Nov 182015
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

छठ पर्वको समापनसँगै बुधबारदेखि तराई–मधेशमा सामा चकेवा पर्व सुरु भएको छ ।

तराई–मधेशमा मनाइने विभिन्न चाडपर्वमध्ये अत्यन्त लोकप्रिय मानिने सामा चकेवा छठको समापनको दिन अर्थात् कार्तिक शुक्ल सप्तमीदेखि पूर्णिमासम्म मनाउने गरिन्छ ।

संस्कृतिविद् डा. रामदयाल राकेशका अनुसार दाजु र बहिनीबीचको आत्मीय प्रेमको प्रतीकका रूपमा मनाइने यो पर्वमा दिदीबहिनीले आफ्नो दाजुभाइको सुस्वास्थ्य र दीर्घ जीवनको कामना गर्दछन् ।

तराई–मधेशको लोक नाटकको झझल्को दिने यस पर्वका दुई मुख्य पात्र हुन्छन् – सामा र चकेवा । त्यसैगरी समाजको खल पात्रको प्रतीकका रूपमा चुक्ली लगाउने अर्को पात्र पनि हुन्छ, जसलाई ‘चुल्का’ भनिन्छ ।

यी तीन वटै पात्रको प्रतीकका रूपमा बनाइएको माटोको मूर्तिलाई बाँसको टोकरीमा राखी कार्तिक शुक्ल सप्तमीको साँझदेखि टोल छिमेकका दिदीबहिनी गाउँको बाहिर खुल्ला ठाउँमा एकत्रित भई सामाचकेवासम्बन्धी गीतहरू गाउँछन् । गीतमा दाजुभाइको प्रशंसा तथा ‘चुल्का’ भन्ने पात्रलाई गाली गरिएको हुन्छ । त्यसैगरी सामा चकेवाको प्रतीकका रूपमा रहेको मूर्तिलाई शीत र दुबो खुवाउने गरिन्छ ।

सामा चकेवालाई शीत र दुबो खुवाइसकेपछि मूर्ति राखिएको टोकरीलाई बीचमा राखी त्यहाँ उपस्थित दिदीबहिनी वृत्ताकारमा बस्छन् र टोकरीलाई दाहिने हातले एकले अर्कोलाई दिँदै बायाँ हातले फेरि लिने गरिन्छ । दिने र फर्काउने यो क्रम नथाकेसम्म चलिरहन्छ ।

त्यसपछि असत्य, पाप र असामाजिक तत्वका रूपमा रहेको चुक्ली लगाउने पात्रको जीउमा आगो लगाइन्छ । त्यसपछि दिदीबहिनी सामा चकेवाको गीत गाउँदै आ–आफ्नो घर फर्कन्छन् । घर पुगेपछि सामा चकेवा राखिएको टोकरीलाई आँगनमा राखी धानको बाला खुवाई रातभरि बाहिरै राखिन्छ । यो क्रम सप्तमीदेखि चतुर्दशीसम्म चलिरहन्छ ।

पूर्णिमाको दिन यो पर्वको विसर्जन गरिन्छ । पूर्णिमाको दिन मूर्तिहरूलाई सफा र रङरोगन गरी विशेष किसिमले सजाइन्छ । बेलुका दही चिउरा, चिनी र मिठाइसहित मूर्तिहरूलाई विभिन्न प्रकारको भोजन गराइन्छ । मूर्तिहरूलाई भोजन गराइसकेपछि दिदीबहिनीले दाजुभाइलाई मूर्तिको जुठो स्वरूप त्यही भोजन गराउँछन् । भोजनपछि दाजुभाइले दिदीबहिनीलाई उपहार स्वरूप नगद, गरगहना, लुगा, कपडा आदि दिन्छन् ।

यस पर्वको पौराणिकताबारे चर्चा गर्दै संस्कृतिविद् डा. राकेशले यस पर्वबारे पद्म पुराण, स्कन्द पुराण र साम्ब पुराणमा चर्चा गरिएको जानकारी गराए ।

पौराणिक ग्रन्थमा उल्लेख भए अनुसार सामाका बुबाको नाम श्रीकृष्ण तथा पतिको नाम चारुबक्र थियो । सामाको आमाको नाम जाम्बबती थियो । त्यस्तै सामाको दाजु श्रीकृष्णका पुत्र साम्ब थियो । श्रीकृष्ण पुत्री सामा र चारुबक्र नामको केटा प्रणयसूत्रमा बाँधिन चाहन्थे तर सामासँग एउटा अर्को केटा पनि प्रणयसूत्रमा बाँधिन चाहन्थे । यो कुरा सामाले मन नपराएपछि त्यस केटाले षडयन्त्र गरी सामाको सम्बन्ध कुनै मुनिसँग छ भन्ने कुरा पिता श्रीकृष्णलाई लगाइदिए । त्यसपछि श्रीकृष्ण क्रुद्ध भएर छोरी सामालाई श्राप दिएर चरी बनाइदिए । त्यसपछि सामाका प्रेमिका चारुबक्रले पनि सामा जस्तै चराजूनीमा आउन श्रीकृष्णसँग बरदान मागे । त्यसपछि श्रीकृष्णले श्राप दिएर चारुक्रलाई पनि चरा बनाई दिए ।

संस्कृतिविद् डा. राकेश अगाडि भने  “साम्ब पुराणका अनुसार दाजु साम्बले कठोर तपस्या गरी बहिनी सामा र भिनाजु चारुबक्रलाई मानव जुनिमा फर्काउन सफल भए । सामा र चारुबक्रले कार्तिक शुक्ल पूर्णिमाकै दिन नै पुनः मानव जुनि प्राप्त गरेका थिए । त्यसै दिनदेखि हिन्दू समाजमा सामा चकेवाको पर्व मनाउँदै आएको जनविश्वास रही आएको छ ।”

 Leave a Reply

(required)

(required)


*