बेल्जियममा ल्होछार मनाइयो

lochar1बेल्जियमका तमु (गुरुङ ) समुदायले २६०० औ ल्होछार भव्य रुपमा मनाएका छन । बुधवार बेल्जियमको अन्त्वेर्पेंनमा एक विशेष कार्यक्रमको आयोजना गरी ल्होछार मनाइएको हो । पुस १५ लाई तमु समुदायले नयाँ वर्षको रुपमा मनाउने चलन रहेको छ ।

कार्यक्रममा बेल्जियमका विभिन्न सहरहरु थुप्रै नेपालीहरु उपस्थित भएका थिए भने ल्होछार मनाउन कै लागी युरोपेली मुलुक  जर्मनी, नेदरल्याण्ड, पोर्तुगल, लक्जेम्बर्ग र नेदरल्याण्डबाट समेत नेपालीहरु  आएका थिए । पर्वको अवसरमा कतिपय नेपालीहरु परम्परागत भेषभुषामा सजिएका थिए भने आमन्त्रित पाहुनाहरुलाई चाड पर्वको बेला खाइने परम्परागत खाना सेलरोटी, आलु तामा र बोडीको अचार वितरण गरिएको थियो ।

औपचारिक र सांस्कृतिक गरि कार्यक्रम दुई चरणमा सम्पन्न गरिएको थियो । औपचारिक कार्यक्रमका प्रमुख अतिथि नेपाली दूतावास बेल्जियमका द्वितीय सचिव ललिता शिलवालले नेपालीहरुले मनाउने संस्कृति नेपालीका भएको र चाड पर्वले बन्धुत्व र भाइचारा बढाउने उल्लेख गर्दै  यस्ता किसिमका कार्यक्रमले नेपालीपनको जगेर्नामा मदत पुग्ने बताइन। कार्यक्रममा एनआरएन सचिव अर्जुन कुमार श्रेष्ठ , एनआरएन बेल्जियमका अध्यक्ष गंगाधर गौतम, सल्लाहकार पिजी शेर्पा , एनआरएन युरोप क्षेत्र उप संयोजक प्रेम गुरुङ , आई सिसी सदस्य जानकी गुरुङ, नेत्र मगर,  चिज कुमार श्रेष्ठका साथै विभिन्न संघ सस्थाका प्रतिनिधिहरु उपस्थित थिए । कार्यक्रममा जेष्ठ नागरिक जोख बहादुर गुरुङलाइ सम्मान गरिएको थियो।

कार्यक्रममा सांस्कृतिक प्रस्तुति समेत रहेको थियो। स्थानीय कलाकारहरु द्वारा ‘गैरी खेतको शिरै हार्यो…’, ‘मोहनी लाग्ला है ..’, ‘आलु तामाले…’,’चट्ट रुमाल क्यामालुम ..’ लगायतका  गीत र नृत्यले मनोरंजन प्रदान गरिएको थियो । युरोप भ्रमणको क्रममा बेल्जियम आएका लोक गायक खेम गुरुङको प्रस्तुति रहने भनिएता पनि अस्वस्थताका कारण उनले आफ्नो प्रस्तुति दिन सकेनन । उनले फेसबुक मार्फत सबै दर्शक श्रोता माझ क्षमायाचना गरेका छन।

समाजका अध्यक्ष जीवन गुरुंगको सभापतित्वमा भएको औपचारिक कार्यक्रमको संचालन सचिव  बिकाश गुरुङले गरेका थिए भने सांस्कृतिक कार्यक्रमको संचालन महिमा गुरुङ र दिक्षा गुरुङले गरेका थिए ।  कार्यक्रममा ठूलो मात्रामा नेपालीहरुको उपस्थिति रहेको थियो।