Jul 292017
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

नेपालबाहिर बसेका सबै नेपाली अल्पसंख्यक जाति वा भाषी हौं । मूलधारको भाषा फरक भएपछि आफ्नो भाषा कसरी जोगाउने र आफ्ना नानीहरूलाई कसरी भाषा सिकाउने भन्ने चिन्ता र चासो हुनु स्वाभाविक हो । संसारका शक्तिशाली र विकसित देशहरूमा समेत अल्पसंख्यक नेपाली समुदायले खास आकार ग्रहण गर्दै जाँदा यी देशहरूमा नेपाली पाठशालाको स्थापना भई नानीहरूलाई भाषा-संस्कृति सिकाउने उल्लेखनीय प्रयासहरू भएका छन् । तर, चुनौतिहरू पनि उत्तिकै छन् ।

नानीहरूलाई पढाउनका लागि केही निश्चित मापदण्ड र खाँचो पुरा गर्नु आवश्यक हुन्छ । त्यसमा समय, स्थान, पाठ्यसामग्री, शिक्षक-विद्यार्थी र पैसा प्रमुख हुन् ।

समय- नेपाली नानीहरूका निम्ति नेपाली पाठशाला अतिरिक्त कृयाकलाप जस्तै हो । सामान्यतया विदेशमा शनिबार र आइतबार स्कुल छुट्टी हुन्छ । जुनमा जाँच भएर जुलाई र अगस्टमा गर्मी छुट्टी हुन्छ । यही समयलाई सदुपयोग गर्दै हप्तामा एक दिन २ वा ३ घण्टा पाठशाला संचालन गरिएको पाइन्छ ।

स्थान- स्थानीय स्कुल, कलेज, चर्च वा नगरपालिकासँग सहकार्य गरी उनीहरूको भौतिक पूर्वाधार प्रयोग गरिएका छन् । त्यसबाहेक नेपाली संस्थाका कार्यालय वा ‘नेपाल हाउस’ बनेका ठाउँमा त्यही केन्द्रमा पुस्तकालयसहित कक्षा संचालन गर्ने सोच पाइन्छ ।

पाठ्यसामाग्री- परदेशका नानीहरूले नेपाली भाषा सिक्नु भनेको दोस्रो भाषा सिक्नु जस्तो हो । यस सन्दर्भमा विशेषतः पाठ्यक्रमको अभाव खट्केको छ । नेपालमा शिक्षा मन्त्रालयबाट तयार गरिएका किताब आकर्षक छैनन् । प्रवासको वातावरण फरक हुने हुँदा कतिपय सन्दर्भमा नेपालका पुस्तकमा देखाइएका उदाहरण, फोटो र ठेट शब्दहरूसँग नानीहरू पटक्कै परिचित नहुँदा गारो परेको अनुभव सुनाउँछन् अमेरिकाको ‘नेपाली पाठशाला अफ भर्जिनिया’ का संयोजक विष्णु खरेल । यही समस्याले गर्दा शिक्षा मन्त्रालयको १, २ र ३ कक्षाको पाठ्यपुस्तक पढाइने गरेकोमा हाल स्थानिय स्तरमै पठनसामग्रीको विकास गरिएको उनले बताए । डायस्पोराका नानीहरूलाई लक्षित गरी सरस, सरल र सलल लाग्ने पाठ्यपुस्तकको निर्माण गर्नु जरूरी भएको छ ।

शिक्षक-विद्यार्थी- थुप्रै अभिभावकहरूमा आफ्ना नानीलाई भाषा सिकाउने रहर छ । तर, कतिपय अभिभावकहरू विश्वस्त देखिँदैनन् र गंभीर हुन सकेका छैनन् । मिठो छ र सरस्वतिको प्रसाद हो भन्यो भने कसले खाँदैन र ! सचेतनाको खाँचो छ ।

एकाध ठाउँमाबाहेक सामान्यतः शिक्षकहरूले स्वयंसेवीको रूपमा काम गरेका छन् । नेपालमा शिक्षित दीक्षित उनीहरूले फुर्सदको समयको सदुपयोगको रूपमा लिएका छन् ।

पैसा- पाठशाला संचालन र स्तरियता उकास्न पैसा मेरूदण्ड हो । डेनमार्कको कोपनहेगनमा संचालित नेपाली पाठशालालाई स्थानीय नगरपालिकाले भौतिक र आर्थिक रूपमा सहयोग गरिरहेको छ । शिक्षकलाई नियमित पारिश्रमिक र मसलन्द खर्च उपलब्ध छ । त्यसैले निर्विघ्न कक्षाहरू चलेका छन् । अरू ठाउँहरूमा भाषासंस्कृति संरक्षणमा लागीपरेका नेपाली संस्थाको व्यवस्थापन वा मनस्वी स्वयंसेवी महिलाहरूको पहलमा पाठशालाहरू संचालित छन् । विकसित देशहरूमा दान दिँदा त्यसमा करछुट हुने हुँदा र स्वयंसेवी शिक्षकहरूबाट कक्षा संचालन गर्दा आर्थिक भारको ठुलो पिरलो छैन, कतिपय पाठशालाहरूमा ।

यीनै चुनौतिहरूबिच कतिपय नेपाली स्कुलहरू बन्द भएका छन् भने कतिपय स्कुलहरू लोकप्रीयताको खुट्किलो चढ्दैछन् । बेल्जियमको एन्टवर्पमा सोफिया महर्जन कार्कीले चलाएको नेपाली स्कुल सातौं वर्षमा चल्दा ७० विद्यार्थीहरू नियमित छन् भने स्पेनको बार्सिलोनामा ३ वर्ष पहिले ५ जना विद्यार्थीबाट शुरू गरिएको पाठशालामा हाल ३५ विद्यार्थी लाभान्वित छन् ।

बहुभाषी हुनुका अनेकन् फाइदा छन् । त्यसमा पनि आफ्नो भाषा (अर्थात् कुल र मूलको भाषा) संरक्षण गर्नु त अपनत्व र पहिचानसँग जोडिएको कुरा हो । बेलायत, बेल्जियम, स्पेन, डेनमार्क, जर्मनी, अमेरिका, अस्ट्रेलिया, क्यानडा आदि देशहरूमा नानीहरूका लागि नेपाली पाठशाला संचालित छन् । यसलाई गैरआवासीय नेपाली सँघलगायत प्रवासका नेपाली संघसंस्थाहरूले एक प्रमुख ध्येयका रूपमा लिई संचालन र प्रोत्साहन गर्नु आवश्यक छ ।

– पंचम अधिकारी

 

 Leave a Reply

(required)

(required)


*