मिस मंगोललाई पुरस्कारै पुरस्कार

नेपाली सौन्दर्य प्रतियोगितामा आफ्नै पहिचान बनाउन सफल मंगोलियन युवतीहरूबीचको मिस मंगोल नेपालको सातौं संस्करण शुरु भएसँगै आयोजकले विजेताको पुरस्कार र सुविधा बढाएको घोषणा गरेका छन् ।

miss mangolनेपाली सौन्दर्य प्रतियोगिताकै क्षेत्रमा पहिलोपटक विजेतालाई एक लाख रुपियाँ नगद पुरस्कार प्रदान गर्दै आएको मिस मंगोल नेपालले अबको नयाँ संस्करणबाट विजेतालाई स्कुटरसहित उच्च शिक्षाका लागि छात्रवृत्ति प्रदान गर्ने भएको छ। त्यसै गरी फस्ट रनर्सअपलाई ५० हजार रुपियाँ र सेकेन्ड रनर्सअपलाई २५ हजार रुपियाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगितामा १६ देखि २४ वर्ष उमेरका घटीमा एसएलसी पास एवं पाँच फिटभन्दा बढी उचाइ भएका आदिवासी समुदायका अविवाहित युवतीले भाग लिन पाउने प्रावधान रहेको छ।
सुन्दरता, बौद्धिकता र संस्कृतीबीचको फ्युजनका रूपमा सम्पन्न हुँदै आएको मिस मंगोलमा विजेता छनोट प्रक्रियालाई वैज्ञानिक र सान्दर्भिक बनाउन २५ प्रतिशत एसएमएस भोटिङ र २५ प्रतिशत ट्यालेन्ट सोलाई आधार बनाइँदै आएको छ। प्रतियोगितका लागि चैत १३ गतेभित्रमा आवेदन फारम भरिसक्नुपर्ने आयोजकले जनाएको छ।
प्रतियोगितामा यस वर्षदेखि सर्टकट इन्ट्रीमार्फत् मिस ट्यालेन्ट विजेता र एसएमएस भोटिङमा सबभन्दा धेरै भोट प्राप्त गर्ने प्रतियोगीले उत्कृष्ट १५ मा सीधै प्रवेश पाउने छन्। विश्व सौन्दर्य प्रतियोगितामा प्रचलित यो विधि प्रतिभावान् प्रतियोगीका लागि सार्थक हुने विश्वास आयोजकको छ। अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका प्रतियोगीलाई कोरियोग्राफर रोजिन शाक्यले १ महिना प्रशिक्षण दिने छन्।
विभिन्न जातीय सौन्दर्य प्रतियोगिताका विजेतालाई बिनाअडिसन सहभागी गराइने आयोजक एक्सन इन्टरटेनमेन्टकी प्रबन्ध निर्देशक तथा गायिका चन्दा घिसिङले जानकारी गराइन्। यसअघि सृष्टि राजकर्णिकार, वर्षारानी गुरुङ, सुम्निमा देवान, सपना रोका, मुस्कान लिम्बू र एनिस्ता गुरुङले मिस मंगोल नेपालको उपाधि चुमिसकेका छन्। मिस मंगोल नेपाल २०१५ को अन्तिम प्रतिस्पर्धा आगामी वैशाख २६ गते राजधानीमा हुने आयोजकले जनाएका छन्।