बेल्जियममा गोर्खा स्मारकको स्थापना

प्रथम विश्वयुद्वमा बेल्जियमको ईपरमा बीरगति प्राप्त गरेका गोर्खा सैनिकको सम्मानमा गोर्खा स्मारकको स्थापना गरिएको गोर्खा स्मारकछ। विहिवार ईयूकालागी नेपाली राजदूत राममणि पोखरेल र बेल्जियमको ईपर नगरपालिकाका कार्यवाहक मेयर जेफ भेरस्कुरले संयुक्त रुपमा बिहिवार स्मारकको अनावरण गरेका थिए। अनावरण सगै इपर भेटरन्स एसोसियसनको ब्याण्डले सैनिक सम्मान र लास्ट पोस्ट एसोसिएसनले बिगुल धुन बजाएका थिए।

कमनवेल्थ वार ग्रेभ कमिशन संगको सहकार्यमा उक्त स्मारक स्थापना गरिएको हो। नेपाल सरकारको तर्फबाट नेपाली दूतावास बेल्जियमले निर्माण गरेको उक्त प्रतिमा नेपाली कलाकार पंचरत्न डंगोलले तयार गरेका थिए। धातुबाट निर्मित २.५ फिट अग्लो पूर्णकदको गोर्खा सैनिकको प्रतिमा १.७५ मिटरको ढुंगा निर्मित स्तम्भमा रहेको छ। स्तम्भमा ‘ईन मेमोरी अफ द नेप्लिज नेशनल्स हु लस्ट देयर लाइभ्स फाईटिंग एज गोर्खा सोलजर्स इन द फर्स्ट वर्ड वार १९१४-१८’ भनि कुँदिएको छ।

समारोहमा राजदूत पोखरेलले प्रथम विश्वयुद्धमा लडी मृत्युवरण गरेका गोर्खा सैनिकहरुप्रति हार्दिक सम्मान व्यक्त गर्दै स्मारकको स्थापनाले नेपालको विश्वशान्ति प्रतिको प्रतिबद्धतालाई समेत अझ उजागर गरेको बताए। उनले दुई देशका बीच जनस्तरमा बढिरहेको आपसी घनिष्टता स्मारकको स्थापनासागै अझै बढदै जाने विश्वास व्यक्त गरे । सोही अवसरमा नेपाल प्राचीन सभ्यतादेखि नै विभिन्न धर्म, सास्कृति, भाषा र रीतिरिवाजको अनुपम सागम रहेको उल्लेख गर्दै नेपालमा हालै गएको भूकम्पका बाबजुद नेपालका मुख्य पर्यटकीय आकर्षण यथावत नै रहेकोले नेपाल भ्रमणको लागि बेल्जियन समुदायलाई निम्तो समेत दिए । समारोहमा बेल्जियमका लागी बेलायती राजदूत एलिसन रोज, कमिसनका पश्चिम युरोप निर्देशक रिचार्ड निकोललगायत व्यक्तिको साथै बेल्जियमबासी नेपालीहरु उपस्थित थिए।

रोजगारीको शिलशिलामा तत्कालिन ब्रिटिस इन्डियाको सेनाका विभिन्न रेजिमेन्ट तथा बटालियनहरुमा संलग्न भएर नेपाली गोर्खालीहरु इपर आएका थिए । बिशेषत पहिलो गोर्खा राईफल चौथो गोर्खा राइफल वर्मा मिलिटरी पुलिस र आसाम राईफल इपर आएको ईतिहासले देखाउछ ।

१९१४ अक्टोबरमा तत्कालिन ब्रिटिस इन्डिया सेनाको लाहोर डिभिजन अन्तर्गत रहेका करिब ८०० सैनिकहरुको एक डफ्फा लाहोरबाट बेल्जियमको ईपर आएका थिए। लडाइमा जीवन गुमाएका सिपाहीहरु मध्ये शव वा शवको अवशेष पहिचान भएकाहरुको हकमा अलग अलग शिलास्तम्भ सहितका समाधिस्थलहरु तथा स्मारकहरु निर्माण गरिएका छन भने शव वा शबको अवशेष पहिचान हुन् नसकेकाहरुको हकमा इपर शहरमा उनीहरु प्रति समर्पित मेनिन गेट नामको अलग्गै स्मारक निर्माण गरि सो को भित्तामा उनीहरुको नाम कुदिएको छ। ति सिपाहीहरुको नामावली मध्ये अग्रपंक्तिमै केहि वीर नेपालीहरुको नाम उल्लेख गरिएको छ।

ब्रिटेनको शासन अन्तर्गत रहेका राष्ट्रहरुको सस्था कमनवेल्थ कन्ट्रीजको तर्फबाट युद्वमा लडेका सबै सैनिकहरुको आधिकारिक रेकर्ड राख्ने तथा ति सैनिकको सम्मानमा समाधिस्थल निर्माण गर्ने र सो को रेखदेख गर्ने कमनवेल्थ वार ग्रेभ कमिशनको वेब साइटमा तत्कालिन ब्रिटिस इन्डियाको सेना अन्तर्गत रहेर लडी बीरगति प्राप्त गर्ने नेपाली सैनिकहरुको नाम रहेको तर ठेगाना स्पष्ट नभएको र  राष्ट्रियता भारतीय लेखिएको थाहा पाएपछी बेल्जियमकालागी नेपाली पूर्व राजदूत प्रमेशकुमार हमालले यस बिषयमा अध्ययन प्रक्रिया अगाडी बढाएका थिए।

२०११ को अन्तिममा नेपाली दूतावास बेल्जियमका काउन्सेलर कुमारराज खरेलको संयोजकत्वमा अर्जुनकुमार श्रेष्ठ, महेश थापा र युबराज गुरुङ रहेको ३ सदस्यीय अध्ययन समिति गठन सामान्य खोज र स्मारक निर्माणको संभाव्यताबारे प्रतिबेदन तयार गरेको थियो। दूतावासको प्रयासमा सीडब्लुजीसीले नेपाली सैनिकहरुको राष्ट्रियता भारतीय नभई सर्भिस कन्ट्री भएको उल्लेख गर्यो भने इपर नगरपालिकाका मेयर लुक देहानले राजदूत हमाललाई स्मारक निर्माण स्थलबारे जानकारी समेत गराएका थिए।

युद्वमा लाखौ सैनिकले बीरगति प्राप्त गरेका थिए। १९१८ को ११ औ महिनाको ११ औं दिनको ११ बजेर ११ मिनेटजादा जादा प्रथम बिश्वयुद्वको युद्वको अन्त्य भएको घोषणा गरिएको थियो। हरेक बर्ष नोभेम्वर ११ का दिन हजारौ मानिसहरु इपर पुगी शान्तिको कामना गर्दै प्रथम विश्व युद्वको सम्झना गर्दछन् ।