May 042015
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

गत बैशाख १९, २०७२ मा सेतोपाटी अनलाइन पत्रिकामा श्रीकमल द्विवेदीको नेपालमा हालै गएको भूकम्प सम्बन्धि एउटा लेख प्रकाशित भएको थियो । उक्त लेखका अधिकांश तर्कहरु यथार्थपरक छन् तर लेखकले अब ८०-९० बर्षभित्र भूकम्प आउंदैन भनेर लेखेकोले पाठकहरुमा केहि भ्रम सृजना भएको छ । यसलाइ भाषागत त्रुटिका रुपमा लिइनुपर्छ । बैज्ञानिक भाषामा भन्दा उनले भनेको कुरा केबल अनुमान मात्र हो अथवा सम्भावना हो । त्यसैले यस विषयलाइ तल अझ प्रष्ट्याउने प्रयास गरिएको छ ।

भुकम्प किन जान्छ ?

पृथ्वीको सतह वा क्रस्ट बिभिन्न महादिपहरुले बनेको छ जसलाइ भूगर्भ विज्ञानको भाषामा प्लेट पनि भनिन्छ । नेपाल भौगोलिक रुपमा भारतीय महादिप र एसियन महादिपको बिचमा अवस्थित छ । यि महादिपहरु तल रहेको म्यान्टलको माथिल्लो सतह तरल भएकाले त्यसमा तैरिरहेका हुन्छन् । तरल म्यान्टलमा ताप र चापको फरकले गर्दा कन्भेक्सन करेन्टहरु पैदा हुन्छन् जसले सतहमा तैरिरहेका महादिपहरुलाइ चलायमान बनाउंदछन् । यसलाइ बुझ्नको लागि एउटा उदाहरण लिन सकिन्छ । जब एउटा भांडोमा हामि पानी तताउंछौं तलपट्टिको चिसो पानी पहिले तात्छ र हलुका हुन्छ । हलुका भएको पानी माथि आउन खोज्छ र चिसो पानी तल गइ फेरी तात्छ । यसो हुंदा पानी भकभक गरी उम्लिएको देखिन्छ त्यसलाइ नै कन्भेक्सन करेन्ट भनिन्छ ।

indian-plate-moves

हिमालय क्षेत्रमा भुकम्पको कारण यसरी भारतीय उप-महाद्वीप सर्दै गइ एशियासंग ठोक्किन पुगेकाले हो । स्रोत- विकिपेडिया

लाखौं बर्ष पहिले भारत महादिप हालको स्थान भन्दा धेरै दक्षिणतर्फ अफ्रिका र अन्टार्टिका महादिपहरुको नजिकै थियो । पछि भारत महादिप चलायमान हुंदै उत्तरपुर्व तर्फ बढ्दै आयो र एसियासंग तल पर्ने गरी ठोक्किन पुग्यो जसले गर्दा सगरमाथा लगायतका हिमालहरुको उत्पति भएको हो । भारत महादिप यसरी अगि बढ्ने क्रम अझै पनि जारी छ । हिमालय क्षेत्रमा भारत महादिप ठाउंअनुसार हरेक बर्ष करीब दुइ देखि पांच सेन्टिमिटरका दरले एशिया महादिपतर्फ (नेपालका सन्दर्भमा चीन तर्फ) धस्रिंदै गएको छ भन्ने कुरा जि पि एस ले नापिएको तथ्यांकले देखाउंछ । यसरी धस्रिंदा स्ट्रेस बढ्दै जान्छ र बिचमा रहेको पदार्थ डिफर्म हुंदै जांदा असन्तुलन पनि बढ्दै जान्छ । यसरी डिफर्म हुंदै जांदा एउटा यस्तो बिन्दु आउंछ जस पश्चात पदार्थमा चिरा पर्न थाल्छ । चिरा परेपछि दुइ प्लेटहरु सन्तुलनमा आउनका लागि तल माथि गरी एडजस्ट हुन्छन् जसले गर्दा नजिकको भुभागमा कम्पन पैदा हुन्छ । यसलाइ सजिलो रुपमा यसरी पनि बुझ्न सकिन्छ । जस्तै एउटा सिन्कोलाइ बंग्यायौं भने त्यो बांगिंदै जान्छ र एउटा यस्तो अवस्थामा पुग्छ जब त्यो भांचिन्छ । त्यहि भांचिने स्टेज नै भुकम्मको स्टेज हो जतिखेर निस्केका तरंगहरुले पृथ्वीको सतहमा क्षति पुर्याउंछन् ।

