प्रवासी नेपालीका संघ-संस्थामा किन हुन्छ विवाद?

– डा. विनय श्रेष्ठ

binaya shresthaपछिल्लो एक दशकमा युरोपमा नेपाली संघ-संस्थाहरुको स्थापना र गतिविधिहरू ह्वात्तै बढेको छ। समाज सेवाको भावले ओतप्रोत भएर खोलिएका यस्ता थुप्रै संस्थाहरू प्रकृयागत रूपमा चुस्त र आशातीत रूपमा परिणाममुखि हुन सकेका छैनन्। घरदेशबाटै आएको सरूवा रोगले प्रवासी नेपालीहरूको संस्थामा बारम्बार किचलो र विवाद हुने गरेका पाइन्छन्। संस्थामा लागेकाहरूमा सेवाको भाव त हुन्छ, समय र पैसा पनि खर्च गरिरहेका हुन्छन्, तर संस्थागत रूपमा कम प्रभावशील बन्न पुग्छन्।

म स्वयं गैरआवासीय नेपाली संघ र नेपाली संघ-संस्थाहरुमा आवद्ध भएको नाताले यी समस्या र उलझनहरूबारे भुक्तभोगी हुँ। सन २००४ को जनवरीमा स्विटजरल्याण्डमा पाईला टेकेपछि म सम्पर्कमा आएको पहिलो संस्था स्वीस नेपाली समाज हो। स्वीस नेपाली समाज नेपालका विकासे परियोजनाहरुमा आफ्नो विज्ञता खर्चेर फेरि स्विटजरल्याण्ड फर्केका स्वीस मित्रहरुले स्थापना र संचालन गरेको संस्था हो। नेपालसँग सरोकार राखेर स्विटजरल्याण्डमा खोलिएको सायद यो नै पहिलो संस्था हो। त्यसपछि सन २००७ मा नेपाली जनसम्पर्क समितिको गठन र सन २००८ मा गैरआवासीय नेपाली संघ स्विटजरल्याण्डको स्थापनासँगै संघ-संस्था खोल्ने क्रम तिब्र भयो। त्यसैगरि नेपाल स्वीस डट कम, स्वीस नेपाल डट कम लगायतका संचार-माध्यमहरू स्विटजरल्याण्डमा सक्रिय रहे। यसबीच अन्य विभिन्न संस्थाहरूका अतिरिक्त गैरआवासीय नेपाली संघ स्विटजरल्याण्डको अध्यक्ष र अन्तर्राष्ट्रिय समन्वय परिषदको सदस्यको रुपमा काम गर्ने अवसर मिल्दा स्विटजरल्याण्ड र युरोपेली सेरोफेरोका संघसंस्थाहरूको अनुभव संगाल्ने अवसर मिल्दै आएको छ। मेरो अनुभवमा हामीहरूमा सेवाको भावना र काम गर्ने इच्छाशक्ति हुँदाहुँदै पनि सामाजिक संस्थाका मुलभूत तत्त्वहरूलाई ग्रहण गर्न नसक्दा प्रभावकारी र सकरात्मक प्रतिफल प्राप्त हुन सकेको छैन।

सामाजिक क्षेत्रका समस्या र चुनौतिहरूबारे क्नाईट डनलपले ‘सामाजिक मनोविज्ञान (Social Psychology)ʼ नामक पुस्तकमा गहन व्याख्या गरेका छन्। जब एकभन्दा बढि व्यक्तिहरु एक वा एकभन्दा बढि साझा उद्देश्यका साथ सहकार्य गर्न एक समूह बनाउँछन, तब संस्थाको जन्म हुन्छ। संस्थाका सदस्यहरुले सामुहिक र अलग अलग रुपमा गर्ने कामको परिमाण र प्रभावमा समानता हुनसक्छ। तर अलग अलग काम गर्दाभन्दा सामुहिक रुपमा संस्थागत कार्य गर्दा बढि परिणामको अपेक्षा गरिएको हुन्छ। उदाहरणका लागि दश जना मिलेर हलो जोत्नु र दश जनाले अलग अलग हलो जोत्दा बराबर क्षेत्रफल नै जोतिएला, तर त्यत्तिले संस्था स्थापना र संचालन गर्नुको उद्देश्य पुरा भएको मान्न सकिन्न। कुनै पनि संस्थाको चरित्र र प्रभावकारीता त्यस संस्थामा संलग्न सदस्यहरुको सोच र भावनाहरुले निर्धारित गर्दछन्। सामाजिक चेतना र भावनाविहिन संस्थाको कल्पना पनि गर्न सकिन्न। त्यस्तै संचार र संवाद, अन्तर-सदस्यीय निकटता, भाषा र संस्कृति, संगठनभित्र नैतिकताका सवालहरु र संस्थाको विधान सामाजिक संस्थाका चरित्र र प्रभावकारीता निर्धारीत गर्ने मुलभूत तत्त्वहरु हुन।

