May 202016
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

GOPAL SHOWAKOTI

गौतम बुद्धको २५६०औँ जयन्तीका अवसरमा यही वैशाख पूर्णिमा (जेठ ८ गते) बुद्धसम्बन्धी भ्रमलाई चिर्नका लागि काठमाडौँमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन र लुम्बिनीमा समारोह आयोजना गरिएको छ । यसअघि पनि बुद्धसम्बन्धी सम्मेलन गरिँदै आएकोमा यसचोटी भने मुलुककै कार्यकारी (प्रधानमन्त्री) को नेतृत्वमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना गरी विश्वका विशिष्ट व्यक्तिलाई आमन्त्रित गरियो । बुद्धसम्बन्धी प्रचार कम भएको, छिमेकीबाट गलत प्रचार भएको तथा लुम्बिनीसम्बन्धी अन्वेषण तथा लुम्बिनी परियोजनालाई समयमा सम्पन्न गर्न नसकिएको सन्दर्भमा यो सम्मेलन उपयोगी हुने विश्वास गरिएको छ ।
एक वर्षदेखि तयारी गरिएको यो सम्मेलनमा विदेशीले छ र नेपालीले १८ वटा कार्यपत्रसमेत प्रस्तुत गरेर बुद्धसम्बन्धी सत्यतथ्य प्रकाश पारिनेछ । बुद्धसम्बन्धी वास्तविकतालाई लुकाउने कार्य बुद्धकालदेखि नै भएकोले बुद्धसम्बन्धी भ्रम उत्पन्न भएको देखिएको छ । यस्तै बुद्ध भारतमा जन्मेको भनी भारतले लगातार प्रचार गर्नु, विश्वमा समेत बुद्धसम्बन्धी रहेका अवास्तविक कुरालाई प्रस्ट गर्न नसक्नु, खाली बुद्धको नाममा धार्मिक भ्रमण गर्ने र भ्रम हटाउनुभन्दा पनि भ्रम कायम गरेर बुद्धको नाममा लाभ लिन पल्केका तŒवले गर्दा नै भ्रम बढ्न गएको हो । गत वर्ष नेपाल आउँदा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्ध नेपालमा जन्मेको भनी सम्बोधन गरे पनि मोदीलाई लुम्बिनी भ्रमण गराइ लाभ लिन नसक्नुले पनि यो भ्रम बाँकी रहेको छ । भारतले पिप्रहवामा कृत्रिम लुम्बिनी खडा गरेर बुद्ध जन्मेको स्थान भनी पर्यटकीय प्रचार सामग्री तयार गरी पिप्रहवाको मात्रै भ्रमण गरेर फिर्ता गराउने हुँदा पनि भ्रम कायम छन् । भारतीय पाठ्य पुस्तकमा बुद्ध भारतमा जन्मेको भनी लेखेर युवा पुस्तामा भ्रम पार्ने दुःखद कार्य भएको छ । यो अन्तर्राष्ट्रिय सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भाग लिएको भए यो भ्रम चिर्न निकै सहज हुने थियो तर उहाँ आउनुभएन ।
लुम्बिनीमा पाइएका प्राचीन वस्तु चोरेर पिप्रहवामा स्थापना गरिएकोले पनि बुद्धसम्बन्धी भ्रम पार्न सजिलो भएको छ । यस्ता पुरातात्विक कुरा बचाउन नसक्ने नेपालको कमजोरीबाट भारतले लाभ लिएको छ ।
