Apr 052015
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

(कविता)Dipendra KC

जव तिमी !

यो राज्यले तोकेको

सवैभन्दा सुरक्षित शहरको

अति सुरक्षित गल्लीमा निस्कन्छ्यौ

तिमीलाई चियाउँछन आँखाहरु

र्याम्पकी अर्धनग्न मोडल

क्याटवाककी नवयौवना

वा कुनै छाडा चलचित्रकी उत्ताउली नायिकाको विम्वमा ।

मध्य सडकको जँड्याहा भेट्छयौ

उ पनि मादक नजर तेर्साउँछ

सडकको माग्ने हेर्छौ

उ पनि वासनाको आश गर्छ

थोत्रो माइक्रो वा टेम्पोको ड्राइभर

कोचाकोच भीडमा छेउमै राखेर

अनाबश्यक ब्रेक अठ्याउदै अन गर्छ मोहमद रफी

“रुप तेरा मस्ताना र मेरे मनपसन्द गुलाफ तेरे सारीमे” ।

मन्त्री सँक्रमणकालको

तोकभन्दा पहिले हेर्छन तिम्रो जवानी

स्कुले बालक आँखा सन्काउँछ

तिम्रो हाकिमको के कुरा ?

तिमी भर्याङ उक्लदा

नजर ओराल्छ छातीमा

फेन्सी पसले

सस्तो मूल्य तोक्छ भित्री बश्त्रको

रातभरी भट्टी रुङनेहरुको के वयान

उ पसेकै छ कालो विचारले ।

उत्तेजना कैद छ यहाँ

जवर्जस्त रिहाई खोज्दै ।

लोकतन्त्रको सुन्दर समावेशी सँसदमा—

बर्षौ भयो बहस जारी छ

नारी सुरक्षा र अधिकारका

भर्खरै पूजा साहको मलामी फर्किएकी बशोधरा

त्रसित छे

चेकपोष्टको जुँगे हवल्दारको जिव्रो पड्काईले ।

कोर्षबाट झिकिएजस्तो लाग्छ

राजेन्द्रलक्ष्मी, झाँसीकी रानी र फुलनदेवीहरु

पुरुषत्वहीन नैतिक शिक्षा कति अपाङ्ग लाग्छ,

युद्धका हजारौं सिपाहीहरुसँग

एक्लै भीड्ने साहस पालेर पनि

यो शहरका यति भद्र भलाद्मी

मन्दिर, मस्जिद, चर्च, र गुम्वाछेउ पुग्दा

किन सिरिङ्ग आङ फुलेर आउँछ ? तिम्रो ।

होइन ? पुरषको क्यानभासमा

नारीको नाँगो चित्र बाहेक अरु केही नउत्रने भएपछि

फेमिनिष्टका उजुरी पत्रहरु च्यातेर

प्रश्न गर्दैछन् पूजा बोहोराहरु—

भगवान ! अव म आफनै छानोभित्र असुरक्षित भएपछि

यो वदनाम शहरमा

सवैभन्दा सुरक्षित स्थान कहाँ खोजँु ?

सायद अलमलमा छन्

भगवान पनि ।।

-दीपेन्द्र के.सी.

 Leave a Reply

(required)

(required)


*