राष्ट्रिय स्वाभिमानलाई दाउमा राखेर कसैसँग झुक्दिनँ – प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वाभिमानलाई दाउमा राखेर कसैसँग नझुक्ने बताउनुभएको छ ।kp oli

सिस्नुपानी नेपालले मङ्गलबार आयोजना गरेको देउसी भैलो कार्यक्रममा उहाँले नेपाल भौगोलिक रूपमा सानो भएपनि इतिहासदेखि स्वाभिमानी रहेकाले त्यो स्वाभिमान अझ सुदृढ गर्ने बताउनुभयो ।

भारतले लगाएको अघोषित नाकाबन्दीविरुद्ध नझुक्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले भन्नुभयो, “नेपालले खुट्टा कमाउँदैन, शिर झुकाउँदैन किनकी यो सगरमाथाको देश हो ।”

प्रधानमन्त्री ओलीले नाकाबन्दीका कारण जनताले दुःख कष्ट भोगेकाले समस्या लामो समयसम्म रहन नसक्ने बताउँदै भन्नुभयो, “यो समस्या लामो समयसम्म रहन दिइने छैन, केही दिनभित्रै सामान्य अवस्थामा फर्काउनेछौँ ।”

नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा सिस्नुपानी नेपालका कलाकारले नाकाबन्दी, संविधान निर्माण र राजनैतिक विकृति र विसङ्गतिविरुद्ध देउसी भैलोमार्फत बेजोड प्रस्तुति दिएका थिए ।

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले प्रधानमन्त्री ओलीको ‘क्यारिकेचर’ गर्दा उहाँसँगै दर्शकदीर्घाबाट तालीले स्वागत गरिएको थियो ।

ओलीरूपी ‘धुर्मुस’को घरमा देउसी भैलो खेल्न गएका कलाकारले राष्ट्रिय स्वाभिमान कायम राख्न उहाँलाई आशिर्वाद दिएका थिए ।

सोही प्रसङ्गमा प्रधानमन्त्री ओलीले देउसीको आशिर्वाद शिरोधार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाली काँग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलले देउसीभैलो कार्यक्रममा कलाकारले विकृतिलाई सिस्नुपानी हानेकाले राष्ट्रिय एकता बलियो हुने विश्वास व्यक्त गर्नुृभयो ।

एनेकपा (माओवादी) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले देउसीभैलो कार्यक्रमले सबैलाई स्वाभिमानी हुन उत्पे्ररित गरेको बताउनुभयो । रासस