पछिल्लो महाभूकम्पको विवरण

अप्रिल २५, २०१५ अर्थात बैशाख १२, २०७२ ११:५६ बजे (नेपाली समय) गोर्खाको बारपाक गाउंमा इपिसेन्टर (केन्द्रविन्दु) भएको ७.८ रेक्टर स्केलको भूकम्पको मुख्य धक्का महशुस गरियो । गोर्खामा उत्पति भएको भुकम्पका आफ्टरसक(परिकम्पनहरू) हरु दक्षिणपुर्वतर्फ सर्दै गएको देखिन्छ । जसले जमिनको धांजा दक्षिणपुर्वतर्फ फाट्दै गएको जनाउंछ । स्वभाविकरुपमा आफ्टरसकहरुको संख्या र तिव्रता घट्दै गएको छ तर यस्ता आफ्टरसकहरु एक महिनासम्म पनि जाने सम्भावना रहन्छ । यसरी आफ्टरसकहरु जांदा संचित भएको शक्ति निस्तेज हुंदै जान्छ र ठोक्किएका प्लेटहरु सन्तुलित अवस्थामा आउंदछन् । यस भूकम्पको हाइपोसेन्टर जमिनबाट करीब १५ किमि मात्र तल भएकोले प्रभावित क्षेत्रहरुमा धेरै क्षति भएको देखिन्छ । काठमान्डौ पहिले तालको पिंधमा रहेकोले यहांको माटो खुकुलो रहेको छ जसले गर्दा पनि भूकम्पको असर बढी भएको हो ।

Nepal-earthquake-shocks-strength

अप्रिल २५ २०१५ को महाभूकम्प र त्यसपछिका आफ्टरसकहरुको तिव्रता र व्यापकता । स्रोत- अमेरिकन जियोलोजिकल सर्भे

भूकम्पको पुर्वानुमान र सम्भावना

साना साना भुकम्पहरु बेलाबेलामा गइरहे एकैचोटी ठुलो महाभूकम्प आउने खतरा कम हुने गर्छ किनकी त्यसो हुंदा प्लेटहरु एक आपसमा घिस्रिंदा संचित भएको शक्ति थोरै थोरै गर्दै निस्तेज हुन्छ । त्यसैले पछिल्लो भूकम्पले मध्य नेपालमा अब महाभूकम्प जाने सम्भावना केहि भए पनि घटेको छ । तर युनिभर्सिटी अफ कोलोराडोका भुगर्भविद् रजर विल्हामले प्रख्यात जोर्नल साइन्समा सन् २००१ मा प्रकाशित गरेको सोधपत्रले पश्चिम नेपालमा भने महाभूकम्पको खतरा अझै पनि उत्तिकै रहेको देखाउंछ । पुर्वी नेपालमा चाहिं सन् १९३४ को भूकम्पले गर्दा त्यस्तो महाभूकम्पको सम्भावना केहि कम भएको हो । तर नेपाल प्लेटहरुको सिमानामा रहेकोले यहां पछिल्लो महाभूकम्प भन्दा पनि ठुला भूकम्प जाने सम्भावनालाइ पनि नकार्न नसकिने कुरा बैज्ञानिकहरु बताउंछन् । साना साना भूकम्पहरु त यस क्षेत्रमा बारम्बार गइ नै रहन्छन् । भुकम्पको प्रक्रिया धेरै हदसम्म बुझिएको भएपनि पृथ्वीको बनावट अत्यन्तै जटिल भएकाले यसको भविष्यवाणी गर्न निकै कठिन छ । तथ्यांकशास्त्रका आधारमा यसको सम्भावना अनुमान गरिने गर्छ जुन पहिले भएका भूकम्पहरुको गणनामा आधारित हुने भएकोले ठ्याक्कै एकिन गर्न भने सकिंदैन ।

