पोखरामा मिस नेवा

पोखराको नेवार समुदायका युवतीहरू यतिखेर मिस नेवाको तयारीमा व्यस्त छन्। हरेक वर्ष नेवा खल कास्कीले आयोजन गर्दे आएको मिस नेवाः ११३५ को ताज पहिरिने दौडमा प्रतिस्पर्धीहरू लागिपरेका छन्। पाँचौं संस्करणको मिस नेवा प्रतियोगिताका लागि पोखरा र आसपासका गरी १७ जना नेवार युवती सहभागी हुँदैछन्।
मिस नेवाआयोजकका अनुसार प्रतिस्पर्धीलाई नेवार संस्कृति, भेषभूषा, रहनसहन र व्यक्तित्व विकासका तालिम दिइने क्रम जारी छ। उनीहरूलाई नेपाल जेसिसका पूर्वअध्यक्ष नारायण शर्मा, नेवा मिसा पुच कास्कीका अध्यक्ष शान्ति उदास, सञ्चारकर्मी दीपेन्द्र श्रेष्ठ, सञ्जय मल्ल, नेवारी भाषा विज्ञ उदय अमात्य, सौन्दर्यविद् मीना श्रेष्ठ, संस्कृतिविद् कृष्णबहादुर श्रेष्ठ र पूर्वमिस नेवा रस्मिता नकर्मीले प्रशिक्षण दिएका छन्।
आगामी चैत्र ७ गते पोखरा सभागृहमा अन्तिम प्रतिस्पर्धा हुने आयोजकले जनाए। मिस नेवाः ११३५ का विजेताले ४० हजार नगद, फस्ट रनरअपले २५ हजार, सेकेन्ड रनरअपले १५ हजार नगदसहित प्रमाणपत्र र आकर्षक उपहार प्राप्त गर्नेछन्। त्यस्तै बेस्ट कम्प्लेक्सन, बेस्ट स्माइल, बेस्ट ट्यालेन्ट, बेस्ट पर्सनालिटी, बेस्ट फोटोजेनिक, बेस्ट भ्युअर च्वाइस टाइटलका साथमा जनही ५ हजार रुपियाँ, प्रमाणपत्र र उपहार प्रदान गरिने कार्यक्रमका संयोजक विक्रम उदासले जानकारी गराए।
कार्यक्रमको कोरियोग्राफी निशा प्रजापती तथा सजनी मानन्धरले गरेका छन्। प्रतिस्पर्धामा पोखराका कृपा कतिला, पुष्पा श्रेष्ठ, मन्जु ताम्रकार, रिक्का मर्सानी, सुस्मिता प्रद्यान, स्वस्तिका श्रेष्ठ, नीलिमा श्रेष्ठ, आशा श्रेष्ठ, सारा बजिमय, सगुन जोशी, श्रीया बुद्धाचार्य, सुलोचना शाक्य, विभुषा नकर्मी, प्रियंका जोजिजु, संगीता श्रेष्ठ र तनहुँका नीलिमा श्रेष्ठ रहेका छन्।
नेपाल संवत् ११३१ देखि शुरु गरिएको मिसन नेवा पोखराको चौथो संस्करणसम्म ७२ जनाले भाग लिएको र ११३१ मा निकिता श्रेष्ठ, ११३२ मा रचिना नकर्मी, ११३३ मा सुमना वज्राचार्य र ११३४ रुचि श्रेष्ठले मिस नेवा पोखराको ताज पहिरिइसकेका छन्।
मिस नेवा शुरु गरेदेखि नेवार युवतीहरूले मौलिक बाजा बाँसुरी, धिमे बाजा बजाउने प्रशिक्षण, भाषा तालिम, क्वाँटी खाने मेलाकै आयोजना गरी नेवारी संस्कृतिमा योगदान दिँदै आएका छन्।