सामाजिक चेतना र भावना

संस्था बहुसदस्यीय हुन्छ। जब कुनै व्यक्ति कुनै संस्थामा सदस्यका रुपमा संलग्न छु भनेर सचेत रहन्छ, त्यसलाई सामाजिक वा सामुहिक सचेतना भनिन्छ। सामाजिक सचेतनाबिना सामाजिक समूहको परिकल्पना गर्न सकिन्न। एक उदाहरण उद्धृत गर्नु पर्दा धान पाथीले जुटको बोरामा भर्दा ति हजारौं धानको बियाँहरुबिच भौतिक क्रिया-अन्तरक्रिया त हुन्छ, तर त्यहाँ कुनै सामाजिक चेतना र अन्तरक्रिया हुँदैन। प्रभावकारी एवं साझा सांगठनिक क्रियाकलापका लागि सामाजिक चेतना अत्यावश्यक हुन्छ। त्यसैगरी समूह र संस्थाप्रतिको गर्व, ईमान्दारीता, लगाव र अन्य विविध भावनाहरु सामाजिक सचेतनामा अन्तरनिहित हुन्छन्, जसले अन्तर-सदस्यीय सम्बन्ध सुढृद गर्दै संस्थाको क्रियाकलाप र प्रभावकारीतामा बृद्धि गर्छ। नकारात्मक सोच (जस्तै संस्थाका सदस्यहरु बीचको अविश्वास) ले संस्थालाई कमजोर र विघटनमुखि बनाउँछ। संस्थागत संस्कारको विकासका लागि संस्थाप्रतिको गर्व, ईमान्दारीता र लगाव महत्वपूर्ण हुन्छन्।

संवाद

संवादबिना पनि संस्था वा समूह चल्न सक्लान्, तर संवादबिना संस्थाले कुनै बृहत काम गर्न सक्दैन। उदाहरणका लागि, शिकारीहरुको समूहले जंगलमा शिकार गर्दा सांकेतिक वा भाषागत रुपमा संवाद गर्न सकेनन् भने प्रभावकारी तबरले शिकार गर्न सक्दैनन्। संकेत, भाषा, आवाज वा दृष्टिका माध्यमले समूहको एक सदस्यले अर्को सदस्यलाई प्रभाव पार्न सम्पर्क गर्दा ति दुई बीच संवाद चल्छ। संस्थाको प्रभावकारीता सदस्यहरु बीचको नियमीत संवाद र संवादको गुणस्तरले बढाउँछ। संवाद प्रमुखतः दुई प्रकारका हुने गर्दछ: बोधात्मक र भाषागत। बोधात्मक संवादमा दृष्टि र ध्वनिजनक सिमुलेसनको महत्वपूर्ण भूमिका रहन्छ। हामी बाटोमा हिड्दा कसैसँग ठोक्किंदैनौ, बोधात्मक संवादका कारण। भाषागत संवादमा बोलि वा लेखाईको माध्यमले सोच र विचारहरुको आदान-प्रदान हुन्छ। सामुहिक वा संस्थागत कार्य-सम्पादन गर्दा यी दुबै प्रकारका संवादहरुको संमिश्रण हुने गर्दछ। त्यसैले लिखित वा बोलीका संवादसँगै बोधात्मक संवादलाई पनि संस्थामा बुझ्न सकिएमा संवादको स्तर बढ्छ।

