मिथिला कलामा नयाँ आविष्कार

मिथिला जनजीवनका विविध आयाम र परिवेश  झल्किने चित्रको प्रदर्शनी सिद्धार्थ आर्ट ग्यालरी बबरमहलमा भइरहेको छwith-fish-umesh-shah । मिथिला नारीको सामाजिक मनोदशालाई केलाउँदै बनाइएका चित्रमा रङ र विषय संयोजनमा कलाकारको सबल सचेतनाले काम गरेको पाइन्छ ।

मिथिला लोककला शैलीलाई आधुनिक रुपमा ढाल्दै कलाकार उमेश साहले बनाएका ‘ परम्परागत विचारमा नयाँ आविष्कार’ शीर्षकमा प्रदर्शनी गरिएको हो । नारीका विविध पक्षलाई रङ र तुलिकाका माध्यमबाट पस्किँदै साहले मिथिला समाजको सांस्कृतिक तथा सामाजिक अवस्थाको चित्रण गर्ने प्रयास गरेको पाइन्छ ।

दिनदैनिकीका विषय, पे्रमिल र यौन मनोविज्ञानका विषयलाई समेत उनले कलात्मक रुपमा क्यानभासमा उधिनेका छन । ऐना अगाडि बसेकी नारी विम्बका चित्रहरु कलाकारले धेरै बनाएका छन । त्यस्तै सुनौला माछा समातिरहेका नारी चित्र समेत उनले प्रदर्शनीमा राखेका छन् । घैलामा पानी बोकिरहेकी नारीका चित्रमा मिथिला समाजको सामाजिक मनोदशालाई कलाकारले केलाउने कोसिस गरेको देखिन्छ ।

कलाकार तथा कला विश्लेषक मदन चित्रकार भन्छन  “मिथिला क्षेत्रको लोककलालाई आधुनिक शैलीमा निकै कलात्मक रुपमा साहले पस्कनुभएको छ, आफ्नो सशक्त कलात्मक चेतनालाई सबलताका साथ क्यानभासमा साहले उतार्न सक्नुभएको छ ।” शाहका कलामा मिथिला परिवेश र त्यसको सामाजिक अवस्थाको कलात्मक चित्रण भएको सिद्धार्थ ग्यालरीका सञ्चालक सङ्गीता थापाले बताउनुभयो । मिथिला समाजको विषयलाई क्यानभासमा उतारी यही असार २ देखि सुरु गरिएको प्रदर्शनी असार १६ सम्म रहनेछ ।