भारतसँगको असमझदारी अन्त्य: प्रधानमन्त्री ओली

भारत भ्रमणमा गएका प्रधानमन्त्री केपी ओलीले केही महिनायता नेपाल भारतबीच उत्पन्न असमझदारी अन्त्य भएको160220084458_modi_oli_pib_delhi_304x171_pib_nocredit बताएका छन्।

भारतीय समकक्षी नरेन्द्र मोदीसँग एक्लाएक्लै भेटवार्ता गरेपछि आयोजित संयुक्त प्रेस सम्मेलनमा मोदीले भने त्यो विषयलाई छुँदै छोएनन्।

मोदीले नेपालको संविधान लेखन र घोषणालाई विश्वले मानेको उपलब्धि त भने तर किन्तु शब्द जोड्दै त्यसको सफलता सहमति र संवादमा निर्भर रहेको भनेर तराई मुद्दामा भारतको चासो कायमै रहेको स्पष्ट गरे।

प्रधानमन्त्री केपी ओलीले संविधान जारी भएपछिको पहिलो प्रधानमन्त्रीका रुपमा पहिलो भ्रमण भारत गर्न पाएकोमा प्रसन्नता प्रकट गरे।

उनले दुई देशबीच उत्पन्न असझदारीको मुख्य कारक ठानिएको नेपालको संविधान लेखनमा भारतीयहरुलाई जस दिँदै भने, ‘नेपालले संविधान लेखनको एतिहासिक जिम्मेवारी पूरा गरेको छ संविधान लेखन शान्ति प्रक्रियाको परिणति थियो जसको सफलताको लागि हामीले भारत सरकार राजनीतिक नेतृत्व र भारतीय जनताबाट निरन्तर र दृढ समर्थन पाएका थियौं।’

भारतले नेपालमा संविधान घोषणा हुँदा उसको विदेश मन्त्रालयको वेवसाईट मार्फत ‘जानकारीमा लिएको’ भन्ने संक्षिप्त र चिसो प्रतिक्रिया दिएको थियो।

भारतका प्रधानमन्त्रीले पाँच महिना पछि भने, ‘पूरा विश्वले मान्छ कि पछिल्लो केहि वर्षमा नेपालले प्रजातन्त्र र संवादको मार्गमा प्रशंसनीय प्रगति गरेको छ । दशकौं लामो संघर्ष पछि नेपालको संविधानको रचना र त्यसको घोषणा एक महत्वपूर्ण उपलब्धि हो। यसको निर्माणमा नेपालको सरकार र राजनीतिक नेतृत्वको तथा समाजको सबै वर्गद्वारा भएको योगदानको म अभिनन्दन गर्छु।’

उनले ‘किन्तु’ शब्द जोड्दै भने, ‘यसको सफलता सहमति र संवादमा निर्भर छ। मलाई विश्वास छ यिनै सिद्धान्तको आधारमा राजनीतिक वार्तालापको माध्यमबाट नेपालको सबै वर्गलाई साथ लिएर तपाईंले नेपालको संविधानको आधारमा सन्तोषजनक समाधान खोजेर नेपाललाई प्रगति र स्थीरतातर्फ लग्नुहुनेछ।’

प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणको उद्देश्य दुई देशबीचको सम्बन्ध सन् २०१४ मा मोदीले नेपाल भ्रमण गर्दाको बेलामा फर्काउनु रहेको उल्लेख गर्दे दुई देशबीच गत केही महिना यता उत्पन्न असमझदारी अब छैन भने।

भारतले बारम्बार प्रकट गर्दै आएको सुरक्षा चासो यसपटक पनि दोहोर्यायो।

मोदीले भने,’प्रधानमन्त्री ओली र म बढ्दै गइरहेको अतिवाद र आतंकवादको खतराको मिलेर सामना गर्नेछौं। हाम्रो खुला सीमानालाई आतंकवादी र अपराधीलाई दुरुपयोग गर्न दिने छैनौं। यो सन्दर्भमा दुई देशका सुरक्षा एजेन्सीहरुले आफ्नो सहयोग थप मजबुत बनाउनेछन्।’

संयुक्त प्रेस सम्मेलन अघि दुई देशबीच विभिन्न समझदारीपत्रमा हस्ताक्षर भएको थियो। बिबिसी