May 172015
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

सुकुम्बासी हुनुभन्दा मृगौला बेचेर भए पनि आफ्नै घर बनाउने सपना देखेकी पाँचखाल नगरपालिका–६ होक्से शिखरपुरकी ३५ वर्षीया सीतामाया तामाङलाई यतिखेर अर्काे मृगौला पनि बेचौं झैं लाग्न थालेको छ। मृगौला बेच्न प्रतिबन्ध भए पनि यहाँका ८५ प्रतिशत व्यक्तिले सपना पूरा गर्न मृगौला बेचेका छन्।
‘ज्यालापानीमा मात्रै जीवन बित्दै आएको थियो, आफ्नै घर भयो भने खानाको समस्या मात्रै रहन्थ्यो’, सीतामायाले भनिन्– ‘त्यही भएर बेचेको मृगौलाको सपना पनि तुहियो।’ ‘वैशाख १२ गतेको महाभूकम्पले भत्काइदिएको घरसँगै सबै सपना भत्किए। प्रकृतिको विपत्ति पनि सुकुम्बासीलाई नै पर्दाे रहेछ’ –उनले भनिन्। पति र दुई सन्तानको भविष्य त्यही घरमा देखेकी सीतामायालाई सरकारले घोषणा गरेको राहत कार्यक्रमले समेत छुन सकेन। ‘क ख समेत नपढेका हामीजस्ता गरिब, सुकुम्बासीहरूले झन्झटिलो प्रक्रिया कसरी पूरा गर्ने हो’ –उनको दुखेसो छ। ‘सरकारले ऋण नै दियो भने पनि तिर्ने कसरी ?
kidney-sold-victimज्यालापानी गरेर खान नपुग्ने हामीजस्तो परिवारले सहुलियत ऋण तिर्ने स्रोत के हो ? सरकारले रोजगार र आवासको व्यवस्था सँगसँगै गरिदिनुपर्दछ’, सीतामायाको सरकारसँग माग छ– ‘सबैका घर भत्किएका छन्, कसले बनाइदिन्छ हाम्रो घर?’
सीतामायाको सपना थियो एकतले घरबाटै जीवनका सबै सपना महलका रूपमा पूरा गर्ने। ‘घर आफ्नै भयो भने ज्यालापानी गरेर भए पनि जीवन गुजारा गर्न सकिन्छ भन्ने अठोट थियो। त्यही कारण शरीरको अंग मृगौला बेचें। त्यही सपना पूरा गर्न बेचिएको अंगको पैसाले केही समय महलमा रात कटाएँ। तर दैव लाग्यो। गरिबको एकतले महलको सपना क्षणभरमै लुट्यो। यस्तो विपत्ति त धनीलाई पनि नपरोस्’ –सीतामायाले भनिन्।

भुइँचालो गएको दिन उनी ६ दिनको सुत्केरी थिइन्। भावीले त्यही लेखिदिएछन् क्यार⁄ घर सबै लड्यो, ६ दिनको बच्चा लिएर सुतिरहेकी सीतामाया र बच्चालाई केही भएन। पुरिएको घरबाट उनीहरूको सहजै उद्धार भयो। ‘दिउँसो खाना खाएर घरमा सुतिरहेको थिएँ। एक्कासि घर घुमेझैं भयो। धुलोको मुस्लोले हामी आमाछोरीलाई नै छोपेझैं भयो। सुतिरहेकी छोरी उठाउन खोज्दै थिएँ, घरमा रहेका सबै सामानहरू खसे, छानोले पनि थिच्यो। बल्लबल्ल छोरी च्यापेर बाहिर निस्किएँ। बाहिर आउँदा सबै घरहरू गल्र्यामगुर्लुम ढलेछन्। हाम्रो मात्रै होइन सबैको घर ढलिसकेपछि म निस्किएँ। घर लडेर केही बाँकी नहुँदा पनि हामीलाई पलाञ्चोक भगवतीमाईले बचाउनुभएछ। ६ दिनकी छोरी बोकेर बाहिर आउँदा पनि हामीलाई केही भएन’ –उनले भनिन्।
सहयोगी संस्थाले वितरण गरेको राहत सामग्री र त्रिपालमुनि त्यही सानो बच्चा लिएर सुतिरहेकी सीतामायाले बच्चाको न्वारन गरिन् र नयाँ नाम राखिन् आरुसी। ‘गाउँमा कसैको पनि छैन यो नाम।’ –सीतामाया खुसी भइन्। ‘भगवान्ले घर चुँडे पनि मेरो आरुसीलाई चुँड्न सकेन। सरकारले पैसा दिए पनि नदिए पनि मिल्छ भने अर्काे मृगौला बेचेर भए पनि आफ्नै घरमा बस्ने सपना पूरा गर्ने चाहना छ’ –उनले भनिन्।

– मोतीराम तिमल्सिना

 

 Leave a Reply

(required)

(required)


*