मलेसियामा सयजना नेपाली सहित एक हजार आप्रवासी कामदार पक्राउ

मलेसियामा एकहजार जनाभन्दा बढी आप्रवासी कामदार पक्राउ परेका बताइएको छ । मलेसियाले त्यहाँ रहेका अवैधानिक आप्रवासी कामदारलाई वैधानिकता दिनका लागि संचालन गरेको ‘दर्ता कार्यक्रम’ सकिएलगत्तै त्यस्ता कामदारविरुद्ध धरपकड अभियान सुरु गरेको छ ।

गत शनिबार उक्त अभियान शुरु भएयता सयजना भन्दा बढी नेपालीसहित एकहजार जनाभन्दा बढी आप्रवासी कामदार पक्राउ परेका छन् ।

देशव्यापी धरपकड शुरु गरिएपछि त्यहांस्थित नेपाली दूतावासले गैरकानुनी अवस्थामा बसीरहेका नेपालीहरुलाई अविलम्व दूतावासको सम्पर्कमा आउन अनुरोध गरेको बिबिसी समाचारमा उल्लेख छ ।

मलेसियाले अवैधानिक बसोबास गरिरहेका आप्रवासी कामदारहरुका लागि पछिल्लोपटक गत फेबु्रअरी १५ देखि जुन महिनासम्म दिइएको उक्त अवसर उपयोग नगर्ने आप्रवासीप्रति थप कडाइ गर्दै उनीहरुको देशव्यापी खोजी गरिरहेको छ।

सो अवधिमा करिब १५ सय नेपालीहरु दर्ता भएको नेपाली दूतावासले जनाएको छ । मलेसियाले दर्ता भएका अवैधानिक आप्रवासी कामदारलाई ’इन्फोर्समेन्ट कार्ड’ निशुल्क वितरण गरी थप वैधानिकताको प्रक्रिया अपनाउन त्यस्तो कार्यक्रम ल्याएको थियो ।

तर उक्त कार्यक्रममा सहभागी नहुने अवैधानिक आप्रवासी कामदारहरुलाई खोजी गरी पक्राउ गर्न गत शनिबारदेखि शुरु गरिएको धरपकड अभियानमा हजारभन्दा बढी आप्रवासीहरु पक्राउ परिसकेका छ। ती मध्ये सयभन्दा बढी नेपाली पनि रहेको स्थानीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

पक्राउ पर्नेमा अधिकांश बांगलादेशी कामदारहरु छन् । आप्रवासी कामदारका होस्टल, उनीहरु जमघट हुने एवं लुकेर बसेको हुनसक्ने ठानिएका स्थानहरु धरपकडको निशानामा परेका छन् ।
नेपालीको प्रमुख रोजगार गन्तव्यमध्येको एक मलेसियाले हालै संचालन गरेको धरपकड अभियानका कारण गैरकानुनी हैसियतमा रहेका नेपाली कामदारहरु चिन्तित छन् ।

नेपाली दूतावासका उपनियोग प्रमुख कुमारराज खरेलले त्यस्ता नेपालीहरुलाई अविलम्व दूतावासको सम्पर्कमा आउन र आवश्यक प्रक्रिया मिलाई स्वदेश फर्कन आग्रह गरे ।

स्वदेश फर्कन चाहनेले दूतावासबाट एकतर्फी यात्रा अनुमतिपत्र लिई पुत्राजयास्थित मलेसियाली अध्यागमन विभागलाई उसले तोकेको जरिवाना र विशेष पासको शुल्क तिरेर स्वदेश फिर्न सकिने समेत उनले बताए ।

नेपाली दूतावासका अनुसार मलेसियामा वैधानिक रुपमा करिब ४ लाख ८५ हजार नेपालीहरु कार्यरत छन् ।
ती बाहेक हजारौं नेपालीहरु अवैधानिक अवस्थामा रहेको हुनसक्ने अनुमान गरिएको छ ।