संस्कार र संस्कृति

एक व्यक्तिले अर्को व्यक्तिसंग कसरी संवाद गर्छ र कस्तो व्यवहार गर्छ भन्ने कुरो ती व्यक्तिहरुको संस्कारमा निर्भर गर्दछ। सदस्यहरुको विविधतापूर्ण संस्कारले संस्थाभित्र एक नयाँ संस्कारको विकास हुन सक्छ। कुनै सदस्यको मौखिक वा लिखित विचारमा अर्को सदस्यले कसरी प्रतिक्रिया दिन्छ भन्ने कुरा पनि संस्कारले नै निर्धारीत गर्दछ। संस्थामा खुल्ला र सम्मानजनक तबरले सबै संवेदनशील विषयहरुमा छलफल हुने संस्कार बसेन भने संस्थाको प्रभावकारीता संकुचित हुन्छ।

कुनै एक कालखण्ड र भूगोलको संस्कार अर्को कालखण्ड र भूगोलसँग फरक हुन सक्छ। उदाहरणका लागि, स्विटजरल्याण्डमा स्वीस मीत्रहरु सम्मिलीत बैठकमा हामी नेपालीहरू समय मै नपुग्दा संस्कारको कमी भएको मानिन्छ भने नेपालमा त्यसले खासै ठूलो महत्त्व नराख्ला। युरोपेलीहरू स्पष्टोक्ति र पङ्चुवालिटी सभ्य समाज र संस्थाहरुका विशेषता हुन् भनी गर्व गर्दछन्।

संस्कृति एक निरन्तर चलिरहने प्रक्रिया हो। मानव जीवनको उत्पत्तिदेखि आजसम्म मानव जगतले सिकेको कुरा नै संस्कृति हो। ढुंगे युगदेखि आधुनिक कालसम्म आईपुग्दा मानव जगतको संस्कृतिमा ब्यापक परिमार्जन भएको पाईन्छ। संस्कृतिले संस्कारलाई आकृत गर्दछ। हाम्रो संस्कार र संस्कृतिलाई कला, साहित्य, ईतिहास, चलचित्र, भौगोलिक विशिष्टता र विज्ञानको विकास आदिले प्रभाव पार्दछ। संस्कार र संस्कृतिको कमी समाज र संस्थाको विकासमा निषेधक हुन्छ। यसको अभावमा समाजको एक समूहले अर्को समूहलाई पटक्कै नबुझ्ने र समाजमा सांस्कृतिक विघटन हुने डर रहन्छ। विशेषतः यस्तो खतरा एक ठाउँबाट अर्को ठाउँमा तीब्र रुपमा बसाईं-सराईं गरिरहने समुदाय वा बहुराष्ट्रिय एवं सांस्कृतिक परिचय भएकाहरु एकै समाज/ठाउँमा बस्दा बढ्छ। यस्तो अवस्थामा ‘संवादʼ शब्दहरुमा सीमित हुन्छन्, थोरैले मात्र अर्काको विचारलाई बुझ्दछन्।

निकटता

सबैका लागि बाध्यात्मक नभए पनि सामाजिक संस्थाहरुमा सदस्यहरुका बिच भावनात्मक र स्थानिक निकटताको महत्वपूर्ण भूमिका हुन्छ। निकटता संवाद र भौतिक क्रिया-अन्तरक्रियाद्वारा अभिव्यक्त हुन्छ। स्थानिक निकटतालाई निरपेक्ष दूरीले मात्र मापन गर्न सकिंदैन। केहि संस्थाको संचालनमा स्थानिक निकटता अत्यावश्यक हुन्छ। उदाहरणका लागि, एक सांगीतिक समूह निर्माण वा फुटबल टिमको संचालनको लागि आसपासको निकटता चाहिन्छ। तर केहि संस्थाहरुमा स्थलगत निकटता नहुँदा पनि संस्थाको कार्यसम्पादन हुन सक्छ। उदाहरणका लागि, गैर-आवासीय नेपालीहरु संसारभरि छरिएर रहेका छन्। तर विविध संचारका माध्यमले तिनीहरु निरन्तर सम्पर्कमा रहेर संघका संस्थागत निर्णय र काम-कारवाहीहरू सुचारू रूपमा पुरा गर्दछन्। यस्ता संस्थाहरुमा भावनात्मक एकताले सदस्यहरुलाई एकत्र गर्दछ। त्यसैले निकटताका लागि सदैव भौतिक रुपमा नै आमने-सामने बस्नु पर्दैन। तर स्थानिक निकटता नहुँदा दृष्टि, गन्ध, प्रत्यक्ष ध्वनि र अन्य शारीरिक हाउभाउबाट हुने संवाद बन्चित हुन्छ। संवादमा सुगन्ध, हेराहेर र स्पर्शको अभावले अभिव्यक्तिको रफ्तार र घनत्वमा ठूलो अन्तर पार्दछ।

