बोएर्स रेस्टुरेन्टबाट भूकम्पपिडितलाइ दशलाख सहयोग

बेल्जियमको वेजमालस्थित बोएर्स ब्रासरीले नेपालका भूकम्पपिडितको पुनर्स्थापना र पुनर्निर्माणकोलागी दश हजार युरो (करिब साढे एघार लाख रुपैया) सहयोग स्वरूप प्रदान गरेका छ। बोएर्सका संचालक द्रिक क्लेशले नेपाली दूतावास बेल्जियमले स्थापना गरेको आफ्नो अर्थक्वेक रिलिफ फण्डमा रकम जम्मा गरेका हुन्। बिहिवार बेनेलक्स तथा युरोपियन युनियनका लागी नेपाली राजदूत राममणि पोखरेललाइ दूतावासको अर्थक्वेक रिलिफ फण्डमा जम्मा गरेको पुर्जा हस्तान्तरण गर्दै नेपालमा आईपरेको बिपतको समयमा केहि सहयोग गर्न पाउदा आफु तथा सम्पूर्ण ब्रासरी परिवारलाई खुशी लागेको उनले बताए। उनि बेल्जियमका पूर्व सांसद एंव रोस्लार नगरपालिकाका बर्तमान मेयर हुन्।photo

क्लेशले गत महिना ‘बोएर्स गोज फर नेपाल’ नामक कार्यक्रम मार्फत उक्त रकम संकलन गरेका थिए। बेल्जियमको वेजमालस्थित आफ्नै ब्रासरी(रेस्टुरेन्ट) बोएर्समा आयोजना गरिएको उक्त कार्यक्रममा करिब पांचसय जनाले  सहभागिता जनाएका थिए। डिनर सहित आयोजना गरिएको उक्त कार्यक्रममा ब्यबसायीहरु, वकिल, पत्रकार र स्थानीयवासीको साथै बेल्जियमबासी नेपालीहरुको सहभागिता रहेको थियो।

क्लेशको कम्पनीमा कार्यरत तिन नेपालीहरु सागर (डिल्ली) पौडेल, राजु गड्तौला र राजु रोकाले भूकम्पपिडितको सहयोगको लागी केहि गर्न ब्रासरी सहसंचालिका टिना क्लेशलाइ सुझाएका थिए। उनीहरुको सल्लाह अनुसार कार्यक्रम सम्पन्न गरिएको थियो। भूकम्पपिडितको लागी सहयोग संकलन गर्न पाएकोमा खुशी व्यक्त गर्दै पौडेलले भने ‘जस्तोसुकै सम्पन्न मुलुकमा रहे पनि मातृभूमिमा बिपत्ति पर्दा व्यक्तिगत सम्पन्नता फिक्का लाग्दो रहेछ। त्यसैले भूकम्पपिडितको सहयोगार्थ नेपाल सरकारले अगाडी बढाएको योजनालाई साकार पार्न सानो कार्यक्रम मार्फत सहभागिता जनाएका हौ।‘

यस अघिनै दूतावासको खातामा आठ हजार युरो जम्मा भैसकेको छ। बेल्जियम, नेदरल्याण्ड र लक्जेम्बर्गका नेपालीहरु र यहाँ स्थित सामाजिक संघ सस्थाका साथै केहि स्थानियहरुले उक्त रकम जम्मा गरेका हुन्। दाताहरुमा स्वयंसेवी सस्थाहरु बेल्जियम नेपाल फ्रेन्डशिप एसोसियसन, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियम, तमु समाज बेल्जियम, झापा समाज बेल्जियम र एनआरएन लक्जेम्बर्ग रहेका छन। नेपाली नियोगका कुटनीतिक तथा स्थानीय कर्मचारीहरुले पनि आफ्नो मासिक तलबबाट पिडितलाई सहयोग गरेका छन्। प्राप्त रकम छिट्टै नै प्रधानमन्त्री दैबी प्रकोप उद्वारकोषमा जम्मा गरिने दूतावासका प्रथम सचिब लक्ष्मण खनालले जानकारी गराए।