नेपालले राष्ट्रसङ्घका पूर्व महासचिव उत्थानको प्रयासमा लुम्बिनी विकासका लागि तयार पारिएको गुरुयोजनालाई ५० वर्ष बितिसक्दा पनि पूर्ण कार्यान्वयन गर्नसकेको छैन । लुम्बिनी विकास कार्ययोजनामा भएको आलटालले गर्दा बुद्धको जन्मसम्बन्धमा अनेक भ्रम कायम रहेका हुन् । बुद्ध जन्मेको स्थान लुम्बिनीमा अशोकद्वारा गाडिएको स्तम्भ सन् १८९६ मा पत्ता लागेको करिब १२० वर्ष पुगिसकेको छ । यहाँको उत्खनन् सुरु भएको सन् १९६५–६६ बाट पचास वर्ष बितिसक्दा पनि लुम्बिनीसम्बन्धी पूर्ण अन्वषेण हुन नसक्नुले भ्रम उत्पन्न गर्नलाई सहयोग पु¥याएको छ ।
सन् २०१६ मा तिलौराकोट दरबार उत्खनन् गर्दा बुद्ध जन्मनुभन्दा पनि अगाडिको (२८ सय वर्ष पहिला बनेको) दरबार पत्ता लागेको छ भने लुम्बिनी एसियाकै सबैभन्दा पुरानो गाउँ भनी पत्ता लागेको छ । यसप्रति गम्भीरतापूर्वक लागेको भए यस्तो सम्मेलन आयोजना गरेर भ्रम निवारण गर्नुपर्ने आवश्यकता नै पर्ने थिएन । तसर्थ सम्मेलनबाट निश्चय नै बुद्धको जन्म नेपालमा भएको सन्देश प्रवाहित गर्न सकिने छ तर पनि लुम्बिनी विकास परियोजनालाई सम्पन्न गर्ने र बुद्धसम्बन्धी स्थान, स्मारक आदिको खोजतलास गरेमा व्यवहारतः नै भ्रम स्वतः हट्ने छन् ।
लुम्बिनी गुरुयोजनालाई समयमै कार्यान्वयन गर्नसकेको भए २५६०औँ जन्मजयन्तीमा बुद्ध नेपालमै जन्मेको भनी अन्तर्राष्ट्रिय समुदायमा प्रमाण दिनुपर्ने थिएन तर ढिलै भए पनि सरकारले लुम्बिनीमा समारोह आयोजना गरी विशिष्ट पाहुनालाई भ्रमण गराउने कार्य सकारात्मक र प्रशंसनीय छ । यसअघि एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एनेकमा बृहत लुम्बिनीसम्बन्धी परियोजना प्रस्ताव प्रस्तुत गरेर लुम्बिनीलाई शान्तिको नगर (पिस सिटी) मा विकास गरेर अन्तर्राष्ट्रिय शान्ति सम्मेलन यसै नगरमा गर्ने तथा विश्व शान्तिको अभियान लुम्बिनीबाटै चलाउने र बुद्धमार्गीका लागि मक्का र मदिना बनाउने घोषणा गर्नुभएको थियो । राजनीतिक स्तरबाट यसले कतिपय भ्रम चिर्न खोजेको थियो तर यो घोषणाले निरन्तरता नपाउनु तथा प्रचण्ड भिक्षु हुन थाले भनी हाँसोमा उडाउने, राजनीतिक पार्टीले यो कार्यमा सहयोग गर्नुभन्दा पनि व्यवधान खडा गर्नु, बुद्धमार्गीले यो विषय धार्मिक भएकाले कम्युनिस्टबाट हस्तक्षेप भयो भनी विरोध गर्नुले यो अभियान अगाडि बढेन । अहिले केपी ओली नेतृत्वको बामपन्थी सरकारले पुनः बुद्ध र लुम्बिनीको बारेमा वास्तविकता सञ्चार गर्ने जुन अभियान सुरु गरेको छ, यसबाट बुद्धसम्बन्धी भ्रम हटेर बुद्ध नेपालमा जन्मेका हुन् भन्ने अन्तर्राष्ट्रिय जगत्मा स्थापित हुनसक्छ ।
लुम्बिनीको प्राचिनता र बुद्ध लुम्बिनीमै जन्मेको कुरा भारतका मगध सम्राट अशोकले इपू २४५ मा खडा गरेको स्तम्भ– अशोकस्तम्भमा “हिद बुधे जाते सक्य–मुनी–ति ” र “हिद भगवं जाते ति लुंमिनीगोमे” भन्ने अभिलेखबाट सत्य प्रमणित भइसकेको छ । यो प्रमाणित सत्यलाई स्थापित गर्नु मात्र अहिलेका पुस्ताको कार्यभार हो ।