संगठनको तह र विशेषज्ञता

सामाजिक संस्थाहरुको सांगठनिक चरित्र र विशेषताका आधारमा तिनीहरुलाई निम्न, मध्यम र उच्च तहका गरी विभाजन गरिएको पाईन्छ। पूर्व-प्रबन्धबिना जम्मा भएको झुण्डलाई निम्न तहको संगठनका रुपमा वर्गिकृत गरिन्छ। निम्न तहको संगठनका सदस्यहरु खुकुलो रुपमा संगठित हुन्छन्। संगठनिक अप्रभावकारीता यसको प्रमुख विशेषता हो। जब निम्न तहको संगठनले अपेक्षाकृत रुपमा माथिल्लो स्तरको भावना र साझा उद्देश्य प्राप्त गर्दछ, तब त्यसलाई मध्यम तहको संगठन भनिन्छ। अंग्रेजीमा निम्न तहको संगठनलाई crowd (झुण्ड) र मध्यम तहको संगठनलाई mob (भीड-मण्डली) भनि परिभाषित गरिएको छ।

यस्तै स्थायित्व र कार्यगत विशेषज्ञता भएका संस्था वा संगठनलाई उच्च तहको भनि वर्गिकरण गरिएको छ। कुनै एक क्षेत्रमा विशेषज्ञता हासिल गरेको संस्थाले अत्यधिक प्रभावकारी ढंगले त्यस क्षेत्रमा कार्य गर्न सक्दछ। नेपाली परिप्रेक्ष्यको उदाहरणका रुपमा गैरआवासीय नेपाली संघको दोहोरो नागरिकताको वकालत र संविधान निर्माण क्रममा नेपाल सरकारसँग गरेको समझदारी संघको कार्यगत विशेषज्ञताको प्रतिफल मान्न सकिन्छ। कुनै संस्थाहरुले वातावरणीय समस्याहरुमा विशेषज्ञता हासिल गरेका हुन्छन् भने कुनैले परोपकारी कार्यमा। उच्च तहको संस्थाहरुको प्राथमिक विशेषज्ञता भनेको नेतृत्व विकासमा हुनु पर्दछ। नेतृत्वको उच्च विकास नभए आफ्नै विशषज्ञता रहेको क्षेत्रमा पनि प्रभावकारी ढंगले काम गर्न सकिंदैन। त्यसैगरी विशेषज्ञता भएको विषयहरुको क्षेत्रगत विकासबिना नेतृत्वको पर्याप्त विकास हुन सक्दैन। उदाहरणका लागि, ठुला वित्तिय संस्थाहरुमा संस्थाभित्र विविध क्षेत्रमा विशेषज्ञता भएका समूह, उप-समूहहरु हुन्छन्। ति समूह, उप-समूहहरुको विशेषज्ञताको विकाससँगै समुच्चमा वित्तिय संस्थाको नेतृत्व पनि विकास भईरहन्छ। यदि नेतृत्व विकास अपेक्षाकृत कमसल वा सुस्त भएमा त्यसका कमी-कमजोरीहरु हटाउन सामुहिक नेतृत्वको अवधारणा, विकेन्द्रिकरण वा जिम्मेवारीको बाँडफाँड केहि हदसम्म प्रभावकारी हुन सक्छन्। गैर-आवासीय नेपाली संघमा पनि कार्य सम्पादन र विशेषज्ञताका लागि विभिन्न समिति र उप-समितिहरु बनेका छन्। यसले विभिन्न समिति, उप-समितिका अनुभवहरु र विशेषज्ञताहरु एउटै संस्थाभित्र समेट्न सकेको देखिन्छ। त्यसैगरी ति समिति, उप-समितिहरुले संघको नेतृत्व विकासमा निरन्तर सहयोगीको भुमिका खेलेका छन्।

