भारतीय मिडियाविरुद्ध ‘महाभूकम्प’

सामाजिक सञ्जाल ट्विटरमा गत आइतबार भारतीय मिडियाविरुद्ध अहिलेसम्मकै ठूलो विरोध भएको छ । भारतीय मिडियाविरुद्ध विरोध भएको सम्भवत विश्वमै यो ठूलो विरोध हो ।
Go-home-Indian-mediaनेपालमा गएको महाभूकम्पमा संवेदनशीलता ख्याल नगरेको, पीडितको भावनामा ठेस पुर्‍याएको तथा अनावश्यक प्रोपोगान्डा फैलाएको आरोपसहित भारतीय मिडियाको विरोध भएको हो ।
ट्विटर प्रयोगकर्ताले ‘गो होम इन्डियन मिडिया’ ट्याग गरेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा त्यहाँका चर्चित टेलिभिजनलाई मेन्सन गरेका छन् । समाचार तयार पार्र्दासम्म भारतीय प्रधानमन्त्री मोदीले कुनै प्रतिक्रिया दिएका छैनन् ।
तर, भारतीय बुद्धिजीवी, पत्रकार तथा सर्वसाधारणले भारतीय मिडियाले पत्रकारिताको भूमिका बिर्सेको भन्दै नेपालीलाई साथ दिएका छन् ।
नेपालीले चलाएको विरोध अभियानमा विश्वभरबाट साथ मिलेको पाइएको छ । आइतबार दिनभरजसो यो ‘ट्रेन्ड’ विश्वभर दोस्रो नम्बरमा रह्यो भने भारतमा पहिलो नम्बरमा रहेको थियो ।
नेपालीले भारतीय मिडियाले नेपालको महाभूकम्पमा गरेको नराम्रा तथा झुटा विषयलाई ट्विटरमा राखेर ‘गो होम इन्डियन मिडिया’ ट्याग गरेका थिए । केही नेपाली ट्विटर प्रयोगकर्ताले अभियानलाई भारतीय मिडियाले गरेको ज्यादतीविरुद्ध मौनता फुटेको संज्ञा दिए ।
उनीहरूले भारतीय मिडियाले नेपालीको भावनामा ठेस पुर्‍याएको भन्दै भारत फर्कन आग्रह गरेका छन् । नेपालीले ‘गो होम इन्डियन मिडिया’ अर्थात् ‘घर फर्क इन्डियन मिडिया’ भनेर नेपालबाट आग्रह गरिरहँदा केही भारतीय ट्विटर प्रयोगकर्ताले भने भारतको नै बेइज्जत गरेको भन्दै भारतीय मिडियालाई ‘भारत होइन नर्क फर्क’ भनेर खिल्ली उडाएका थिए ।