला टेक्ने बित्तिकै संघर्षपूर्ण बन्छ । एकातर्फ आर्थिक समस्याको पीडा, अर्कोतर्फ विदेशको रंगीन जीवनको गुलियोले लोभ्याउने गर्छ । विदेशमा भाँडा माझे पनि त्यहाँको आम्दानी डलर र युरो नेपाली रूपैयाँमा साट्दा बग्रेल्ती बन्ने हुँदा विदेश मोहनी झन् गहिरो बन्छ । तर, नेपाल जस्तो विकासोन्मुख देशबाट आएका परदेश जीवन सधैं सरल रेखामा हिंड्दैन । यस्तै विषयमा लेखिएको उपन्यास हो- पथिक प्रवासन ।
पुस्तक – पथिक प्रवासन
लेखक – पंचम अधिकारी
प्रकाशक – जय प्रकाशन, काठमाडौं
पृष्ठ – १७६
मूल्य – रू.१५०, विदेशमा ५ यूरो
प्रमुख बितरक – पाटन बुक सप, पाटनढोका}

 Leave a Reply

(required)

(required)


*