विधान र नियमावली

विधान र नियमावलीहरु संस्थाभित्र एक किसिमको आचरणको स्तर कायम गराई नियमसंगत तबरले संस्थाका काम-कारवाहीहरु संचालन गर्न लेखिएका दस्तावेजहरु हुन्। कुनै पनि विधान सदैव पूर्ण हुँदैन। त्यसैगरी विधानलाई सदा शत-प्रतिशत कार्यान्वयन गराउन पनि गाह्रो हुन्छ। त्यसैले विधानको बुझाईमा समस्या आएमा वा विधानको सही कार्यान्वयन नभएमा के गर्ने भनी धारा-उपधाराहरुको व्यवस्था र व्याख्या गरिएको हुन्छ। आवश्यकता हेरी विधान संशोधन पनि गरिन सक्छ। विधानको पूर्ण बेवास्ता गरी काम-कार्यवाही गरिएमा विधान निष्प्राण हुन्छ। प्रजातान्त्रिक र अर्ध-प्रजातान्त्रिक समाजमा विधान र नियम पालनाका मापदण्ड फरक फरक हुन सक्छन्। तर मुख्य कुरा के हो भने जबसम्म विधान र नियमको पालना सबैका लागि समान र न्यायपूर्ण तबरले हुँदैन, तबसम्म सबैबाट समान रुपमा विधानको सम्मान हुँदैन, जुन संस्थाको लागि दुर्भाग्यपूर्ण हुन सक्छ। अधिकांश गैर-आवासीय नेपालीहरु प्रजातान्त्रिक वा अर्ध-प्रजातान्त्रिक समाजमा बस्छन्। हाम्रा संघ-संस्थाका विधानहरुको मुख्य उद्देश्य प्रजातान्त्रिक मूल्य र मान्यतामा आधारित सक्षम, समावेशी र पारदर्शी संस्थाको निर्माण हुनु पर्नेमा सायदै दुई मत होला।

निष्कर्ष

क्रमिक रुपमा संस्थाको सामाजिक चेतना, संस्कार, संवाद, अन्तर-सदस्यीय निकटता र नेतृत्व विकास गर्दै आफ्नो कार्यक्षेत्रमा विशेषज्ञता हासिल गर्न सके नेपाली संघ-संस्थाहरुमा हजारौंले गरेको नैतिक र आर्थिक सहयोग तथा स्वयंसेवा अर्थपूर्ण हुन्छ। तबमात्र, आफ्नो बालबच्चा/परिवार र व्यवसायलाई दिनुपर्ने समय ‘चोरी गर्दै’ संघ-संस्थामा खर्चेको सार्थक हुनेछ। यदि हामीले नेतृत्व विकास गर्न, आफ्नो कार्यक्षेत्रमा विशेषज्ञता हासिल गर्न र संस्थाको विधानलाई विवादरहित बनाउन सकिएन भने संस्था नैतिक वा सांगठनिक रुपमा विघटनमुखि हुन जान्छ। सबै संस्थागत संकट र समस्याहरुको समाधान वार्ता र छलफलबाट निकाल्नुबाहेक अरु कुनै उपाय देखिँदैन। कार्यक्षेत्रको विशेषज्ञताले संस्थागत उपलब्धि अभिबृद्धि गर्दै सदस्यहरुलाई ज्यादाभन्दा ज्यादा संस्थाको हितमा लाग्न प्रेरित गर्छ। सफल नेतृत्वले नै संस्थाभित्रका विवादहरुको व्यवस्थापन गर्न र संस्थालाई प्रभावकारी बनाउन सक्छ।

हाल- स्विटजरल्याण्ड

साभार- सेतोपाटी