महाभूकम्पछिको अबको बाटो

नेपाल जस्तै भूकम्पीय जोखिमको क्षेत्रमा भएर पनि जापानले भुकम्पीय सुरक्षाहरु अपनाएकाले त्यहां तुलनात्मक रुपमा निकै कम क्षति भएको पाइन्छ । जापानमा सन् २०११ मा ९ रेक्टर स्केलको भूकम्प जांदा पनि भूकम्प आंफैले त्यति क्षति पुर्याएन तर भूकम्पपछि आउने सुनामीले भने धेरै नै क्षति पुर्याएको पाइन्छ । नेपालको नजिक समुन्द्र नभएकोले सुनामीका चिन्ता भने रहेन । त्यसैले भवन तथा संरचना निर्माण गर्दा ध्यान दिन सके भुकम्पबाट हुने क्षति धेरै हदसम्म न्युनिकरण गर्न सकिन्छ । घर बनाउंदा भौगोलिक नक्शाहरुको अध्ययन गरी चट्टानी भुभाग माथि जग बनाउनु राम्रो हुन्छ । जस्तै पोखराको भौगोलिक बनावट खोक्रो तथा कमजोर भएकाले भुकम्प गएमा त्यहां धेरै क्षति हुने सम्भावना छ ।

अहिले गएको भूकम्पको क्षति अध्ययन गर्दा नेपाल क्रमश भूकम्पसंग जुध्न सक्षम हुंदै गएको चाहिं देखिन्छ । यस महाभूकम्पमा धेरै पुराना भएका तथा गार्हो लगाइ बनाइएका भवनहरुमा धेरै क्षति भएको देखिन्छ जुन अस्वभाविक होइन । आर सि सि भवनहरुमा तुलनात्मक रुपमा कम क्षति पुगेको देखिन्छ । नेपालका धेरै इन्जिनियरिंग स्कुलहरुमा भुकम्प प्रतिरोधात्मक भवनको डिजाइन गर्न सिकाइन्छ । त्यसैले यस क्षेत्रमा नेपाली प्राविधिकहरु पुर्णरुपमा सक्षम रहेका छन् । भवन निर्माण गर्दा यस विषयमा थोरै मात्र ध्यान पुर्याउने हो भने पनि सामान्य लागत भन्दा करीब २० प्रतिशत बढी खर्चमा भूकम्प प्रतिरोधात्मक भवन बनाउन सकिन्छ ।

अन्त्यमा, नेपाल लगायतका हिमाली क्षेत्रहरु टेक्टोनिकल्ली एक्टिभ अर्थात भूकम्पीय जोखिम भएका क्षेत्रहरु हुन् । त्यसैले नेपालमा भुकम्प जाने खतरा सधैं रहन्छ । भुकम्प आंफैले त्यति क्षति पुर्याउंदैन तर हामिले बनाएका कमजोर संरचनाहरु र आवश्यक पुर्वतयारीको अभावले गर्दा धेरै क्षति हुने गर्छ । हामीले अब तीन कुरामा ध्यान दियौं भने भुकम्पबाट हुने क्षतिलाइ धेरै हदसम्म न्युनिकरण गर्न सकिन्छ । पहिलो, कुरा भवन तथा संरचनाहरु सकेसम्म हलुका तथा होचा बनाउने । दोस्रो, ति संरचनाहरुको डिजाइन गर्दा लागत केहि बढी भएपनि भुकम्प प्रतिरोधात्मक बनाउन ध्यान दिने । र तेस्रो, बिपत्ति संग जुध्न राष्ट्रिय तथा स्थानीय स्तरमा पुर्वतयारी गर्ने ।
-सागर प्रसाद पराजुली/मेरो सेरोफेरो

 Leave a Reply

(required)

(required)


*