लुम्बिनी क्षेत्रमा मौर्यकालिन संरचना तथा अन्य प्राचीन ग्रामवस्तीका कलावस्तु पाइएका छन् । शुङ्गवंशी राजा पुष्यमित्रका समयमा निर्माण गरिएका सोह्र वटा स्तुपा रहेका छन् । लुम्बिनीमा नै कुषाणकालीन माटाका सिद्धार्थ गौतम र यशोधराको निजी जीवन अङ्कित मूर्तिसमेत पाइनुले बुद्धको जन्मसम्बन्धी थप प्रमाण भएको छ । सुङ्ग वंशपछि लुम्बिनीको सभ्यता निष्क्रिय भएको हो । खासगरी कौशलका राजा विद्रोहकले आफ्ना पिता प्रजित सेनलाई झुक्याएर शाक्य राजकुमारी भनी दासीपुत्रीसँग विवाह गराइदिएकोले प्रतिशोध लिन शाक्य वंशलाई नस्ट गरिदिएकोले यो क्षेत्रको सभ्यता नस्ट भएको हो । यसै समयमा लुम्बिनी क्षेत्र पुगेका फाइएन र हुएनसेन जस्ता चिनियाँ यात्रीले लुम्बिनीमा बौद्ध संरचना नस्ट भइसकेको जानकारी गराएको यात्रा बयानमा देखिन्छ । यसपछि गौतम बुद्ध भाषावंशावलीले वैशाख शुक्ल पूर्णिमामा नभई माघ शुक्ल चतुर्थीमा उनको जन्म भएको उल्लेख छ । बुद्ध इसापूर्व ५६३ मा लुम्बिनीमा जन्मेका र इसापूर्व ४८३ मा कुशिनारामा दिवङ्गत भएका थिए । यसैले अहिलेको २५६० बुद्ध जन्मेको नभई उनको देहावसान भएको पुण्य तिथी भएको स्पष्ट हुनुपर्छ ।
उनी वैरागी थिएनन्, उनी सानैदेखि राज्यको कार्यमा सक्रिय थिए तर अनावश्यक युद्धको उनी विरोधी थिए । उनले लुम्बिनी र रामग्रामको कोलीय राज्यबीच सधैँ हुने पानीयुद्ध रोक्न रोहिनी (तिनाउ) नदीको पानीको बटवाराको प्रस्ताव राखेका थिए । यसमा कपिलवस्तुलाई ६० प्रतिशत र रामग्रामलाई ४० प्रतिशत पानी खेतीको समयमा बाँडफाँट गर्ने प्रस्ताव गरेकोले उनले आफ्नो मावली र ससुराली राज्यको पक्ष लिएको भनी देशद्रोहीको आरोप लगाइएको थियो ।
उनी देश निकाला भएपछि कपिलको आश्रममा गए र त्यहाँ १८ महिनासम्म कपिलको साङ्ख्यदर्शनको अध्ययन गरे । कपिलआश्रममा नै उनले ज्ञान प्राप्त गरेका थिए । उनको दर्शन ‘अज्ञानता नै दुःखको कारण हो, यसलाई निवारण गर्न सकिन्छ’ भन्ने नै हो । कपिलको नवसाङ्ख्य दर्शन पनि अज्ञानता नै सबै किसिमको दुःखको कारण हो भन्ने हुँदा कपिलको गीता र बुद्ध दर्शनमा समानता देखिन्छ । यो ज्ञान प्राप्तपछि सिद्धार्थ गौतम भृगु आश्रममा गएर ज्योतिष दर्शन सिके । उद्यक रामपुत्रकहाँ सन्यास सिके, बोधगयामा तपस्याको अभ्यास गरे । यसरी प्रतिबन्धित गरिएको छ वर्षसम्म विभिन्न दर्शनको अभ्यास गरेपछि बोधगयामा वैशाख शुक्ल पूर्णिमाका दिन अछूत जातिका महिलाबाट खीर खाएर उनी सार्वजनिक भएका हुन् । यसैले बुद्धले ज्ञानप्राप्ति बोधगया भारतमा नभएर नेपालको कपिलवस्तुको कपिलआश्रममा प्राप्त गरेका हुन् । उनको मृत्यु मात्र भारतको कुशिनगरमा भएको हो ।गोरखापत्र


प्रा. डा. गोपाल शिवाकोटी

 Leave a Reply

(required)

(required)


*